Foto of Xi Jinping, President of China
 

काठमाडाैँ । अध्यक्ष क. माओत्सेतुङको नेतृत्वमा जापानी अतिक्रमणको विरुद्ध चिनियाँ जनताले ऐतिहासिक विजय प्राप्त गरेको ७० वर्ष पुगेको उपलक्ष्यमा सन् २०१५ सेप्टेम्बर ३ तारिख तदनुसार २०७२ भदौ १८ गते जनवादी गणतन्त्र चीनको सरकारले ऐतिहासिक ७० औँ विजयोत्सव एवम् सैन्य परेड सम्पन्न भयाे ।

विभिन्न शक्तिशाली राष्ट्रहरूसहित संसारभरबाट उच्चस्तरीय प्रतिनिधिहरूको महत्त्वपूर्ण उपस्थिति रहेको सो बहुचर्चित विजयोत्सव समारोह तथा सैन्य परेडका माध्यमले जनवादी गणतन्त्र चीन, त्यसका राष्ट्रपति सी जिन्पिङ र चिनियाँ कम्युनिस्ट पार्टीका विरुद्धमा साम्राज्यवादीहरू र तिनको अघिपछि कुद्ने कर्पोरेट मिडियाहरूले फैलाएका कयौँ भ्रमहरूलाई व्यावहारिक रूपले खण्डन गर्दै चिनियाँ संस्थापनले संसारसामु केही महत्त्वपूर्ण सन्देशहरू दिन सफल भएको छ ।

चीनको छिमेकमा रहेका उत्तर कोरिया र दक्षिण कोरियाका बिचमा तनाब बढाउने, दक्षिणी चिनियाँ सागरमा विभिन्न विवादहरू पैदा गरी चीनलाई उसकै मित्रराष्ट्रहरू तथा छिमेकीहरूसँग युद्धमा अल्झाउने र आवश्यक परे सैन्य हस्तक्षेप निम्त्याउँदै संसारलाई तेस्रो विश्वयुद्धतर्फ धकेल्ने साम्राज्यवादी षड्यन्त्रहरू सतहमा आइरहेको समयमा आयोजित सो भव्य कार्यक्रमले केही ऐतिहासिक सन्देशहरू प्रक्षेपण गरेको छ । तिनलाई यहाँ सङ्क्षिप्तमा चर्चा गरिएको छ ।

पहिलो, यो ऐतिहासिक महत्त्वको विजयोत्सव समारोह तथा सैन्य परेडले चिनियाँ सरकार, चिनियाँ जनमुक्ति सेना र चिनियाँ शासन व्यवस्था चिनियाँ कम्युनिस्ट पार्टीको नियन्त्रणमा रहेको कुराको पुष्टि गरेको छ । सैन्य परेडको पूर्वसन्ध्यामा चिनियाँ सेयर बजारलाई तहस नहस पारेर चीनलाई बद्नाम गर्न खोज्ने साम्राज्यवादी तथा दलाल पुँजीपतिहरूको प्रयास असफल हुनुले चिनियाँ अर्थतन्त्रमा पनि चिनियाँ सरकारको नियन्त्रण कायम रहेको कुरालाई पुष्टि गर्यो । त्यसैले चिनियाँ कम्युनिस्ट पार्टीले चाहेको अवस्थामा खुला बजार अर्थतन्त्रको अभ्यास गरिरहेको जनवादी गणतन्त्र चीनलाई समाजवादको राजनीतिक–आर्थिक–समाजिक बाटोमा हिँडाउन सक्ने सम्भावनालाई प्रस्ट दर्साएको छ । अपितु चीनलाई कुन बाटो हिँडाउने भन्ने कुरा चिनियाँ जनता, चिनियाँ कम्युनिस्ट पार्टी र त्यहाँको नेतृत्वको हातमा रहेको कुरा स्मरणीय छ ।

