Vladimir Ilyich Lenin, भ्लादिमिर इल्यिच लेनिन
 

विश्वका महान् समाजवादी नेता भ्लादिमिर इल्यिच लेनिनको जन्म २२ अप्रिल, १८७० मा सिम्ब्रिस्क (उल्यानोभस्क) सहरमा भएको थियो । यो सहर रुसको प्रसिद्ध भोल्गा नदीको किनारमा पर्दछ । लेनिनका पिताको नाम इल्या निकोलायभिच उल्यानोभ हो भने माताको नाम मारिया अलेक्सान्द्रोभ्ना ब्लाङ्क हो ।

लेनिनका पिता इल्या निकोलायभिच उल्यानोभले कलिलै उमेरमा गरिबीको मार खप्नु परे पनि जेठो दाजुको सहायता, आफ्नै कठिन परिश्रम र असाधरण प्रतिभाको फलस्वरुप मात्र उहाँले उच्च शिक्षा हासिल गर्न सफल हुनुभयो । लेनिनको आमा एक डाक्टरकी छोरी हुनुहुन्थ्यो । उहाँले घरमै शिक्षा पाउनुभएको थियो । लेनिनका माता–पिता शिक्षित रुसी नागरिक हुनु हुन्थ्यो ।

भ्यादिमिर इल्यिच लेनिनको बाल्यावस्था एउटा ठूलो र असाधरण रुपले मिलनसार परिवारमा बितेको थियो । उहाँ केटाकेटी उमेरदेखि नै निकै साहसीे, प्रफुल्ल र ठट्यौलो मिजासको हुनु हुन्थ्यो । उहाँ पौडी खेल्न र स्केटिङ गर्न असाध्यै रुचाउनु हुन्थ्यो । उहाँ साथीहरुसँग मिलेर टाढा–टाढासम्म घुम्न जाने गर्नु हुन्थ्यो ।

Shishir Shrestha Milan Afanta
लेखक

पाँच वर्षकै उमेरमा इल्यिचले लेखपढ गर्न सिकिसक्नु भएको थियो । उहाँ एक असाधारण प्रतिभाशाली छात्र हुनुहुन्थ्यो । उहाँ आफ्नो कक्षामा सधैँ प्रथम हुनु हुन्थ्यो । स्कुले जीवनमा नै उहाँले समाजमा पाइने क्रान्तिकारी किताबतर्फ आफ्नो नजर दौडाउन पुग्नु भयो । लेनिनलाई बेलिन्सकी, गेर्चेन, चेर्निशेभस्की, दोब्रोल्युवोध र पिसारेभ जस्ता क्रान्तिकारी डेमोक्रेटहरुको किताब र उपन्यास ‘के गर्ने ?’ विशेष मन पर्दथ्यो । यसरी स्कुले जीवनमा नै लेनिनले किताबी र बाहिरी सामाजिक क्रान्तिकारी ज्ञान हासिल गरिसक्नु भएको थियो ।

युवा लेनिनको दृष्टिकोणमाथि उहाँको परिवार, वरिपरिको जीवन, प्रगतिशील रुसी साहित्यको निकै ठूलो प्रभाव पारेको थियो । त्यसताका रुसमा दु्रतगतिले पुँजीवादी व्यवस्थाको विकास हुँदै थियो । पुँजीवादी शोषणका साथसाथै सामन्ती उत्पीडन पनि कायम थियो र त्यो शोषणले सहरिया मजदुरहरु र गाँउले किसानहरुको जीवन असहनीय तुल्याएको थियो । जारशाहीको अत्याचार, जमिनदार र पुँजीपतिहरुको दमन, मजदुर र किसानहरुको पद्दलित अवस्थाले किशोर लेनिनको हृदयमा शोषकहरुप्रति घृणा र शोषितहरुप्रति सहानुभूति पैदा गरेको थियो । विश्वविद्यालय अध्ययनकै क्रममा युवा लेनिनले प्रगतिशील र क्रान्तिकारी दृष्टिकोण राख्ने विद्यार्थीहरुसँग सम्बन्ध कायम गर्नुभयो । डिसेम्बर १८८७ मा विद्यार्थीहरुको क्रान्तिकारी सभामा सक्रिय भाग लिए बापत उहाँ विश्वविद्यालयबाट निष्कासित हुनु भयो र पछि उहाँ गिरफ्तार हुनुभयो । यसरी उहाँको क्रान्तिकारी जीवन सुरु भयो ।

