Religion, christiam, hindu, Islam, Jain, Shikh, muslim, धर्म, ईश्वर
 

अहिलेसम्मको विश्व परम्पराको सबैभन्दा शक्तिशाली तर सबैभन्दा बोझिलो विरासत नै धर्म देखिँदै आएको छ । जन्मदेखि नै हामीलाई यस जेलमा बन्दी बनाइन्छ कि जसले गर्दा हामीले अरु विषयहरुमा तर्क वितर्क गरौँ या नगरौँ, धर्मका बारेमा विचार या पुनर्विचार गरिनु हुन्न । स्पष्टतः यो जिन्दगी जिउने एउटा विशेष शैली हो, जसको केन्द्रमा तर्क होइन, अन्धविश्वास छ ।

ठिकै भनिएको छ कि धर्मले मानिसलाई बनाएको होइन, मानिसले धर्म बनाएको हो । धर्म यसकारण खतरनाक छ कि यसले समाजमा आफ्नो सत्ता बनाउँदछ र आफ्नो सुरक्षाका लागि समाजको मानसिक प्रगतिलाई रोक्ने प्रयास गर्दछ ।

धर्मका बारेमा सबैभन्दा राम्रोसँग र एकदमै प्रष्ट रुपमा कार्ल मार्क्सले के भनेका छन् भने ‘धर्म जनताको अफिम हो’ । यो धर्मलाई बद्नाम गर्नका लागि भनिएको कुरा थिएन, बरु मार्क्सले यसो भन्नुभन्दा पहिला नै धर्म धेरै बद्नाम भइसकेको थियो । मार्क्सको त के उद्देश्य थियो भने धर्मको भूमिकालाई वैज्ञानिक तरिकाले बुझिनु पर्दछ । धर्मको अफिम हुने कुराले मार्क्सवादलाई धेरै नै नोक्सान गरेको छ किनभने त्यसको मूल स्थापना नै दबिन गएको छ । मार्क्सको धर्म सम्बन्धी पूर्ण कुरा हामीले त्यसबेला मात्र आत्मसात गर्न सक्तछौ जब हामीले यस वाक्यलाई सन्दर्भसँग नकाटिकन पढ्दछौं ।

Lok Narayan Subedi
लेखक

‘धर्म जनताको अफिम हो’ भन्नुभन्दा पहिला उनले तीनवटा अन्य अत्यन्तै महत्त्वपूर्ण कुरा भनेका थिए । धर्म दमित प्राणीहरुको चित्कार (आह या सुस्केरा !) हो, हृदयहीन दुनियाँको हृदय हो र आत्महीन स्थितिहरुको आत्मा हो । अर्थात ‘दैहिक, दैविक र ताप’ले पीडित व्यक्तिका लागि धर्म आखिरी शरण हो ।

यहाँ प्राप्त हुने शान्ति अस्थायी हुन्छ किनभने यस शरणस्थलमा दुःखका कारणहरु समाप्त पारिँदैनन्, केवल तिनको महशुस हुने कुरालाई शुन्य पारिन्छ । यो ‘पेन किलर’ जस्तो मात्र कुरा हो । के यसरी यस्तै काम अफिमले पनि गर्दैन ? त्यसले दर्द मेटाउँदैन बरु त्यसको समवेदनालाई ठप्प पारिदिन्छ । जब हामी दर्द महशुस गरिरहेका हुँदैनौ त्यतिबेला वास्तवमा हामी भ्रान्तिको शिकार हुन्छौं ।

जीवन दुःखमय छ । यो कुरा जान्नका लागि गौतम बुद्धकहाँ जानु आवश्यक छैन । विश्वको सबैभन्दा पुरानो किताबमा पनि यो जानकारी लेखिएको पाइन्छ । प्रश्न के हो भने दुःखबाट कसरी छुट्कारा पाउने हो ?

आज पनि कवियाली तथा विकसित दुवै समाजका अगुवाले यसको एउटै उत्तर दिने गर्दछन् – धर्म । यो उत्तर लगभग पाँच हजार वर्ष पुरानो हो । के आउदो पाँच हजार वर्षपछि पनि यही उत्तर काम लाग्छ ?

त्यसो हो भने त मानिसले तर्क र विवेकशील प्राणी भएको दाबी गर्न छोडिदिए हुन्छ । आश्चर्यको कुरा त अझ के छ भने धर्मले हामीलाई के गरेको छ र हामीले धर्मलाई के गरका छौँ । यस कुरामा विचार गर्नका लागि धार्मिक मानिसहरु एकसाथ बस्दैनन् ।

हाम्रो जीवनमा धर्मको व्यापक र निर्णायक भूमिकालाई हेर्दा यो कुरा आश्चर्यजनक लाग्दछ । जब हामी ती कपडा पहिरिदैँनौ जुन हजार वर्ष पहिला पहिरिने गरिन्थ्यो, जब हामी त्यो खाना पनि खाँदैनौ, जुन हाम्रा पूर्वज या पूर्खाहरुले उतिबेला खाने गर्दथे ।

