Novel Coronavirus, COVID-19
 

‘यो रेडियो नेपाल हो, अब फलानाबाट समाचार सुन्नुहोस् । कास्की जिल्लाको लुम्ले गाउँ वडा नम्बर ७ मा हिजो बिहान शिवप्रसाद जैसीको भैँसीले हरिकृष्ण सुवेदीलाई सिङले मार्दा घाइते भई उपचारका लागि गण्डकी अस्पताल लैजाँदैगर्दा मृत्यु भएको छ । जैसीको भैँसीले मृतक सुवेदीको बारीमा रहेको कोदाको बिउ खाँदा भैँसी लखट्ने क्रममा सिङले पेटमा उदिनेको कुरा गाँउका प्रधानपञ्च शेरबहादुर अधिकारीले जनाएका छन् ।’

हिजोझैँ लाग्छ त्यस्तो समाचारले प्रसय पाउँदै गर्दा पनि रमाइलो लाग्दथ्यो । रेडियो नेपालको जिल्ला समाचारले जहाँको समाचार हो, त्यहाँका नागरिकहरुलाई प्रभावित पार्दथ्यो । पल्लो गाँउका मानिसहरुलाई त्यस्ता समाचारले अलि कम छोएको होला । तैपनि कास्कीकोटका साने कार्कीको चिया दोकानमा सुनेको त्यो समाचार गाउँका बासिन्दाहरुका लागि छलफलकै विषय बन्ने गर्दथ्यो । हामीलाई घटना परिघटनाबारे जानकारी दिने रेडियोको समाचार नै त्यतिबेलाको सबैभन्दा ठुलो सञ्चार माध्यम थियो ।

अहिले सूचना प्रविधिले फड्को मारेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस संसारका दुई सय देशमा एकैसाथ श्रव्यदृश्य समाचारका माध्यमले सूचना प्रवाहित भयो । सुरुका दिनमा हामी छिमेकी भएपनि उक्त समाचारलाई खासै चासो दिएनौँ । कोरोना भाइरसबारे यति ठुलो हाउगुजी होला भन्ने अनुमान लगाउन सकेनौँ । हाउगुजीको अर्थ सचेतनामा चासो नराखेको भन्नु पर्दछ ।

kusum keshab parajuli, कुसुम केशव पराजुली
लेखक

केही महिनापछि जब कोरोना संक्रमणले विश्वबजार हडप्न थाल्यो, खासगरी युरोप, अमेरिकामा अत्यधिक संक्रमण भयो, मानवजातिको सभ्यता नै रहने हो कि होइन भन्ने ढंगले मानिसहरुले अनुमान गर्न थाले । यसैगरी हजारौँको संख्यामा मान्छे मर्न थाले, अनि बल्ल हाम्रो सोचाइको ध्याम्पोमा घाम लाग्न थाल्यो । हामी बढी सचेत र आतंकित बन्यौँ । कसलाई के थाहा ? कोरोनाभन्दा बढी खतराजनक रोगबाट लाखौँ, करोडौँ मानिस मरेका इतिहास खोतलिन थाल्यो । डर, चिन्ता र सचेतनाका कारण नेपालमा पनि सरकारले लकडाउन सुरु भएको घोषणा गर्‍यो ।

गत २०७६ साल चैत्र महिनाको १० देखि आजका दिनसम्म अत्यन्त अनुशासित र इमान्दारितासँगै नेपालीहरुले आफ्ना घरभित्र समय गुजारे । हामीले पट्यारलाग्दो लकडाउन भए पनि अर्को विकल्प थिएन भनेर मान्दै आयौँ । घरगाउँमा जग्गा भएका, परिवार भएका सचेत नागरिकहरु पहिले नै गाँउमा पुगिसकेका थिए । सहरमा भएका श्रमिक, मजदुर र कोरोनाको समय रेखालाई हेलचेक्राइँ गर्नेहरु पनि लकडाउनको प्रवाह नगरिकन गाँउ फर्कन सुरु गरे । सुरु सुरुमा रोगको संक्रमण गाँउमा भन्दा बढी सहरमा हुनसक्ने र खाने कुराको अभाव हुने डरको कारण मानिसहरु सहर छाड्न लागेको भेटियो ।

