Krishna Sen 'Ichchhuk'
 

कृष्ण सेन ‘इच्छुक’को सहादतमा सम्मान गर्ने कसको नैतिक पुँजी र अधिकार होला ? कृष्ण सेन केका विरूद्ध लडेका थिए ? उनको रचना र कर्म के कस्तो थियो ? उनको सम्पादनमा चल्ने ‘जनादेश’, ‘जनदिशा’ र ‘कलम’को अवस्था के थिए र अहिले के कस्तो अवस्थामा छन् ? उनका हकवालाहरूको सांस्कृतिक र राजनीतिक हैसियत, सोच र सकृयता अहिले कस्तो छ ?

कृष्ण सेन ‘इच्छुक’ लेखक, साहित्यकार पत्रकार थिए । दृढ विचारका उनी व्यवहारमा अति सरल थिए । विश्व दृष्टिकोण द्वन्दात्मक तथा एतिहासिक भाैतिकवादी थियो । राजनितिमा वर्गसंघर्ष प्रधान मान्थे । अफन्तप्रतिको प्रेम र दुश्मनप्रतिको महाघृणा थियो । साम्राज्यवादका विविधरूपले राजनीतिमा पारेका प्रभावका उनी घोर विरोधी थिए। जीवनकर्ममा हुने, गरिने, देखिने र बोल्नेमा समानता थियो । पाखण्डको घृणा गर्थे । संस्कृति क्षेत्रमा अझ उनको चासो र चिन्ता थियो ।

विचार मूल्यरहित हुँदैन त्यसको मूल्य तिर्न विचारवानहरू सदा तत्पर हुनुपर्छ भन्ने मान्यता थियो । विचारलाई कविता र पत्रकारिताको माध्यमबाट कलामय प्रस्तुति गर्दथे भने विचार फेर्नु सामान्य कुरा हो संस्कृति फेर्नु फलामे च्युरा चपाएझैँ मान्दथे ।

उनी दर्शकमात्र थिएनन् प्रतिरोरोधी सकृयतावादी थिए । लेख्नुको अर्थ वौद्धिक विलासिता नभई उच्च मानवतावादको अभ्यासकर्ता कम्युनिस्ट थिए । भन्थे नै- ‘लेख्नका लागि लड, लड्नका लागि लेख’ भन्दै कलमलाई उनी हतियारका रूपमा बुझ्थे ।

Narendra Jung Peter
लेखक

इच्छुक भाैतिकवादी चेतनशील नास्तिक थिए, नवउदारवादका वैचारिक दुश्मन थिए । उपभोक्तावादका कटुआलोचक । दुश्मन सामु झुक्नु र सम्झैता गर्नु भन्दा निष्ठापूवर्क मृत्युवरण गर्नु पर्छ मान्यता थियो । जिँउदै लाक्षी जीवन गुजार्नुभन्दा अत्सम्मान सहित मर्नु गाैरवता हो भन्ने मान्यता थियो ।

आज कृष्ण सेन इच्छुुकको सहादत स्मरण दिन । ०५९ जेठ १३ मा महेन्द्र पुलिस क्लवमा याताना दिँदा दिँदै जनादेश साप्ताहिक र जनदिशा दैनिकका सम्पादक कवि, लेखक तथा पत्रकार इच्छुकको हत्या भएको थियो ।

