सहिद क. भरत ढुंगाना
 

वीर योद्धाहरू हाँसी हाँसी मृत्युवरण गर्दछन्, तर कायर बनेर दुस्मनका सामु घुँडा टेकी आत्मदान माग्दैनन् । यो कुरा वास्तवमै शाश्वत् सत्य रहेछ । बुर्जुवा पद, प्रतिष्ठा तथा पैसाको कुनै लोभ नगरी सर्वहारा वर्गका जनताको मुक्तिको खाँतिर एमाले नामको संशोधनवादी फोहोरको डङ्गुरबाट विद्रोह गरी महान् जनयुद्धको बाटोमा लामबद्ध हुनु भएका नुवाकोट जिल्लाका अत्यन्तै स्थापित एवम् लोकप्रिय नेता तथा तत्कालीन नेकपा (माओवादी) का उपक्षेत्रीय ब्युरो सदस्य, अखिल नेपाल किसान सङ्घ (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा संयुक्त क्रान्तिकारी जनपरिषद्का उपक्षेत्रीय ब्युरो सदस्य क. भरत प्रसाद ढुङ्गाना (जङ्गवीर) लाई २०६१ आषाढ ३१ गते शाही आतङ्ककारी जत्थाले यातनापश्चात् अत्यन्तै अमानवीय ढङ्गबाट हत्या गरेको थियो ।

क. कविता ढुंगाना
लेखिका

मानिसहरू जन्मन्छन् र मर्छन् । यो मानव जीवनको सार्वभौम नियम हो । क. माओले भनेझैं “सबै मानिसले एक दिन न एक दिन त मर्नैपर्छ, तर मृत्युको महत्त्व फरक–फरक हुनसक्छ । (संकलित रचना भाग ३, पृष्ठ १३५) । सामान्य मानिसको मृत्यु र मृत्युलाई पर्वाह नगरी क्रान्तिको समरमा होमिएका योद्धाहरूको मृत्युमा साच्चिँकै फरक हुँदो रहेछ । तर त्यस्ता योद्धाहरू आफ्नै आफन्त भइदिँदा, त्यसमा पनि आफ्नै परिवारजन भइदिँदा भने मृत्युलगत्तै भोगेका पीडाभन्दा त्यसलाई पछि शब्दमा अभिव्यक्त गर्दा कैयौं गुणा बढी भावुकता र पीडाको महसुस हुँदो रहेछ । तर महान् सहिदहरूका परिवारजन हुन पाउँदा, उहाँहरूले देखाएको बाटोमा निरन्तर लागिरहने र उहाँहरूको मृत्युको मूल्य चुकाएर छोड्ने प्रतिबद्धता गरिरहँदा गौरवको महसुस हुँदो रहेछ । सायद सबै सहिद परिवारहरूको अनुभूति यस्तै हुनुपर्छ ।

कुरा २०६१ असार ३१ गतेको हो । देशमा महान् जनयुद्ध आफ्नै रफ्तारमा उचाइ लिँदै थियो । सारा शोषित–पीडित जनता र सर्वहारा वर्गले मुक्तिको बाटो ठानेको महान् जनयुद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्को बहसको विषय बनिरहेको थियो । मुक्तियोद्धाहरू युद्धको महासागरमा टाउकोमा कफन बाँधेर पौडिरहेका थिए । ठिक त्यतिबेला देशमा काङ्ग्रेस नेता शेरबहादुर देउवा प्रधानमन्त्री थिए । तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट असक्षमताको आरोपमा कुर्चीबाट गलहत्याइएका शेरबहादुर देउवा पुनः राजाकै सुनपानीले चोख्याएर पुरानै कुर्चीमा फर्काइएका थिए । त्यसैलाई ‘प्रतिगमन आधा सच्चिएको’ भन्दै जनताको साथ छोडेर देउवाको लबेदाको फेरो समाउँदै राजाको टीका लगाएर एमालेका ‘कामरेडहरू’ पनि मन्त्री बन्न पुगेका थिए । विदेशबाट जनताको नाउँमा ‘भीख’ मागेर रकम ल्याउनु र स्वदेशमा जनतालाई अन्यायपूर्वक मार्नु त्यतिबेलाको सरकारको सामान्य दैनिकी थियो ।

सहिद क. भरत ढुङ्गाना नुवाकोट जिल्लाको जिलिङ गाविस वडा नं. ४ को एक सामान्य किसान परिवारमा २०२२ साल माघ १९ गते जन्मिनु भएको थियो । सहिद ढुङ्गानाका पिता मोतिराम ढुङ्गाना एक अगुवा किसान हुनुहुन्थ्यो । राजनीतिमा प्रवेश गरेलगत्तै २०३६ सालमा अनेरास्ववियु नुवाकोटको जिल्ला सचिव भएर तत्कालीन वाम विद्यार्थी आन्दोलनको नेतृत्व गर्नुभएका ढुङ्गाना २०४२ सालमा तत्कालीन नेकपा (माले) मा सङ्गठित हुनुभएको थियो भने सोही पार्टीका तर्फबाट २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागी हुनुभएको थियो र सोही अभियोगमा जेलसमेत पर्नुभएको थियो ।

