Unification of CPN (UML) and CPN (Maoist Centre)
 

मार्क्सवाद–लेनिनवादको मार्ग निर्देशनमा नेपालमा समाजवाद स्थापना गर्ने ध्येयसहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको हो । पहिलो पटक चुनावी गठबन्धन हुँदै अघि बढेको कम्युनिस्ट ध्रुवीकरणको प्रकृया सबै तहमा संगठन समायोजनसँगै पूरा भएको छ । नेकपाले संघ, प्रदेश र स्थानीय तीनै तहमा अत्याधिक जनमत हासिल गरेर सरकार सञ्चालन गरिरहेको सन्दर्भमा समाजवाद लगायत संवैधानिक लक्ष्य हासिल गर्नु वर्तमान राजनीतिक अवस्थामा नेकपाको ऐतिहासिक कार्यभार हो । त्यसैले नेकपाले आफ्ना ऐतिहासिक जिम्मेवारी पूरा गर्दै जानु राज्यको संविधान कार्यान्वयन गर्ने विषय पनि हो ।

नेपालको संविधान २०७२ मा नेपाल राज्य समाजवादउन्मुख हुनेछ भन्ने स्पष्ट उल्लेख भएको छ । अहिले समाजवादउन्मुख भनिसकेपछि संवैधानिक बाटोबाट भोलि समाजवादमा जाने सन्दर्भमा अन्यौलता छैन । त्यसैले आफ्ना एजेण्डा कार्यान्वयन गर्न नेकपाले तत्परता देखाएको छ । अझ प्रष्ट भन्दा नेकपाले ‘समृद्ध नेपाल र सुखी नेपाली’को महाअभियानमार्फत् यसलाई साकार पार्नु आफ्नो प्रमुख दायित्त्व ठानेको छ । पार्टी बृहत भएको, आगामी कार्यभार चुनौतीपूर्ण रहेको र तात्कालिक जनअपेक्षालाई समेत सम्बोधन गरेर अघि बढ्नुपरेको अवस्थामा यसबेला पार्टीको वैचारिक कार्यदिशा प्रमुख सवाल बनेको छ ।

रमेश गुरागाँई, Ramesh Guragain Leftreviewonline Com
लेखक

पार्टी एकीकृत भइसकेपछि पूर्वसमूहले अंगीकार गर्दै आएका विचार श्रृंखला जनताको बहुदलीय जनवाद, एक्काइसौँ शताब्दीको जनवाद र माओवाद स्थगन गरिएको छ । यसपछि महाधिवेशनले टुंगो गर्ने भन्ने पनि छ । समाजवादउन्मुख जनताको जनवाद उल्लेख भएता पनि यसबारे न स्पष्ट व्याख्या छ, न यसबारे व्यापक बहस नै गरेको पाइन्छ ।

यस बिचको अन्तरिमकालीन विचार किटान नगरी हामी व्यवहारमा मात्र अघि बढेका छौँ । व्यवहार भनेको खुट्टा हो भने विचार/सिद्धान्त भनेको आँखा हो । विचारको अभावमा अघि बढ्नु आँखा नहेरी छामछाम छुमछुम गर्दै हिँड्नु जस्तै हो । यसबाट जुनसुकै बेला खाल्डामा खसिने खतरा रहिरहन्छ । यसकारण अहिले पार्टीको दैनिक जीवनमा स्वतः अन्यौलता, अस्पष्टता र दिशाहीनताका कारण जटीलता सिर्जना हुन थालेका छन् ।

विगतमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अवलम्बन गरेका विचारधारात्मक कार्यदिशा र सिद्धान्त मूलतः सामन्तवादको अन्त्यका लागि थिए । तत्कालिन पार्टीको कार्यक्रम जनवादी क्रान्ति थियो र ती सबै जनवादी क्रान्ती सम्पन्न गर्ने वैचारिक हतियार थिए ।

माओवाद मार्क्सवाद–लेनिनवादको विकासको तेस्रो चरण हो । खासगरी मार्क्सवादका तीनवटै संघटक अंग दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र बैज्ञानिक समाजवादको क्षेत्रमा माओ त्सेतुङ्गको नेतृत्वमा भएको चिनियाँ क्रान्तिले गरेका विकासहरुको संश्लेषण हो । यसको सार्वभौमिक विशेषताका कारण विश्वका विभिन्न देशहरुमा माओका विचार अनुशरण गरिएका थिए । त्यसैले यो एउटा विज्ञानकै स्तरमा विकास भएकाले वादको रुपमा नेपालमा पनि मुख्यतः माओवादीले अनुशरण गरेको सिद्धान्त हो । माओवादलाई नेपालको विशिष्टतामा प्रयोग गरेर आजको उपलब्धी हासिल गर्न सकिएको विषयमा भने अब सायदै विमति नहोला ।