अहिले इच्छुकले सम्पादन गरेका ‘जनदिशा’ र ‘जनादेश’ पत्रिका पनि छैनन् । गुटमा कैद भएको इच्छुक प्रतिष्ठानले कहिलेकाहीँ ‘कलम’ प्रकाशन गर्छ । सहयोद्धाहरु अहिले सहिद र वेपत्ता योद्धालाई अंशवन्डा लगाउँदैछन् । सहयोद्धाहरु रुपमा त छन्, आत्मा र चिन्तन सहित छन् कि छैनन् ? खोज्नै पर्ने हुन्छ । उनी जिउँदै भएको भए – कसलाई राजनीतिक नाइके वा नेता मान्थे होलान् ? वा सडकमा कुर्लिन्थे या नयाँ कदम चाल्थे ? कि नरासा कुण्ठाको प्रलाप साहित्यक जलप लगाएर पस्कन्थे अथवा म तल्लो तहमै बसेर भूमिका निर्वाह गर्छु भन्थे कि ? वा शब्दकोषमा रहेका गाली रित्याएर क्रान्तिकारी दरिन्थे कि ? भूपीले भनेको ठिकै हो “….बाँच्नु गाह्रो छ, मर्नै सजिलो रहेछ,।”

प्रसंग ७ वर्षजति पहिलेको हो ।

“किन तपाईं हिजो त्यति सेन्टिमेन्टल हुनुभएको ?” सम्पादकले च्याट संवादमा भन्नुभयो । आइतबार कृष्णसेन इच्छुकको स्मृतिमा क्रान्तिकारी पत्रकार सङ्घले नेपाली मिडियामा नैतिकता विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । माओवादी पार्टी फुटेको मात्र थिएन, सहिदलाई समेत भागबन्डा लगाइँदै थियो । सहिदको लासलाई चिरेर हकवाला दावी गर्दै फिरादपत्र बोकेर नालिश हालिँदै थियो । आदर्शको नाममा सहादतको संवेदनालाई बजारीकरण गरिँदै थियो । शान्तियुद्धको चरमकालमा दुश्मनको एम्बुसमा फसेको माओवादी देख्दै थिएँ म । उत्तेजित भएछु । आक्रोशित भएछु ।

मेरा ठीक सामुन्ने नेताहरू (राजनीतिक र पत्रकार) थिए । उनीहरू नैतिकतालाई व्यवहारिकतामा फेर्ने कार्यकारी भइसकेका थिए वा थिएनन् थाहा छैन । न्युजमेकर चाहिँ पक्कै हुन् । उनीहरू नै मिडिया नैतिकताको पहरेदार प्रेस काउन्सिलका पदाधिकारीको मूल चयनकर्ता थिए । फेरि नैतिकताको विडम्बनापूर्ण रुवाइ किन ?

म भारतीय प्रेस काउन्सिलका अध्यक्ष जस्टिस मार्कण्डेय काट्जुलाई सम्झन्छु । मिडिया बादशाह रूपर्ट मरडोकलाई घोडाबाट उतार्दै न्युज अफ वर्ल्डलाई नत्थी लगाउने लेब्सन आयोगलाई सम्झन्छु । विश्वव्यापी मिडिया बहसलाई सम्झन्छु । देशकै दुईजना पूर्वप्रधानमन्त्री प्रचण्ड र डा. भट्टराई, सञ्चारमन्त्री कृष्णबहादुर महरा, मिडिया नैतिकताको नियमन गर्ने प्रेस काउन्सिलका अध्यक्ष र बहुमत कार्यकारिणी, पार्टीको भातृसङ्गठन बनेका पत्रकारका विभिन्न सङ्गठन देख्छु । समग्र पत्रकारको नेता सङ्गठनका अध्यक्ष नै त्यहाँ थिए तर त्यहाँ सहिद पत्रकार कृष्ण सेनलाई साक्षी राखी उनकै तस्बिरमुनि मिडिया नैतिकताबारे विलाप गरिँदै थियो ।

विलापमा कुनै नयाँ मार्गचित्र भने थिएन । संवेदना थिएन । पश्चात्ताप थिएन । आगामी दिनमा नैतिकताको मापदण्ड यसरी उसरी गर्ने भन्ने प्रतिवद्धता पनि कसैले गर्नुपरेन । हो, त्यहाँ भनिए झैँ … हामी सिसाघरे पत्रकार अरूलाई टुकुटुकु गिर्खा त हान्छौँ तर हाम्रै घरमा जब लक्षित वर्गले पत्थर मार्ला, त्यसबेला मिडियाकर्मीको हाल के होला ? चिन्ता चाहिँ व्यक्त गरिएको थियो । नैतिकताका उपदेश तिनै दिँदै थिए, जसले उल्लङ्घन गर्दथ्यो प्रोत्साहित गर्दथ्यो, हितअनुकूल नैतिकताको व्याख्या गर्दथ्यो ।