यता कोरोनाको संक्रमण पहिलो पटक नेपालभित्रै देखापर्दा अब कस्तो अवस्था आउने हो भन्ने अनुमान सरकारले लगाउन सकेको देखिएन । त्यसमा पनि विपदका बेलामा हुने स्वास्थ्य संकट र यसमाथि हुन लागेको स्वास्थ्य सामग्रीको खरिद बिक्रीमा हुन सक्ने चलखेल, कमिसन र व्यापारले ठुलो हंगामा चल्यो । यसले राजनीतिमा समेत हलचल ल्यायो । सरकारको विरोध भएको आम नागरिकले चाल पाए सरह मैले पनि त्यही अनुभव गरेको हो । कोरोना र लकडाउनको पहिलो अनुभव यसरी भएकोमा केही सचेतना र केही खेदजनक समाचारहरु बाहिर आए । म लगायत प्रायः सबैजना आफ्नो घरमा बन्दी भएको अनुभूति जीवनमा पहिलो पटक गर्दै थियौँ ।

सरकारी कामकाज सन्तोषजनक नभएको, सरकारी तयारी कोरोना रोकथामको भावी योजनाभन्दा आफ्नै संस्थापन दल र बाहिरबाट आलोचना भइरहँदा कुर्सी थाम्न अनेकौँ चाल चाल्न बाध्य भएको प्रतित हुन्थ्यो । गुटगत राजनीतिमा धेरै चासो दिएर चित्त नबुझाउने मानिसहरु दिक्क भइसकेका थिए । सरकार, सरकारी दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतृत्वको गतिहीन चालाबाट जनता लाचार भएका थिए ।

कोरोना संक्रमण नेपालमा पनि फैलिन थाल्यो । चीन, भारत र अन्य मुलुकबाट नेपाल फर्किन चाहने नेपालीहरुको ओइरो लाग्न थाल्यो । उनीहरुको नेपालमा हुने व्यस्थापनमा सरकारले सक्दो ध्यान दिन सकेन । रोग भित्रिएला भन्ने डर सरकार र जनता दुवैमा थियो तर समस्या समाधान नगरी सुखै थिएन । सरकारलाई जनस्तर, प्रतिपक्ष र आफ्नै दलभित्रबाट समेत दवाव पर्न थाल्यो ।

अहिले कोरोना संक्रमणले हामीकहाँ पनि गति लिन थाल्यो । संक्रमण मात्रै होइन यो हरफ लेखिँदैगर्दा पहिलो, दोस्रो हुँदै पाँचौ संख्यामा नेपाली नागरिक कोरोना संक्रमणबाट मृत्यु भइरहँदा हाम्रो मन रोएको छ । संख्यामा सानो भए पनि हामीलाई कोरोनाले दीर्घकालीन असर पार्ने भएकोले हामी चिन्तित छौँ । त्यो चिन्ता जनस्तरबाट सोच्ने हो र हामी पनि नेपाली जनता हौँ भने तपशील बमोजिमका कथा र सचित्रलाई स्वीकार्नु पर्दछ कि ? लकडाउन र कोरोनाको कुरा गरिरहँदा हामीलाई देश दुखेको अनुभूति भयो । छिमेकी मुलुकको सरकारले देश दुखेको कुरा सम्झाइदिए । भारतीय रक्षामन्त्रीले उद्घाटन गरेको महाकालीवारिको सडक निर्माण र त्यस्को उद्घाटनले हामी सबैलाई जुरुक्कै उचाल्यो । सत्तापक्ष, प्रतिपक्ष र सबै तह र समुदायका नेपालीलाई एकजुट बनायो । आखिर सरकारले गुमेको भूभाग समेटेर नक्सा जारी गर्‍यो । नेपालीलाई कोरोनाको कहर बाबजुद केही खुसी छायो ।