युवाकालमै लेनिनले मार्क्सवादको गम्भीर अध्ययन सुरु गर्नु भयो । युवा लेनिन मार्क्सवादलाई त्यो वैचारिक हतियार ठान्नुहुन्थ्यो जसद्धारा रुसी सर्वहाराले आफ्नो स्वतन्त्रता हासिल गर्न सक्दछ र रुसमा समाजवादीे व्यवस्था कायम गर्न सक्नेछ । उहाँले  माक्र्सको प्रमुख कृति ‘‘पुँजी”को गम्भीर अध्ययन गर्नुभयो । त्यसपछि लेनिन पक्का मार्क्सवादी बन्नु भयो र वैज्ञानिक समाजवादका महान् विचारधाराको जोरदार प्रचार गर्न थाल्नुभयो ।

गुबेर्नियामा साढे चार वर्षको बसाईमा लेनिनले मार्क्स र एङ्गेल्सका कृतिहरुको कठोर अध्ययन जारी राख्नु भयो, विदेशी भाषाहरु, विशेषतः जर्मन भाषाको गम्भीर अध्ययन गर्नुभयो । यसै समयमा उहाँले जर्मन भाषाबाट रुसी भाषामा मार्क्स र एङ्गेल्सको एक महत्त्वपूर्ण कृति ‘‘कम्युनिस्ट घोषणापत्र”को अनुवाद गर्नुभयो । सन् १८९२ मा लेनिनले सामरामा पहिलो माक्र्सवादी अध्ययन मण्डली खोल्नु भयो । मण्डलीका सदस्यहरु मार्क्स र एङ्गेल्सका कृतिहरु पढ्थे र सक्रिय रुपमा मार्क्सवादको प्रचार गर्थे ।

क. लेनिन, अाफ्ना सहयाेद्धा क. स्टालिनका साथमा, Vi Lenin with Joseph Stalin
क. लेनिन, अाफ्ना सहयाेद्धा क. स्टालिनका साथमा

मार्क्सवादी लेनिन १८९३ अगस्तमा पिटर्सवर्ग (त्यस ताकाको रुसको राजधानी) आउनु भएपछि आफूलाई पूर्णरुपमा रुसको क्रान्तिकारी सर्वहारा नेतामा परिणत गर्नुभयो । लेनिन ठूलो स्फूर्ति र अभिलाषासहित क्रान्तिकारी कार्यमा लाग्नु भयो । मार्क्सवादको गम्भीर अध्ययन, रुसी परिस्थितिमा माक्र्सवादी विचारधारा कसरी प्रयोग गर्नुपर्छ भन्ने ज्ञान, मजदुर संघर्षका अजेयताप्रति दृढ विश्वास र महान् संगठनात्मक प्रतिभाका कारणले गर्दा लेनिन छिट्टै पिटर्सवर्गमा मार्क्सवादीहरुको वरिष्ठ नेता बन्ने स्थिति भयो ।

मार्क्सवादी विचारधाराको बिस्तार र मजदुर पार्टीको निर्माणमा उदारवादी नारोद्निकहरु मुख्य बाधाको रुपमा देखिए । पिटर्सवर्गमा लेनिनले उदारवादी नारोद्निकहरुको विरुद्ध आफ्नो संघर्ष जारी राख्नु भयो । नारोद्निकहरुले आफूलाई ‘जनताका मित्र’ र मार्क्सवादीहरुलाई ‘जनताको सत्रु’ भनेको बेलामा लेनिनले ‘‘जनताका मित्र” को हुन् र उनीहरु कसरी सामाजिक जनवादीहरुको विरुद्ध संघर्ष गर्दैछन् ? भन्ने पुस्तक निकाल्नु भयो र मार्क्सवादीहरुको रक्षा गर्नुभयो । लेनिनको यो पुस्तक तत्कालीन रुसमा अत्यन्तै लोकप्रिय बन्न पुग्यो ।

लेनिनले एक क्रान्तिकारी मार्क्सवादी पार्टीको निर्माणमा आफ्नो सम्पूर्ण शक्ति लगाउनु भयो र रुसमा लेनिनको नेतृत्वमा मार्क्सवादी पार्टीको स्थापना भयो । लेनिनको ठूलो निपूर्णताकासाथ सर्वहारा पार्टीका लागि संगठनकर्ताहरु र क्रान्तिकारी मजदुर कार्यकर्ताहरु तयार गर्दै जानु भयो ।

