मोहनविक्रम सिंह, Mohan Bikram Singh, Mohan Vikram Singh Left Review Online मोहनविक्रम सिंह
 

पृष्ठभूमि:

नेपाल कम्युनिस्ट पार्टी (मसाल) को आठौँ राष्ट्रिय महाधिवेशन भर्खर सम्पन्न भएको छ। यसकाअर्धभूमिगत नेता एवं महासचिव मोहनविक्रम सिंह हुनुहुन्छ । उहाँलाई नेपाल कम्युनिस्ट पार्टीका पुराना नेता, कम्युनिस्ट विश्लेषक र स्कुलिङकर्ताको रुपमा पनि माँनिदै आएको छ । उहाँले नेपालको इतिहासमा धेरै कम्युनिस्ट नेता कार्यकर्ता जन्माउन आफ्नो जीवनकालमा उल्लेखनीय योगदान गर्दै आउनु भएको छ ।

तानाशाही व्यवस्थामा लोकतान्त्रिक दलबाट राजनीतिक यात्रा सुरु गर्नुभएको उहाँ ९ बर्ष जति पञ्तायती कालरात्रिमा जेलमा बसेर रिहा भएपछि नेपाली कम्युनिस्ट आन्दोलनमा होमिनु भयो ।

Sitaram thapa Seeta Ram thapa
लेखक

उहाँले नेपाली कम्युनिस्ट आन्दोलनका सिद्वान्तकार तथा संस्थापक महासचिव कमरेड पुष्पलाल विरुद्ध ‘गद्धार पुष्पलाल’ भन्ने ९९ पानाको किताब लेख्नु भयो । पञ्चायती व्यवस्था विरुद्ध सारा विरोधी शक्तिलाई एकजुट पारेर लड्ने रणनीतिक तयारीमा लागेका र संयुक्त जनआन्दोलनको प्रतिपादन गरिरहेका कमरेड पुष्पलाल विरुद्ध उहाँले जेलबाट निस्केपछि यस्तो किताब किन लेख्नुभयो, त्यो अहिले पनि ठूलो सन्देहको विषय हुन सक्छ । यद्यपि अहिले भने त्यस किताबको नाम बदलेर ‘क्रान्ति कि भ्रान्ति’ भनेर राखिएको छ । त्यो शिर्षकले पनि क. पुष्पलाल क्रान्ति गर्न होइन, भ्रान्ति फैलाउन खोजेको भन्ने कुरा अर्थ्याउँछ ।

नेता सिंहले धेरै सैद्धान्तिक व्यवहारिक पुस्तक-पुस्तिकाहरु लेखेर योगदान गर्नु भएको छ । उहाँले नेपालमा लामो समय कम्युनिस्ट पार्टीको संगठन निर्माण र नेता र नेतृत्त्व निर्माणमा निरन्तर लाग्नु भयो ।

उहाँको उल्लेखित योगदानहरु जति भए पनि उहाँको बौद्धिक क्षमताअनुसार संगठनको रक्षा, परिचालन, परिस्थिति र समायानुकूल विश्लेषण गरी राष्ट्रिय आान्दोलन र विद्रोह प्रतिपादन गर्ने अभियानको सारथी बन्न कमी रहेको देखिन्छ।

यद्यपि नेकपा (मसाल) र पार्टीको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाले आफ्नो छुट्टै विचारधारा बाहिर प्रकट गरेको र आफ्नो अस्तित्व र पहिचान स्थापित गर्ने प्रयास गरेको देखिन्छ। अहिले लोकतान्त्रिक गणतन्त्र स्थापनापछि पनि संघीयताको विरोध गरी विकेन्द्रीकृत प्रणाली हुनुपर्ने तर्क र यसमा आएको विकृतिमाथि जनमोर्चा र यसको नेतृत्व गरिरहेका चित्रबहादुर केसी निरन्तर चर्चाको शिखरमा पुगेका छन् ।

आठौँ राष्ट्रिय महाधिवेशन:

नेकपा (मसाल)को ८ औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा सम्पन्न भएको छ । झण्डै एक हप्ता चलेको महाधिवेशनमा देशभरबाट करिब ५ सय जना प्रतिनिधि र पर्यवेक्षक रहेका थिए । महाधिवेशन विवादपूर्ण बने पनि पाँचौ पटक पनि मोहनविक्रम सिंह नै महामन्त्रीको कार्यकाल लिन सफल हुनु भएको छ ।

महाधिवेशन हुनु पहिलेदेखि नै नेता र नेतृत्वमा विवाद बाहिर प्रकट भएको थियो । यसबाट सांस्कृतिक मोर्चा सम्हालेर पार्टीको पहिचान र संगठनको गरिमा उँचो बनाएका रक्तिम सांस्कृतिक परिवारका अध्यक्ष एवं जनवादी गायक जीवन शर्मा लगायतका नेता, कार्यकर्तालाई रक्तिमको अधिवेशनको पूर्वसन्ध्यामा संस्थापन पक्षले कारबाही गरेर रेम रानालाई ल्याइएको खबर समेत सञ्चार माध्यमहरुबाट बाहिर आएको छ ।