तपाईँलाई मन पर्ला, नपर्ला; ल सुन्नु है त मेरो अुनभूति ? अब सुरु गरौँ त कोरोना र लकडाउन अनुभूतिको लघु स्मरण ? अनुभूतिका श्रृंखलाहरु तपशील बमोजिम रहेको व्यहोरा जानकारीका लागि अनुरोध गर्दछुः

१. धेरैले लकडाउनको सदुपयोग गर्दै धेरैले पुस्तक पढ्ने, गरे भने कसैले लेख्ने काम गरेर समय बिताउने गरे भन्ने कुरामा एकमत रह्यो ।

२. कोरोना र लकडाउनका कारण परिवार हुने जतिले घरमा बस्ने र परिवारलाई भरपुर समय दिने अवसर प्रदान गरेको कुरामा सर्वसम्मति जनाइयो भने त्यसको परिणाम धेरै सकरात्मक र थोरै नकरात्मक देखियो ।

३. यही मौका छोपेर सचेत मानिसहरुलाई आफ्नो खेतबारी वा कौशीमा तरकारी लगाउन, खेती गर्न सिकायो ।

४. बाँझो रहेको खेतबारी जोतखन हुन थाल्यो । उत्पादन बढ्ने संभावना बढ्यो । आम्दानीका लागि नगदेबाली र व्यावसायिक खेतीको आरम्भ हने संभावना बढ्यो भन्ने कुरामा विमति रहेन ।

५. कोरोना रोग धनी गरिब, जातजाति, वर्ग समुदाय, पद-प्रतिष्ठा वा अन्य कुनै आधारमा भेदजन्य रहेन भन्ने कुरा पुष्टि गर्‍यो भन्ने सर्वमान्य कुरा पनि निकै प्रचार भयो ।

६. हामीले आफ्नो आनीबानी, आहार विहार र समग्र जीवनशैलीमा व्यापक सुधार गर्नुपर्दो रहेछ भन्ने पाठ सिकायो । उठ्ने, सुत्ने, खाने, हिँड्ने प्राकृतिक नियमलाई अबलम्बन गर्दा फाइदा पुग्ने कुरा स्मरण गरायो ।

७. हाम्रो बोली-भाषा र दैनिक जीवनसँगका आचरणलाई परिमार्जन गर्नुपर्ने रहेछ, त्यस्को साटो बोलीमा प्रेमभाव, व्यवहारमा सहयोगी हुनु पर्दछ भनेर महिनौँ पैदल हिँडेर घर हिँडेका, महाकालीमा डुबुल्की मार्दै आएका मजदुर, सहरमा पेट पाल्न मुस्किल परेका विपन्न परिवारलाई प्रदान गर्नु परेको राहत कार्यक्रमले सिकायो ।

८. योगा, प्राणायम, प्राकृतिक उपचारबाट पनि रोग प्रतिरोधात्मक क्षमता बढ्दो रहेछ भनेर अनुभूत गरायो । यसको प्रयोग पश्चिमा जगतले जोडतोडले गरिरहेको तर पूर्वीय सभ्यताका हिमायती हामीकहाँ यसको महत्त्व थाहै नभए जस्तो गरिएको छ ।

९. पूर्वीय सभ्यताका संस्कार, संस्कृतिले साथै औषधिजन्य खाद्य पदार्थले रोग प्रतिरोध गर्न सक्दो रहेछ भन्ने सावित गरायो तर राज्य र समाजले त्यस्ता महत्त्वपूर्ण विषयवस्तु उपर अनुसन्धान, प्रयोगतिर वास्ता नगरे जस्तो लाग्यो ।