मजदुरहरु लेनिनलार्इ धेरै माया गर्दथे । उनीहरु उहाँलाई आफ्नो नजिकको सहृदयी र दयालु मित्र ठान्दथे । लेनिनको भाषण र लेखहरु रुसी सर्वहारा जनतामाझ प्रिय हुँदै जान थाले । लेनिनले लेख्नु भएका पुस्तक र पर्चाहरु अशिक्षित व्यक्तिहरुका लागि समेत सुगम हुन्थे । यी पुस्तकहरुमा मजदुरहरुको पद्दलित अवस्था र पुँजीजीवीहरुद्वारा उनीहरुमाथि गरिने वर्वरतापूर्ण शोषणको चित्रण गरिएको हुन्थ्यो । मजदुर वर्गको स्वतन्त्रताका लागि संघर्षका बाटोहरु देखाएका हुन्थे ।

सन् १८९५ को वसन्तमा पिटर्सवर्गका मार्क्सवादीहरुको अनुरोधमा ‘श्रम मुक्ति’ दलसँग सम्बन्ध कायम गर्न र पश्चिम युरोपेली मजदुर आन्दोलनको अध्ययन गर्न लेनिन विदेश जानुभयो । लेनिन स्विजरल्याण्ड हुँदै पेरिस र बर्लिन जानु भयो । स्विजरल्याण्डमा लेनिन ‘श्रम मुक्ति’ संगठनका नेताहरुसँग भेट गर्नुभयो भने पेरिस र बर्लिनमा रहँदा लेनिन फ्रान्सेली र जर्मनी मजदुरहरुका सभाहरुमा सामेल हुनु भयो, उनीहरुको रहन–सहन र जीवन पद्धतिको अध्ययन गर्नु भयो । उहाँले विदेशमा रहँदा पनि मार्क्सवादी दर्शनको विकासमा आफ्नो समय लगाउनु भयो ।

सेप्टेम्बर १८९५ को सुरुमा लेनिन पिटर्सवर्ग फर्कनु भयो । उहाँ अझ धेरै उत्साहपूर्वक क्रान्तिकारी काममा लाग्नु भयो । उहाँ अक्सर आमसभाहरुको आयोजना गर्नुहुन्थ्यो र मजदुरहरुसँग कुराकानी गर्नुहुन्थ्यो । यसै समयमा लेनिनले ‘मुक्ति संघ’को स्थापना गर्नुभयो । ‘मुक्ति संघ’ रुसको क्रान्तिकारी मार्क्सवादी पार्टीको पहिलो बिउ थियो । बिस्तृत मजदुर आन्दोलन नै संघको कार्य क्षेत्र थियो र सर्वहारावर्गको संघर्षको नेतृत्व गथ्र्यो ।

‘मुक्ति संघ’ले रुसमा पहिलो पटक मजदुर आन्दोलनमा वैज्ञानिक समाजवाद प्रयोग गर्न थाल्यो । यसै कुरामा संघको महान् ऐतिहासिक भूमिका निहित थियो । ‘मुक्ति संघ’को नेतृत्वमा सन् १८९६ को गृष्ममा पिटर्सवर्गमा कपडा कारखानाहरुका मजदुरहरुको चर्चित हड्ताल भयो । ‘मुक्ति संघ’को क्रियाकलापमाथि कडा निगरानी राख्दै आएको जारशाही सरकारले छिट्टै संघमाथि कडा प्रहार गर्याे । डिसेम्बर १८९५ को सुरुमा लेनिनसहित संघका बहुसंख्यक कार्यकर्ताहरु गिरफ्तार भए । जेलमै लेनिनले प्रख्यात कृति ‘रुसमा पुँजीवादको विकास’ लेख्न सुरु गर्नु भयो ।

लेनिनको जीवन–साथीको नाम नादेज्दा (नाद्या) क्रुप्सकाया हो । क्रुप्सकाया लेनिनकी श्रीमती मात्र नभएर एक असल राजनीतिक साथी पनि हुनुहुन्थ्यो । क्रुप्सकाया लेनिनको मृत्युपर्यन्त उहाँको निकटतम् मित्र, सहयात्री र सहयोगी रहनु भयो ।