यद्यपि यो अर्धभूमिगत पार्टीमा के कति विवादित भयो ? पूर्णरुपमा जनसमक्ष नआउनु स्वभाविक मान्न सकिन्छ । विवादित विचार र नेतृत्वको बारेमा मोर्चामा बहस भने भइरहेको कुरा प्रकट भएको थियो । मसालभित्र बौद्धिक शक्तिशाली मानिने धेरै नेताहरु कारबाहीमा परेर अरु दलमा गए भने केही आफै फुटेर गएको इतिहास छ। जतिबेला महाधिवेशन आउँछ, त्यतिबेला असन्तुष्टि उत्पन्न हुने परम्परा कायम रहेको बताइन्छ ।

नेकपा (मसाल) को आठौँ महाधिवेशनले वर्तमान सरकारलाई समर्थन गर्ने निर्णय लिनुकासाथै चीन र भारतलाई साम्राज्यवादी देश भएको निष्कर्ष निकाल्दै तिनका विरुद्ध संघर्षलाई व्यापक बनाउनुपर्ने नीति अख्तियार गरेको छ। उसले आफ्नो संघीयताप्रतिकाे दृष्टिकाेणमा पनि फेरबदल गरेकाे छैन ।

राष्ट्रिय महाधिवेशनले क. मिहनविक्रम सिंहको नेतृत्वमा २७ जना पूर्ण केन्द्रीय सदस्य र ९ जना वैकल्पिक सदस्य र ९ जना सल्लाहकार सहित ३६ जनाको केन्द्रीय समिति गठन गरेको छ ।

अल्पमत पक्षमा असन्तुष्टि अभिव्यक्त:

मसालको ८ औँ राष्ट्रिय महाधिवेशन यसपटक विवादित र गम्भीर मतभेदयुक्त भएकोले जेष्ठ १६ गतेदेखि २२ गतेसम्म लम्बिएको थियो । महाधिवेशनमा बहुमत पक्षले एकलौटी ढङ्गबाट विचार र संगठन निर्माणमा जुटेकाले समिति गठन गरेको जनाइएको छ । जीवनभर पार्टीका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरी नेताहरुलाई कारवाही गरेको र नेतृत्वमा आाउने संभावना बोकेकालाई समेत संगठित नगरी बाहिर राखेकाले असन्तुष्टि व्यक्त भएको बताइन्छ । लामो समय केन्द्रीय समिति र महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने नेता सन्त बहादुर नेपाली, जीवन शर्मा, नारायण शर्मा, विमल शर्मा, गोविन्दसिंह सिंह थापा, ओम केसी, शशिधर भण्डारी, नारायण योगी, नर बहादुर पुन, राजेन्द्र ढुंगानालाई हटाइएकोमा असन्तुष्टि फैलिएको सुन्नमा आएको छ। यद्यपि उहाँहरु पार्टीमै रहेर वैचारिक नेतृत्वबारे आन्तरिक संघर्ष गर्दै अघि बढ्ने संकल्प गरेको सुनिएको छ ।

पार्टीको संस्थापन पक्षले भने महाधिवेशनमा धेरै-थोरै विवाद हुनु, छलफल हुनु र सोचेको जिम्मेवारी नपाउने साथीहरूले असन्तुष्टि जनाउनु स्वभाविक भएको अभिव्यक्ति दिएको छ। उनीहरूका अनुसार मसाल एक ढिक्का हुनु सफलता हो ।

मोहनविक्रम सिंहबारे

वि.स. १९९२ वैशाख ३ गते मरुटोल काठमाडौँमा जन्मिएका सिंहको स्थायी ठेगाना प्युठान जिल्लाको ओखरकोट हो । उतिबेला अर्थशास्त्रमा एम.ए. अध्ययन गरेका सिंह २००७ सालमा नेपाली काँग्रेसमा प्रवेश गरी प्युठान र सल्यानमा मोर्चा सम्हाल्नु भएको थियो ।

२००८ सालमा जुद्धोदय पब्लिक हाई स्कुलको प्रथम अध्यक्षमा निर्वाचित उनी २००९ सालमा भारतीय हस्तक्षेप विरोधी विद्यार्थी आन्दोलनमा भद्रगोल जेलमा एक महिना थुनामा पर्नुभयो ।

२०१० सालमा नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध सिंह एक बर्षमै प्युठानको भ्रष्टाचार विरोधी आन्दोलनमा गिरफ्तारीमा परी २० महिना जेल जीवन बिताउनु भयो ।

२०१४ सालमा दोश्रो महाधिवेशनमा केन्द्रीय समितिमा निर्वाचित २०१८ सालमा पञ्चायतको बेला सुरक्षा कानुनमा ९ वर्ष जेल जीवन बिताउनु पर्‍यो । २०२९ सालदेखि भूमिगत जीवन बिताएर उहाँ २०३१ सालमा ने.क.पा. (मसाल) को चौथो महाधिवेशनमा महामन्त्रीमा निर्वाचित हुनु भयो । २०४१ सालमा रिमको स्थापना सम्मेलनमा सहभागी हुन सफल उहाँ २०४६ साल अघि पूर्ण भूमिगत र त्यसपछि अर्धभूमिगत राजनीति गर्दै आउनु भएको छ ।

(लेखक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग आबद्ध हुनुहुन्छ ।)