१०. सुरुका दिनमा अत्यास लागे पनि विद्यालय जान वञ्चित भएका बालबालिकाहरुले अनलाइन शिक्षा पाउने संभावना भयो तर अपर्याप्त पूर्वाधार र ज्ञानका कारण त्यो संभावना तुहिएको महशुस भयो ।

११. एसइई परीक्षा गर्ने, नगर्ने विवाद कायम रहँदा परीक्षा नहुने र त्यसप्रकारको परीक्षा यसपटक विद्यालयलाई मूल्यांकन गर्न दिने नदिने कुरामा बढी अल्झियो ।

१२. यसैबिच घरपरिवार बाहिर निस्कन नपाएका कारण महिलाहरु धेरैजसो गर्भवती हुने समाजिक सञ्जालमा प्रचार गरियो ।

१३. सामाजिक रीति रिवाज र प्रचलनमा सुधार गर्नुपर्ने, विवाह, ब्रतबन्ध र मृत्यु संस्कार लगायतका सामाजिक कार्यमा सांस्कृतिक सरलता र आर्थिक मितव्ययिता अपनाउनु पर्ने कुरा सिकायो ।

१४. घरभित्र बसिराख्नुपर्ने बाध्यताले मानसिक थकान, तनाव र दिक्दारीले मनोरोगीको संख्या बढायो । मानसिक विकृतिको परिणामले झैँझगडा र हत्या, आत्महत्याका नयाँ घटना घटे ।

१५. छोराछोरी घरमा बस्न बाध्य परेका कारण धेरै समय टिभि, मोबाइलमा बिताउन थाले । उनीहरुले ती श्रव्यदृश्यमा राम्रा कुरा मात्रै सिकेनन्, नराम्रा र कुलतको कुरा बढी सिक्ने अवसर पाए ।

१६. स्वस्थ्य रहन एक पटक पार्कमा टहल्न जरुरी थियो । अनि स्वास्थ्य सुरक्षाको नियम पालना गर्दै फरक दुरीमा हिँडडुल गर्न सहरमा प्रशस्त ठाउँ नभएको अनुभूति सहरबासीले पहिलो पटक गरे ।

१७. वैदेशिक रोजगारीमा गएका लाखौँ युवाहरु स्वदेशमा फर्कने योजना बनाए । यता उनीहरुबाट हुनसक्ने कोरोना संक्रमण, रोकथाम र रोजगारीको व्यवस्थापन सररकारले गर्नुपर्ने बाध्यता आयो । सरकार धिमा गतिमा व्यवस्थापन गर्दैछ । रोगको संक्रमण केही तेज गतिमा बढ्न खोजेको देखिन्छ । सरकार बाहेक समुदायले त्यस्तो समस्या कसरी समाभान गर्ने भन्नेबारे कुनै चासो देखिएन वा त्यसबारे सरकारी नीति तथा कार्यक्रम मौन रहेको छ ।

१८. भोकमरी, रोजगारी र स्वास्थ्य सुरक्षाका अतिरिक्त खस्किँदो शिक्षाको परिणतिले आम नागरिकलाई पनि सताउन थाल्यो । विद्यालयहरु बन्द भए । सरकारी विद्यालयमा त नपढाएको समयको शुल्क लिन नसकिने होला । नीजि स्वामित्वका विद्यालयहरुले के गर्लान् ? भन्ने ठोस उत्तर आएको छैन । शिक्षमा हुने व्यापारीकरणमा सरकारले न्यूनीकरण गर्ने उपयुक्त समय यही थियो तर सरकारी नीति तथा कार्यक्रममा ठोस प्रस्ताव आएको देखिएन ।

१९. सबै प्रकारका उद्योग कलकारखाना, व्यापार र परियोजनाहरु ठप्प हुँदा आर्थिक व्ययभार बढ्ने र विकराल समस्या उत्पन्न भई अभाव, गरिबी, महङ्गाई बढ्दा लुटपाट, डकैति र विद्रोहको समस्या देखापर्न सक्ने भयो । विश्वव्यापी लकडाउन नहुँदो हो त मनोगत रुपमा अहिलेसम्म विद्रोहको सुरुवात भइसकेको हुने थियो ।