क. लेनिन, पत्नी क. क्रुप्सकायाका साथमा, VI Lenin, With his wife Najedjha Krupskaya
क. लेनिन, पत्नी क. क्रुप्सकायाका साथमा

सन् १९०० तिर लेनिनको तत्परता र उहाँको नेतृत्वमा सम्पूर्ण रुसभर ‘इस्क्रा’ को प्रकाशन सुरु गरी त्यसका सहयोगी र बिक्री गर्ने व्यक्तिहरुको पूरा जाल नै विछ्याइयो । लेनिन अखबारको मुटु हुनु हुन्थ्यो ।

सन् १९०१ देखि भ्लादिमिर इल्यिचले आफ्ना केही लेखहरु लेनिन नामबाट छपाउन थाल्नु भयो । सन् १९०२ मा लेनिनको कृति ‘के गर्न?’ प्रकाशित भयो । त्यसपछि उहाँ पार्टी निमार्णमा खट्नु भयो ।

बोल्सेविक पार्टीको निर्माण भएपछि त्यो अजेय शक्ति देखा पर्यो, जसले जमिन्दार र पुँजीपतिहरुको सत्ता ढाल्न, समाजवादको निमार्ण गर्न रुसी मजदुर वर्ग र समस्त श्रमिकहरुलाई ब्युझाउँदै थियो । लेनिन र उहाँका सहयोगीहरुद्वारा गठित बोल्सेविक पार्टी विश्वका समस्त कम्युनिस्ट तथा मजदुर पार्टीहरुका लागि एउटा नमूना बन्न पुग्यो ।

लेनिनले सन् १९०४ मा ‘एक पाइला अगाडि, दुई पाइला पछाडि’ भन्ने पुस्तक प्रकाशित गर्नु भयो । त्यस पुस्तकमा लेनिनले मजदुर आन्दोलनको मेरुदण्ड बनेको पार्टीको विरुद्ध मेन्सेविकहरु संघर्ष गर्दैछन्, पार्टीलाई नष्ट–भ्रष्ट गर्न चाहन्छन् भन्ने कुरालाई प्रष्टसँग उल्लेख गर्नु भएको थियो ।

सन् १९०५ को शरदमा रुसी क्रान्तिकारी आन्दोलनले विशाल रुप लिन थाल्यो । अक्टोबर महिनामा आम राजनीतिक हड्ताल सुरु भयो । कलकारखानाहरु, हुलकाहरु र टेलिग्राफ अड्डाहरु बन्द भए । पूरा राष्ट्रकै जीवन–स्पन्दन रोकिएसरी संघर्ष अगाडि बढ्यो । यो सर्वहारा संघर्षको त्यो नयाँ रुप थियो, जुन त्यस बेलासम्म अरु कुनै राष्ट्रमा भएको थिएन ।

नोभेम्बर १९०५ को सुरुमा लेनिन पिटर्सवर्ग आइपुग्नु भयो र देशभित्र नै बसेर पार्टी र क्रान्तिकारी संघर्षको नेतृत्व गर्न थाल्नु भयो । उहाँले ‘नोभाया जीज्न’ भन्ने पत्रिकामा आफ्नो लेखहरुद्वारा पार्टीका कार्यकर्ता र जनतालाई प्रशिक्षित गर्नुभयो । यस अखबारमा निस्केका लेनिनका लेखहरुमध्ये ‘‘पार्टी संगठन र पार्टी साहित्य” लेखको विशेष महत्त्वपूर्ण स्थान छ ।

जारशाही लेनिनको क्षमतादेखि तर्सन थाले । लेनिन र लेनिनको नेतृत्वमा भएको सर्वहारा मजदुर आन्दोलनलाई दबाउन जारशाही क्रियाशील भयो तर सफल हुन सकेन । लेनिन रुसका जनतामाझ झन् धेरै लोकप्रिय हुन थाल्नुभयो र लेनिनले लिनु भएको नीति रुसका जनताको कार्यनीति बन्न पुग्यो । लेनिन रुसका सर्वहारा वर्गको निम्ति आस्थाको पुञ्ज बन्न सफल हुनु भयो ।

विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता लेनिनले बोल्सेविक नीतिको औचित्य प्रमाणित गर्न अथक परिश्रम गर्नुभयो । उहाँ मजदुर, बुद्धिजीवी, कामदार र विद्यार्थीहरुसँग वार्तालाप गर्ने कुनै पनि मौका छोड्नु हुन्थ्यो । ९ मे १९०६ मा उहाँले पिटर्सवर्गमा ३ हजार जनताको उपस्थितिमा महत्त्वपूर्ण सभामा भाषण गर्नुभयो । उक्त भाषणमा लेनिनले निरङ्कुश शासनसँग कादेतहरुको बुर्जुवा पार्टीले गरेको साँठगाठको भण्डाफोर गर्नुभयो र सर्वहाराको क्रान्तिकारी नीति अगाडि सार्नु भयो ।

लेनिनले कठोर सङ्घर्षपछि पार्टी संगठनलाई बोल्सेविकहरुको वरिपरि गोलबन्द गर्न सफल हुनुभयो । त्यसपछि उहाँले पार्टीको पाँचौ महाधिवेशनका लागि गम्भीर तयारी गर्न सुरु गर्नुभयो । फेब्रुअरी १९०७ मा लेनिनले रसियाली सामाजिक–जनवादी मजदुर पार्टीको पाँचौ महाधिवेशनमा भाग लिन लेनिन लण्डन जानु भयो र लेनिनले महाधिवेशनको नेतृत्व गर्नुभयो । महाधिवेशनमा लेनिनद्वारा प्रस्तुत बुर्जुवा पार्टीहरुप्रतिको दृष्टिकोण सम्बन्धी प्रस्ताव पारित भयो ।

पाँचौ महाधिवेशनले क्रान्तिमा बोल्सेविकहरुले अपनाएको नीतिको औचित्य स्वीकार गर्यो । अन्य प्रश्नहरुमा पनि बोल्सेविकहरुले मेन्सेविकहरुमाथि विजय हासिल गरे । महाधिवेशनका मजदुर प्रतिनिधिहरुसँग लेनिन ठूलो सद्भावना र सहृदयतापूर्वक वार्तालाप गर्नुहुन्थ्यो । पाँचौ महाधिवेशनले लेनिनलाई रसियाली सामाजिक जनवादी मजदुर पार्टीको केन्द्रीय समितिको सदस्य छान्यो ।

जुन १९०७ को सुरुमा लेनिन लण्डनबाट रुस फर्किनुभयो । फिनल्याण्डमा बसोबास गर्न थाल्नु भयो । महाधिवेशनको लगत्तै जारशाही सरकारले दमनको नीति लियो र दमन गर्न सुरु गर्यो । रुसमा कठोरतम् प्रतिक्रियावादी काल सुरु भयो । जनवरी १९०८ मा लेनिन स्विजरल्याण्डको जेनेभा सहरमा फर्कनु भयो ।

परन्तु लेनिनको सम्पूर्ण ध्यान रुसी क्रान्तिप्रति निर्दिष्ट थियो । लेनिन नयाँ जोश र शक्ति बटुलेर पार्टी कार्यमा लाग्नु भयो, नयाँ क्रान्तिको तयारी गर्न थाल्नु भयो । नयाँ क्रान्तिको विकास सम्बन्धी लेनिनको भविष्यवाणी छिटै साकार भयो । व्यापक क्रान्तिकारी संघर्षको यस अदम्य विकासलाई कुनै अत्याचार र उत्पीडनले रोक्न सकेन ।

सन् १९१० मा रुसमा फेरी मजदुर आन्दोलन चर्किन थाल्यो । पिटर्सवर्ग, मस्को र अरु ठूला–ठूला सहरहरुमा गृष्म र शरदमा हड्ताल, प्रदर्शन, सभा र अन्य राजनीतिक सक्रियताहरु बढ्न थाले । क्रान्तिकारी आन्दोलन चर्कंदै गयो । ठूला कठिनाइहरु पार गदै बोल्सेविकहरुले डिसेम्बर १९१० मा पिटर्सवर्गमा साप्ताहिक पत्रिका ‘‘जभेज्दा’’ निकाले । अन्ततः क्रान्ति अगाडि बढ्न सफल भयो ।