चिनियाँ जनमुक्ति सेनाको साथमा राष्ट्रपति सि जिनपिङकाे फाेटाे
राष्ट्रपति सि जिनपिङ, चिनियाँ जनमुक्ति सेनाको साथमा

दोस्रो, सो समारोहले जनवादी गणतन्त्र चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी जिन्पिङ मुलुकका शक्तिशाली नेता भएको कुरालाई पुस्टि गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीभित्र अति तिखो दुई लाइन सङ्घर्ष चलिरहेको भए तापनि ‘वर्तमान चीन निर्माणको आधार माओकालीन चीन भएको’ भन्ने प्रस्ट विचार राख्ने राष्ट्रपति सी जिन्पिङ पार्टी र सरकारमा शक्तिशाली छन् । उनले सत्तारूढ भएपछि ‘चिनियाँ सपना’ को नारा अघि सारको छन् भने ‘भ्रष्टाचार रोक्न नसके चिनियाँ कम्युनिस्ट व्यवस्थालाई कसैले बचाउन नसक्ने’ कुरा अभिव्यक्त गर्दै भ्रष्टाचारको विरुद्ध कठोर कदमहरू चालेका छन् । त्यस क्रममा चिनियाँ जनमुक्ति सेना तथा कम्युनिस्ट पार्टीका कयौँ ठुला हस्तीहरू समेत मुछिएको अवस्थामा राष्ट्रपति सी जिन्पिङ र उनको सत्ता खतरामा परेको भन्दै साम्राज्यवादीहरूले फैलाएको भ्रम व्यावहारिक रूपमा खण्डित भएको छ । कार्यक्रममा पूर्व राष्ट्रपतिहरू जियाङ जमिन र हु जिन्ताओको उपस्थितिले सो कुरा थप स्पष्ट भएको छ ।

तेस्रो, त्यो अभूतपूर्व सैनिक परेड मार्फत चीनले आफ्नो सामरिक शक्ति र प्रतिरक्षा क्षमतालाई प्रदर्शन गर्दै साम्राज्यवादका ‘पुराना’ तथा ‘नयाँ’ नाइकेहरूलाई चुनौती दिएको छ । चीनलाई ‘घेर्ने र ध्वस्त गर्ने’ रणनीति अन्तर्गत चीनका छिमेकी देशहरूमा ठुलो सङ्ख्यामा सैनिकहरू र हातहतियार तैनाथ गरेको अमेरिकी साम्राज्यवादलाई त्यसरी विदेशी भूमिमा सैन्य अखडा, हातहतियार र भाडाका सिपाहीहरू राख्नुको कुनै औचित्य नभएको सन्देश दिएको छ । आफ्नो सैन्य तथा सामरिक शक्तिको साङ्केतिक प्रदर्शन गर्दै मौन भाषामा अमेरिकी साम्राज्यवादको गृहभूमिमा आफूले चाहेको ठाउँ, अवस्था र समयमा शक्तिशाली पारमाणविक हमला गर्न सक्ने र अमेरिकी हमलालाई ध्वस्त गर्दै चीनको सार्वभौमसत्ताको प्रतिरक्षा गर्न सक्ने क्षमता प्रदर्शन गरेको छ । त्यसरी नै विदेशमा समेत सैन्य हस्तक्षेप गर्ने आकाङ्क्षा अनुरूप आफ्नो सैन्य नीतिलाई परिवर्तन गर्दै पुनः साम्राज्यवादी बाटोमा हिँड्न अग्रसर जापानलाई आफूले चाहेको बेला भष्म बनाउन सक्ने सैन्य तथा सामरिक शक्ति प्रस्तुत गरेको छ ।