जब हरेक १५-२० वर्षभित्रमा त भाषासम्म बद्लिने गर्दछ भने त्यसबेला यो हठ या जिद्दीको के अर्थ हुन सक्तछ कि धर्मको नाममा हामी त्यही टाँसिएर रहेका हुन्छौ जहाँ हाम्रा पुर्खाहरु हजार वर्ष पहिला टाँस्सिएर रहने गर्दथे ।

निश्चय नै धर्मको क्षेत्रमा पनि परिवर्तनहरु हुन्छन् र कतिपय बेलामा क्रान्तिसम्म नै पनि हुन्छन् । त्यसबाट केही कुरा निश्चय नै बद्लिन्छन् पनि तर त्यसको मूल आधार भने बाँकी रहेकै हुन्छ ।

अनि कुनै कुरा सही भएकोले सही मान्नको साटो त्यसलाई कुनै गुरु, सन्त, महन्त, आचार्यले भनेको हुनाले सही मान्ने या कुनै पुस्तकमा लेखिएको हुनाले सही मान्ने मनोवृत्ति छ । जब यो कुरा बताइन्छ कि धर्मले मानव समाजलाई के-के दियो त्यतिबेला यो कुरा त पूर्णरुपले गलत हुँदैन ।

मनुष्य समाजको विकासमा धर्मका भूमिका अवश्य रहेको छ तर यो भन्दा बढी बुद्धिमानीको कुरा यो कल्पना गर्नु हो कि धर्म हुँदैनथ्यो र मानिसले बुद्धिको बाटो हिडेर समाजको निर्माण गरेको हुन्थ्यो भने त्यसबेला के हुन्थ्यो ? के त्यो आजको तुलनामा बढी न्यायपूर्ण र सुखी समाज हुने थिएन ? जसमा मानिसहरुको जीवन आफ्नै हातमा हुने थियो र उनीहरुले दुःखहरुबाट बच्ने र सुखी हुने कुराका लागि वैज्ञानिकरुपमा सोच्ने थिए एक-अर्काको कुरा नकाटेर सुधार्नेतिर लाग्ने थिए ?

धर्मले भन्दछ कि दुःख अस्तित्वमा मात्र छ तर विज्ञानले जान्दछ । यसकारणले न त हामीले आफ्नो अस्तित्त्व त्याग नै गर्न सक्तछौं, न त दुःखबाट छुट्कारा पाउने कोशिसलाई नै रोक्न सक्तछौ । यी सबै कुरा हुँदाहुँदै पनि जीवन एउटा प्रिय कुरा हो र सबैभन्दा ठूलो दार्शनिक समस्या के छ भने यो जीवनलाई अझ प्रिय कसरी बनाउने हो । तर आजको यो परियोजना (सुखमय जीवन बनाउने कुरा) मा धर्मको कुनै भूमिका नै हुन सक्तैन । पानी पिउँदा तिर्खा मर्दछ, झर्ना या नदीका सुन्दरभन्दा सुन्दर तस्वीर देखेर त तीर्खा मर्दैन । आजभोलि के कुरा बारम्बार दोहोर्‍याउने गरिन्छ भने धर्म व्यक्तिगत मामिला हो । यो इश्वरसँग मानिसको निजी सम्बन्धको कुरा हो । यो कुरा मान्न को को कसरी समर्थ होला र  ?

हुन पनि धर्म स्वभावैले सामूहिक हुन्छ । धर्मलाई समुदायसँग काटिदिने हो भने र प्रत्येक जनसँग भनिदिने कि तिनले आफ्नो धर्म स्वयम् बनाऊन् र कुनै निर्देशन लिनका लागि कुनै धर्मसत्ता चर्च, मन्दिर, गरुद्वारा, मठ आदिलाई समाप्त पारेर त्यहाँ विद्यालय, अस्पताल या कारखाना बनाइयोस् भन्ने हो भने आगामी ३०-४० वर्षपछि बत्ति बालेर खोज्दा पनि धर्म नामको कुनै कुरा अस्तित्वमा भेटिने छैन । अहिलेसम्मको अनुभवका आधारमा भन्ने हो भने परम्पराको सबैभन्दा शक्तिशाली तर सबैभन्दा बोझिलो विरासत पनि धर्म नै हो ।

पहिला धर्म सामन्तवादको साथमा थियो । आज पुँजीवादसँग त्यसको गहिरो साँठगाँठ छ । छिमेकी देश भारतमा बृटिश साम्राज्यवादको सत्ता कायम भएको बेला इसाई पादरीहरुले साम्राज्यवादीहरुलाई यो कुरा सम्झाउन आएनन् कि तिमी जे गरिरहेका छौ, त्यो इशामसिहको शिक्षाको विपरीत कुरा हो ।

सत्ताले धर्मलाई काखी च्याप्दा त्यो बाघ बन्न पुग्दछ भने मानिस भने भेडाको पाठो । अनि त्यो बाघको सामुमा भेडाको पाठोको हालत के हुन्छ ? कसैलाई केही भनिरहनु नै पर्दैन । कुरा एकदमै स्पष्ट छैन र ?

(लेखक नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष हुनुहुन्छ ।)