इच्छाशक्तिहीन वा आग्रहले हाँकिने सरोकारवालाहरू थिए । वक्ता, अतिथि र सरोकारवालाको उपस्थिति, आदर्शका प्रलाप, स्वयम् भूमिकाले चिमोटिरहेको थियो । म त्यहाँ उपदेश, आग्रह र पाखण्डका निन्दारस पिउन विवश थिएँ ।

हो, त्यसैले सम्पादकज्यू … नाटकीय जीवन र निन्दारसमा नरमाउने म सेन्टिमेन्टल भएको । आक्रोशका दिलभावना छताछुल्ल पारेको । निर्दयी समाजमा सहादतलाई साक्षी राखेर पालन गर्नु नपर्ने नैतिकताका गीत लयबद्ध गर्न सक्दिनथेँ । सुविधाअनुसारको सिद्धान्त कथेर सहिदको सम्मान गर्न सक्दैनथेँ ।

Narendra Jung Peter demanding justice for Krishna Sen Ichchhuk

उसको सहादतको समाचार ‘जनआस्था’ले ब्रेक गरेको युद्धभूमिमा सुनेको थिएँ । आक्रोशका आँशु बगाएको थिएँ । म उसको सुन्दर ओजपूर्ण कविताको उम्दा पाठक हुँ । ज्वालामुखी प्रदेशको सहयात्री हुँ । नैतिकताका अर्थ, मर्म र संवेदना परिस्थितिअनुसार बदलिन्छन् भनेर डा. बाबुराम भट्टराईले भने जस्तो म मान्न सक्दिनँ । एउटा आन्दोलनले पैदा गरेका आदर्श, नैतिकता, सपना, मार्गचित्रका गतिशील सोचको पङ्क्ति नै बदल्दै आदर्शको हकवाला बन्न सकिँदैन भनी सोच्ने मान्छे । न मैले इच्छुकको नैतिकतालाई बिर्सेको छु, न त मिडियाका चटपटे नैतिकताको बजारीकरणमा रमेको मनुवा हुँ । सपना हामीले सँगै देखेका थियौँ, उसलाई साक्षी राखेर पाखण्डका कर्कश स्वर चिच्याउन चाहँदैनथेँ । हो सम्पादकज्यू, त्यसैले म सेन्टिमेन्टल भएको ।

सार्वजनिक सरोकारको मिडियाले राज्यको तस्बिर मात्रै खिच्दैन, सनातनी सत्तालाई मूलधार भनेर सौन्दर्यकरण पनि गर्छ । सामाजिक टकराहटलाई वाणी दिन्छ । हितअनुकूलको तथ्य टपक्क टिपेर आफ्नै दृष्टिकोणको चित्रकारी गर्छ । आफैँले वकालत गरेको मानकलाई एउटा महाफासिस्टले आफ्नै कानुनलाई धोती लगाए झैँ भताभुङ्ग पनि पार्छ । ‘एउटा साथी पत्रकार बन्न सक्छ तर पत्रकार साथी बन्न सक्दैन’ भन्ने नजिर कायम गर्छ । जब एउटा मानिस एउटा पत्रकारसँग ‘न नजिक हुन् सक्छ न त टाढा’, त्यो अवस्था कस्तो होला ? मिडियालाई राज्य र आफूलाई एउटा शासकका रूपमा जब मिडियाले सोच्न थाल्छ तब नैतिकता वकालतको अर्थ के होला ?