चिनियाँ सैन्य परेडकाे एक झलक
चिनियाँ सैन्य परेडकाे एक झलक

चौथो, चिनियाँ जनमुक्ति सेनामा ३ लाखको कटौती गर्ने मन्तव्य व्यक्त गर्दै चिनियाँ राष्ट्रपतिले चिनियाँ सैन्य क्षेत्रको आधुनिकीकरणमा अभूतपूर्व उपलब्धिहरू हासिल भइसकेकाले विगतमा जस्तो सेनाका जवानहरूको सङ्ख्याका आधारमा नभएर जनमुक्ति सेनाको रणकौशल, प्रविधि तथा नाभिकीय क्षमता र चिनियाँ जनताको अदम्य साहसका आधारमा युद्ध जित्ने गरी चीनले तयारी गरेको सन्देश दिएका छन् । आजको चीन १०० वर्ष अगाडिको चीन जस्तो नभएको हुनाले आफूलाई कम नआँक्न पनि उसले अघोषित तर खुला चुनौती दिएको छ । ‘चीनसँग भन्दा अमेरिकासँग धेरै गुणा बढी हातहतियार रहेको’ बहस गर्ने साम्राज्यवादका भरौटे कर्पोरेट मिडियाहरूलाई सामुन्ने उभ्याएर उसले आजको युगमा सैन्य शक्तिको आकलन भण्डारण गरिएका नाभिकीय शस्त्रास्त्रहरूको सङ्ख्याका आधारमा नभई अद्यावधिक प्रविधि तथा जनताको एकताका आधारमा मात्रै गर्न सकिने र साम्राज्यवादका किल्लाहरू ढलाउन २–४ वटा मात्रै त्यस्ता हतियारहरू पर्याप्त हुने भए तापनि चीनसँग त्यस्ता प्रशस्तै हातहतियारहरू र बलियो सामरिक शक्ति रहेको सन्देश दिएको छ । सो सैन्य परेड र यसको पूर्वसन्ध्यामा राष्ट्रपति सी जिन्पिङले अभिव्यक्त गरेका ‘चीनको जनसेनाको आधुनिकीकरण गर्नुपर्ने, अध्यक्ष माओको लालसेनाको स्पिरिटले लैस हुनुपर्ने र तेस्रो विश्वयुद्धका लागि तम्तयार रहनु पर्ने’ लगायतका विचारहरूले चीन आत्मसमर्पणको नभएर राष्ट्रिय स्वाधीनता, आत्मरक्षा, अनाक्रमण र प्रत्याक्रमणको बाटोमा अडिग रहने स्पष्ट गरेको छ ।

पाँचौँ, चीनले आफ्नो सैन्य तथा सामरिक क्षमताका बाबजुद पनि साम्राज्यवादी हस्तक्षेपको पक्षमा नरहेको प्रस्ट पारेको छ । आफ्नो सम्बोधनका क्रममा राष्ट्र«पति सी जिन्पिङले भने– “चीन सधैँ शान्तिपूर्ण विकासमा प्रतिबद्ध रहने छ । हामी चिनियाँहरू शान्ति चाहन्छौँ । जतिसुकै शक्तिशाली भए तापनि चीनले कहिल्यै पनि प्रभुत्त्व र विस्तार (अतिक्रमण) चाहने छैन । उसले आफ्नो विगतको पीडालाई अर्को कुनै देशमाथि थोपर्ने छैन ।” यसरी सैन्य परेड मार्फत कथित शक्तिशाली देशहरूलाई सैन्य चुनौती दिन सफल भएको चीनले आफ्नो अहस्तक्षेपकारी र साम्राज्यवाद विरोधी चरित्र प्रदर्शन गर्दै तेस्रो विश्वका गरिब तथा कमजोर देशहरूको विश्वास जित्न सफल भएको छ ।