लेनिन समाजवादी क्रान्ति नजिक आउँदैछ भन्ने कुरा स्पष्ट रुपमा देख्दै हुनहुुन्थ्यो र पार्टीलाई यस क्रान्तिका लागि तयार गर्दै हुनुन्थ्यो । ‘‘राज्य र क्रान्ति’’ पुस्तकमा लेनिनको समाजवाद र साम्यवादलाई साम्यवादी समाजको विकासका दुई खुड्किलाहरुको रुपमा हेर्नु भएको थियो । मार्क्स र एङ्गेल्सको विचारधारालाई विकसित तुल्याउदै उहाँले समाजवादले अनिवार्य साम्यवादमा संक्रमण गर्नेछ भन्ने कुरा देखाउनु भएको थियो । सन् १९१७ मा महान अक्टोबर समाजवादी क्रान्ति सफल भयो ।

६ मार्च १९१८ मा प्रेट्रोग्रादमा सातौं पार्टी महाधिवेशन सुरु भयो । यो महान् अक्टोबर समाजवादी क्रान्तिको विजयपछि पहिलो महाधिवेशन थियो । लेनिनले महाधिवेशनको सम्पूर्ण कार्यको नेतृत्व गर्नु भएको थियो । उहाँले त्यसमा १८ पटक भाषण गर्नुभएको थियो । सातौं पार्टी महाधिवेशनले बहुमतद्वारा लेनिनवादी नीतिको समर्थन गर्यो । ‘‘युद्ध तथा शान्ति सम्बन्धी प्रस्ताव’’ पारित गर्यो । लेनिनको प्रस्ताव अनुसार पार्टीको नाम बदल्ने निर्णय भयो । यस महाधिवेशनदेखि पार्टीको नाम रसियाली कम्युनिस्ट (बोल्सेविक) पार्टी रहन गयो ।

११ मार्च १९१८ मा सोभियत सरकार मस्को सर्यो र मस्को सोभियत राष्ट्रको राजधानी बन्यो । जन कमिसार परिषद् र अखिल रसियाली केन्द्रीय कार्यकारिणी समितिका कार्यालयहरु क्रेमलिन भवनमा सरे । लेनिन पनि क्रेमलिन सर्नु भयो ।

भ्यादिमिर इल्यिच लेनिन कार्ल मार्क्स तथा फ्रेडरिक एङ्गेल्सका विचार, कार्य तथा शिक्षाका महान् अनुयायी हुनुहुन्थ्यो । उहाँले आफ्नो रुसी भूमिमा समाजवादको प्रयोग गरेर सफल पनि हुनुभयो । विश्व सर्वहारा वर्गका महान् नेता लेनिनले मार्क्सवादका तिनै संघटक अंगहरु दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादलाई विकसित तुल्याउनु भयो ।

समाजवादी क्रान्तिको तयारी र पूर्णताको समयमा होस् वा समाजवादको निर्माणका लागि संघर्षको समयमा, क. लेनिन पार्टीको प्रतिभाशाली नेतृत्वकर्ता हुनु हुन्थ्यो । भ्यादिमिर इल्यिच लेनिन बिसौँ शताब्दीको सबैभन्दा महान् घटनाको रुपमा रहेको महान् अक्टोबर समाजवादी क्रान्तिको नेृत्वकर्ता हुनु हुन्थ्यो, जसले सम्पूर्ण मानवजातिको विकासक्रमलाई मौलिक रुपमा बदल्न सफल भयो । लेनिनले सोभियत राष्ट्रमा समाजवादको निर्माण गर्न योजना तयार पार्नु भएको थियो । यो उहाँको अर्को महान् देन थियो ।

विश्वको पहिलो समाजवादी राष्ट्रका संस्थापक र महान् मार्क्सवादी चिन्तक क. लेनिन आज हाम्रो माझ हुनुहुन्न । उहाँको २१ जनवरी १९२४ मा मृत्यु भयो । तथापि उहाँको कर्म र महान् विचार युगौँयुगसम्म यो संसारमा रहिरहने छ ।

याे पनि पढ्नुहाेस्ः  कार्ल मार्क्सको संक्षिप्त जीवनी

याे पनि पढ्नुहाेस्ः  फ्रेडरिक एङ्गेल्सः जीवनी र कृतित्त्व

याे पनि पढ्नुहाेस्ः  महान् अक्टोबर समाजवादी क्रान्तिबारे केही कुरा

याे पनि पढ्नुहाेस्ः  लेनिन हराएकाे खबर (कविता) – क. बलराम तिमल्सिना