तत्कालिन माओवादीले माओको दीर्घकालीन जनयुद्धको कार्यक्रम मार्फत् रणनीतिक प्रत्याक्रमणको तयारी थालेपछि एउटा बहस सिर्जना भयो । कम्युनिस्ट क्रान्तिकारीहरुले नभएको पार्टी बनाउँछन् । नभएको सेना निर्माण गर्छन् । नभएको शक्ति आर्जन गर्छन् । र, वर्षौदेखि टिकेको र कयौँ ठूलो फौजी शक्तिको आडमा चलेको सदियौँदेखिको राज्यसत्तालाई निमेषभरमा समाप्त पार्न सक्छन् । यसरी प्राप्त गरेको राज्यसत्ता प्रतिकृयावादी शक्तिले अर्को कालखण्डमा सहजै फिर्ता लिने गरेका छन् । आफ्नो राज्यसत्ता बचाउन कम्युनिस्टहरु एक थोपा रगत बगाउन तयार हुँदैनन्, उल्टो प्रतिगमनका लागि प्रकारान्तरले सहजकर्ता बन्न पुग्छन् । सोभियत संघको विघटनले पनि यही यक्ष प्रश्न सिर्जना गर्यो । त्यसैले माओवादीले सरकार, सेना र पार्टी सम्बन्धमा इतिहासबाट शिक्षा लिँदै त्यसबेला भएका गल्तीबाट बच्ने उपायको खोजी गर्नु पनि क्रान्तिकारीहरुको दायित्व हुने ठान्यो । यस सन्दर्भमा एक्काइसौँ शताब्दीको जनवादको विकास शीर्षकमा नयाँ प्रस्ताव अघि सारेको थियो ।

जनताको बहुदलीय जनवाद (जबज) विश्वमा कम्युनिस्ट आन्दोलन र समाजवादी सत्ता रक्षात्मक अवस्था पुगेका बेला नेपालमा उत्साह र उत्प्रेरणा थप्ने उद्देश्यसहित प्रतिपादित सिर्जनशील कार्यक्रम हो । यद्यपि जबजका प्रवक्ता मदन भण्डारी जीवित हुँदा र उहाँको निधनपछि यसको सारतत्वमा केही अन्तर पाइन्छ । खासमा जबजले खोजेको तत्कालीन अवस्थामा मार्क्सवादको सिर्जनशील प्रयोग र विकास हो । यसले इतिहासको अन्त्य र एक ध्रुबीय विश्वको अवधारणा सत्य नहुने सन्देश नेपालमा मात्र होइन, विश्वभर फैलाउन मद्दत पुर्‍यायो । जनतासँग एकाकार हुनसक्ने कम्युनिस्ट पार्टीलाई विश्वका कुनै पनि नकारात्मक घटना र परिघटनाले प्रभाव पार्न सक्दैन भन्ने मान्यता स्थापित भयो ।

दुवै पार्टी एकताअघि नै आ-आफ्ना महाधिवेशनबाट समाजवाद स्थापनाको कार्यक्रममा जाने निर्णयमा पुगिसकेका सन्दर्भमा पनि उपरोक्त विचारधारात्मक श्रृंखला पर्याप्त थिएनन् । अझ एकता पश्चात् सबैभन्दा ठूलो पार्टी बनेर सुविधाजनक सरकार समेत सञ्चालन गरिरहेको अवस्थामा समाजवादमा पुग्ने ठोस ठोस कार्यक्रम निर्माण गर्ने र यसलाई दिशानिर्देश गर्ने विचारको विकास टड्कारो बनेको छ । निश्चय पनि नयाँको विकास पुरानोमा टेकेरै हुन्छ । यसर्थ आगामी महाधिवेशनसम्म स्थगित विचारहरु छलफल र बहसको प्रकृयामा ल्याउनुपर्छ । अझ पूर्वमाओवादी केन्द्रले अघि सारेको विचार पूर्वएमाले समूह र पूर्वएमाले समूहले अघि सारेको विचार पूर्वमाओवादी समूहले सँगै रहेर अध्ययन, छलफल, विश्लेषण र संश्लेषण अगाडि बढाउनु उचित हुन्छ ।

अब विचारधारात्मक तथा राजनीतिक कार्यदिशा तय गर्दा कम्युनिस्ट पार्टी नै यो देशको यस कालखण्डमा किन आवश्यक छ भन्ने कुरा तथ्य र तर्कबाट पुष्टि गर्न सक्नुपर्छ । निर्वाचनमा जनताले कम्युनिस्टलाई किन विजय गराए ? हामीले कम्युनिस्ट हुनुको नाताले के वाचा गरेका थियौँ ? यदि गैर–कम्युनिस्ट पार्टीले विजय हासिल गरेका भए के बिग्रिन्थ्यो ? यी यावत् प्रश्नको जवाफ नदिई हामीले सही ढंगले कम्युनिस्ट पार्टी निर्माण गर्न सक्दैनौँ । जनताले एकपटक परीक्षणका लागि कम्युनिस्टलाई चुन्ने र अर्काेपटक अन्य पार्टीलाई चुनेर परीक्षण गर्ने मात्र भयो भने न त देश विकासको नेतृत्व लिन सकिन्छ न त समाजवाद स्थापना र मानव सभ्यताको विकासको दिशामा अघि बढ्न सम्भव हुन्छ । अतः समाजवाद चुम्ने लक्ष्यमा दृढ संकल्पकृत हुन कम्युनिस्टले ढिला नगरी एउटा दह्रो वैचारिक किल्ला निर्माण गर्नुपर्छ ।