छैठौँ, उक्त कार्यक्रममा गरिएको अतिथिहरूको आमन्त्रण मार्फत चीनले एउटा नयाँ तर कडा कुटनीतिक सन्देश दिन सफल भएको छ । अमेरिकी साम्राज्यवाद तथा पश्चिमा शक्तिहरूले आफ्ना राष्ट्र प्रमुखहरू तथा सरकार प्रमुखहरू नपठाएको र अरूलाई समेत नपठाउन चर्को दबाव दिएको उक्त समारोहमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, दक्षिण कोरियाका राष्ट्रपति पार्क गेयुन हाई, भियतनामका राष्ट्रपति त्रुओङ तान साङ, भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरो, दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमा, बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्कोसहित चेक गणतन्त्र, कजाकस्तान, किर्गिस्तान, बोस्निया हर्ज गोभिना, सर्विया, ताजकिस्तान, उज्बेकिस्तान, कम्बोडिया, जनगणतन्त्र कङ्गो, गणतन्त्र सुडान, अल्जेरिया, पुर्बी टिमोर, इजिप्ट, इथोपिया, मङ्गोलिया, म्यानमार र पाकिस्तानका राष्ट्र प्रमुखहरू, गणतन्त्र क्युवा र अर्जेन्टिनाका उपराष्ट्रपतिहरू, प्रजातान्त्रिक जनगणतन्त्र उत्तर कोरियाका भाइस मार्सल तथा पोलिटब्युरो सदस्य चोय र्योङ हाइ, पोल्यान्डको प्रतिनिधि सभाका अध्यक्ष, लाओस जनक्रान्तिकारी पार्टीका महासचिव, भनुआतुका प्रधानमन्त्री, थाइल्यान्डका थाइ–जुन्ताका उपाध्यक्ष, ब्राजिल र भारतका ‘विशेष दूत’हरू सहित विभिन्न देशका राष्ट्र प्रमुखहरू, सरकार प्रमुखहरू, विदेश मन्त्रीहरू, सरकारी प्रतिनिधिहरू, उच्च पदस्त अधिकारीहरू र अन्तराष्ट्रिय नेताहरूको महत्त्वपूर्ण उपस्थितिले विश्व राजनीतिमा चीनको प्रभावलाई प्रदर्शन गरेको छ । त्यसका साथै सैन्य परेडमा चिनियाँ जनमुक्ति सेना, कजाकस्तान, मङ्गोलिया र रुसका साथै मेक्सिको समेतको सैन्य सहभागिताले अमेरिकी साम्राज्यवादको नाकैमुनि बज्रमुक्का प्रहार गरेको छ ।

सातौँ, उत्तर कोरिया र दक्षिण कोरियाका बिचमा तनाव उत्कर्षमा पुगेका बेला आयोजित उक्त कार्यक्रममा दुवै देशलाई निमन्त्रणा गरेर चीनले दुवै छिमेकीप्रतिको आफ्नो मित्रता मात्रै दर्साएन, बरु साम्राज्यवादीहरूको तीव्र दबावका बाबजुद उक्त समारोहमा उपस्थित छिमेकी राष्ट्रपति पार्क गेयुन हाईलाई चीनले उच्च सम्मान गरेर दक्षिण कोरियामा क्रमिक रूपमा अमेरिकी प्रभाव घटिरहेको र चिनियाँ प्रभाव बढिरहेको कुराको खुलासा गरिदियो । यसले कोरियाली प्रायद्वीपको शान्तिको स्थापनामा चीनको हात सधैँ बलियो रहने सन्देश दियो ।

आठौँ, संयुक्त राज्य अमेरिका र उसका पिछलग्गुहरूले सुडानका राष्ट्रपति ओमार अल् बसिरलाई सो समारोहमा आमन्त्रण गरिएकामा गम्भीर आपत्ति जनाए तापनि उनलाई आमन्त्रण तथा सम्मान गरेर चीन अरूको उपदेश र धम्की स्विकार्ने देश नभएको सन्देश दिनुका साथै चीनले गरेको कडा विरोधलाई लत्त्याउँदै ‘विखण्डनकारी’ दलाई लामालाई आफ्नो देशमा बोलाएर सम्मान गर्ने अमेरिकी साम्राज्यवादको भ्रमण–कुटनीतिमाथि जवाफी हमला गरेको छ ।