यस्ता अन्तरक्रिया सहिदको तस्बिरमुनि गर्नै हुँदैन । गरेदेखि आफैमाथि निर्मम बनेर वाचाकवुल गर्नुपर्छ । नत्र सराध्ये गर्न सहभागी पनि हुनुहुँदैन । कसैले पनि हृदयहीन, संवेदनाहीन कवि बन्न रुचाउँछ, पाखण्डपूर्ण आदर्श र नैतिकताको व्याख्यान गर्छ भने हो प्रिय मान्यवर सम्पादक, त्यो अवस्थामा मलाई माफ गर … म सेन्टिमेन्टल भइदिन्छु ।

त्यहाँ कृष्ण सेन ‘इच्छुक’कै बखानकर्ता नेता पनि थिए । जब पार्टी मर्छ र गुट मौलाउँछन्, आफ्ना योग्यता, क्षमता र दक्षताको अभ्यास गर्न पनि गुट मतियारको फुर्को समाउनुपर्ने विवशता एउटा राजनीतिक कार्यकर्तालाई चुनौती बनेर आइदिन्छ, स्वाभिमान बचाउने परिवेशको हत्या गर्न प्रेरित गरिन्छ तब त्यो कला राजनीतिक कमैया नबसेका कार्यकर्तासामु बनेपछि कस्तो होला … तिनै नेता जब आदर्शका व्याख्यान सहादतको छहारीमा बसेर गर्छन्त, ब अनौठो भाव जागृत भएर मान्छे सेन्टिमेन्टल भइदिन्छ ।

सबै परिवर्तनको अगुवाई गर्ने, परिवर्तनलाई व्यवहारिक रूप दिने भनेको त राजनीतिले नै हो, नेताहरूले नै हो । उनीहरूमा सामाजिक चरित्र र अवस्थाअनुसारको नैतिकता अपेक्षित त हुन्छ नै । छिमेकीको पीडाले देशको भूगोल अन्यत्र सार्न नसके झैँ अरू सबै चीज आयात गर्न सके कुनै पनि देशले नेता नै आयात त गर्न सक्दैन नि ।

तब एउटा अभियन्ता कविता गुन्गुनाउँदै सपनालाई सम्झन्छ, बर्तमानलाई नियाल्छ, भविष्यलाई गम्छ तब हृदयका भावना कुर्लन थाल्छ, आक्रोशहरू शब्द बन्छन् । तब मान्छे सेन्टिमेन्टल भइदिन्छ । इतिहास भनेको न मूर्दाको कथा हो न त चिहानघारीको पर्यटन ।

प्रतिक्रिया अनेक तरिकाले व्यक्त हुन्छन् । सामान्यजन प्रतिक्रियाको शक्ति बुझ्न र नाडी समाउन चुक्छन् । शक्तिहरू आदेशमा हाँकिन उर्दी गर्छन् तर विद्रोहीहरू संसारमा कहाँ पो उर्दीमा हाँकिए र ? उर्दीमा नहाँकिएका ज्वारभाटाविरुद्ध, शक्तिसामु नैतिकता धितो नराखेका ‘इच्छुक’को सहादत स्मरण गर्नु, सहभागी हुनु अझ नाटकीय कर्कश, संवेदनहीन भाषण सुन्नु आफैमा चुनौती थिए … सम्पादकज्यू । हो, त्यसैले पात्र र प्रवृत्ति देख्दा, व्याख्यान सुन्दा, म सेन्टिमेन्टल भएको । सम्पादकज्यूले भाषण ठोकेर फर्केपछिको फेसबुक स्टाटसले त अझ सेन्टिमेन्टल बनायो नै ।

(कवि इच्छुकका सहयोद्धा पिटर वामपन्थी विश्लेषक तथा साम्राज्यवाद विरोधी अभियन्ता हुनुहुन्छ र प्रस्तुत लेख अनुमतिसहित उहाँको फेसबुक वालबाट लिइएको हो – सम्पादक।)