२०. कोभिड-१९ नामाकरण गरिएको यो संक्रमण विश्व राज्यव्यवस्थालाई धक्का दिँदै जबर्जस्ती सुधारका संभावना देखा परेका छन् भन्ने गरियो तर यस्तै कमजोर परिस्थितिलाई दलाल नोकरशाहीले राष्ट्रिय रुपमा स्वास्थ्य सामग्री खरिदमा ठुलो कमिसन र विश्व पुँजीवादको एउटा हिस्साले सामग्री बेचेर कमाउने अर्को माध्यम बनाएको बुझियो ।

२१. रोगले पीडित आम नागरिकको व्यवस्थापन गर्न नजानेका शासक वर्गले आफ्ना कमजोरी लुकाउन अरुलाई दोष थोपर्न थाले । अमेरिकी सरकार प्रमुखको चिनियाँ सरकारसँग बारम्बर वाकयुद्ध छेड्नुलाई यस्तै उदाहरण बनाइयो । यो अनावश्यक फोहरी राजनीतिसँग विश्व मानव समुदायको खासै चासो थिएन ।

२२. कोभिड-१९ को भ्याक्सिनबेगर यसको उपचार सम्भव छैन भनेर प्रचार गरियो र स्वास्थ्य सेवालाई अघोषित उत्पादन, अनुसन्धान र वितरण प्रणालीको व्यापार बनाउने आर्थिक राजनीति केही धनाढ्य मुलुकहरुमा थालिएको छ । हतियार उत्पादन र विक्री वितरण गर्ने मुलुकहरुले अब कोरोना भाइरसको भ्याक्सिन प्रमाणित गरेर विश्व बजारमा बेचे भने कुनै नौलो कुरा हुने छैन ।

२३. दलाल नोकरशाही वर्गको सरकारले आफ्नो देशमा उपलब्ध हुनसक्ने जडिबुटीको प्रयोग, सरल उपचार पद्धति, प्राकृतिक जीवन शैली, त्यसै अनुकूलको शिक्षा, प्रशिक्षण, तालिमलाई कम महत्त्व दिएको बजेट भाषणबाट देखियो । पश्चिमा पुँजीवादी देशबाट शिक्षा लिएर राज्य सञ्चालनमा त्यस्तै अभ्यास गर्दै आएका नेपालका दलाल नोकरशाही वर्गबाट समाजवाद उन्मुख राज्य व्यवस्थाको आशा गर्नु नालायकी तर्क हुनेछ भन्ने प्रमाणित हुँदै छ ।

अनुभूति थुप्रै छन् । संक्षिप्तमा व्यक्त गर्न सकिँदैन । कोरोनाको कहर र लकडाउनका मनोसामाजिक असर बाँकी नै छन् । तिनले पार्ने दीर्घकालीन असर व्यक्तिका जीवन, परिवार, समाज र समग्र मुलुकलाई गाँजेको हुनेछ । मानसिक, सामाजिक, आर्थिक, सांगठनिक र राजनीतिक हिसाबले हामीमाथि फट्याइँ गर्दै चलाखी शब्दबाट सम्झाउन बुझाउन कोशिस ता होला तर तथ्य, सत्य अर्कै हुनेछ । परिवर्तनका लागि सचेत नीति, संगठन निर्माण र कार्यक्रमहरुले मात्रै तिनको भावी समाधान दिनेछ भन्ने कुरामा विश्वास गरौँ । गौरवपूर्ण अभिवादन त्यतिबेला मात्रै हुनेछ ।

(लेखक प्रेस स्वतन्त्रता सेनानी तथा बामपन्थी सामाजिक अभियन्ता हुनुहुन्छ ।)