नवौँ, विभिन्न माध्यमहरूबाट चीन अब राष्ट्रपति सी जिन्पिङको नेतृत्वमा पुँजीवादी प्रतिगमन तथा राष्ट्रिय विखण्डनको गोर्भाचोभपथ र संसदवादी चुनावी स्वतन्त्रताको राजनीतिक सुधारतर्फ जाने भन्दै चलाइएका निराधारपूर्ण भ्रमहरूको खण्डन भएको छ ।

त्यसरी नै चीनको सन्दर्भमा एउटा गम्भीर सवाल उठाउने गरिएको थियो– राष्ट्रपति सी जिन्पिङले आफ्ना दुई अग्रज राष्ट्रपतिमध्ये जियाङ जमिनको बढीभन्दा बढी खुलापनको बाटो अङ्गीकार गर्लान् वा हु जिन्ताओको क्रमिक रूपमा माओतिर फर्कने बाटो अबलम्बन गर्लान् ? अध्यक्ष माओले सांस्कृतिक क्रान्तिपूर्व अघि सारेका चिनियाँ समाजका १० अन्तर्विरोधहरूसँग मिल्दो गरी पूर्वराष्ट्रपति हु जिन्ताओले ‘विकासको वैज्ञानिक दृष्टिकोण’ अन्तर्गत अघि सारेका ५ समस्याहरूलाई हल गर्न लागि पर्नु, माओलाई पटक पटक आदर्शका रूपमा प्रस्तुत गर्नु, सैन्य परेडको पूर्वसन्ध्यामा चिनियाँ जनमुक्ति सेनालाई माओको लालसेना जस्तै बन्नु पर्ने निर्देशन दिनु र भ्रष्टाचारका विरुद्ध कडा कारबाही गर्दै जानुले उनी पूर्वराष्ट्रपति हुको बाटो पछ्याउँदै माओको बाटोतिर क्रमिक रूपमा फर्कन खोजेको देखिन्छ ।

निष्कर्षमा भन्नु पर्दा, संसारभरका सर्वहारा वर्गका जनताको आदर्शका रूपमा रहेका महान् नेता माओत्सेतुङको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले दीर्घकालीन जनयुद्ध तथा जापान विरोधी प्रतिरोध युद्ध मार्फत् देशभित्रका सामन्तहरू, युद्ध सरदारहरू, दलालहरू, दलाल पुँजीपतिहरू, साम्राज्यवादका भाडाका टट्टुहरूका साथै साम्राज्यवादी र फासीवादी शक्तिहरूलाई परास्त गरेर स्थापना गरेको जनवादी गणतन्त्र चीन आज विश्वको एउटा महत्त्वपूर्ण राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र सामरिक शक्तिका रूपमा स्थापित भएको छ ।

हामीलाई लाग्छ, चीनमा महान् माओले सोचे जस्तै समाजवादी व्यवस्था स्थापना गर्ने कार्यभार अझै पुरा भएको छैन । आज आर्थिक समृद्धिको दिशामा निरन्तर छलाङ मारिरहेको चीन राष्ट्रपति सी जिन्पिङको नेतृत्वमा कतातिर लाग्ने हो ? उनको नेतृत्वमा चीनको गन्तव्य कुन दिशामा हुने हो ? विगतमा चीनमा साँच्चै प्रतिक्रान्ति भएको हो वा होइन ? के वर्तमान राष्ट्रपति सी जिन्पिङको नेतृत्वमा चीनमा समाजवादी क्रान्ति सम्पन्न होला ? यी सबै कुराहरू हेर्न बाँकी छ । चीनको आगामी बाटो पहिल्याउने र त्यहाँको क्रान्तिका बारेमा उठेका प्रश्नहरूको जवाफ दिने हैसियत र अधिकार केवल चिनियाँ जनता, चिनियाँ कम्युनिस्ट पार्टी र त्यसका महासचिव सी जिन्पिङसँग छ ।