जनताको अगाध विश्वासका कारणले २०४९ सालको स्थानीय निर्वाचनमा काङ्ग्रेस र पूर्व पञ्चहरूलाई पछार्दै एमालेको तर्फबाट गाउँ विकास समितिको उपाध्यक्षमा निर्वाचित हुनुभएका ढुङ्गाना २०५४ सालको स्थानीय निर्वाचनमा नुवाकोटको जिल्ला विकास समितिको सभापति पदमा भारी मतान्तरले विजयी हुनुभएको थियो । त्यतिबेला उहाँ नेकपा (एमाले)को जिल्ला कमिटीको सचिबको रूपमा पार्टीको नेतृत्व गरिरहनु भएको थियो । तर एमालेभित्रका केही खुराफाती नेताहरूले उहाँभन्दा कनिष्ट व्यक्तिलाई सभापतिको टिकट दिने निर्णय गरेपछि उहाँमाथि पक्षपात भएको भन्दै हजारौँ कार्यकर्ताले षड्यन्त्रकारी नेताहरूको विरोध मात्र गरेनन्, अर्को व्यक्तिको उम्मेदवारीको मनोनयनपत्र समेत दर्ता गर्न दिएनन् । पछि बाध्य भएर उहाँलाई सभापतिको टिकट दिइएको थियो । यसबाट जनता र कार्यकर्ताका बिचमा व्याप्त उहाँको लोकप्रियताको आकलन गर्न सकिन्छ ।

तत्कालीन रूपमा एमाले विभाजन भएपछि बामदेव गौतमले नेतृत्व गरेको नेकपा (माले) मा लाग्नुभएका क. भरत ढुङ्गाना करिब ४ वर्ष नुवाकोट जिविसको सभापति भएर काम गर्नुभयो । जनवादी क्रान्तिको सपना देखेर वाम राजनितिमा होमिनुभएका ढुङ्गानालाई संसदवादी राजनीति मन परेन र उहाँ २०५८ सालको असोजको पहिलो साता जनयुद्धरत नेकपा (माओवादी) मा प्रवेश गर्नुभयो । नुवाकोटमा पहिलोपटक जनसरकार घोषणा गर्न आयोजित एक जनसभामा सभापति पदबाट राजीनामा दिएर उहाँले वाम राजनीतिको नयाँ र क्रान्तिकारी यात्रा सुरु गर्नुभयो । जिविस सभापति जस्तो पद छोडेर जनयुद्धमा लाग्ने उहाँ पहिलो व्यक्ति हुनुहुन्थ्यो ।

क. भरत डुङ्गाना र विद्यार्थी नेता क. वैकुण्ठ पोखरेल संविधान सभाको प्रचार अभियान लिएर धादिङ हुँदै गोरखातिर जाने क्रममा २०६१ साल असार ३१ गते धादिङको गुम्दी गाविस – ५ मा मनबहादुरको घरमा घाइते हुनुभएका क. सुवासलाई भेट्न जानुभएको रहेछ । त्यहीबेला तत्कालीन शाही सेना त्यहाँ आइपुगेछ र आँगनको अर्को पट्टि भएको गोठमा गोबर फालिरहेकी आमालाई हप्काउँदै सैनिकहरूले सोधेछन्– “ए बुुढी, सातदोबाटो जाने बाटो कता हो ?” । त्यति नै बेला क. भरत र क. बैकुण्ठले ‘को हो ?’ भनेर आँगनमा आएर हेर्नु भएछ । सेनाले उहाँहरूलाई देखेपछि “यिनीहरू मओवादीजस्ता छन् । ए ठोक् ठोक् सालेलाई” भन्दै लखेटेछन् । आँगनबाट एक कान्ला तल झर्ने बित्तिकै उहाँहरूलाई समातेछन् र हात पछाडि लगेर बाँध्दै उहाँहरूलाई नै बोकाएर लिएर हिँडेछन् ।

यसरी गिरफ्तार भएपश्चात उहाँहरूलाई चरम यातना दिइयो र माओवादी नेताहरू र पार्टीको बारेमा पोल खोल्न दबाब दिइयो । यातना दिँदै उहाँहरू दुवै जनाको दुईवटै आँखाहरू क्रूरतापूर्वक निकालेर फ्याँकियो । तत्कालीन शाही सेनाले नेपाली जनता र जनताका नेताहरूको हत्या गर्ने क्रूर र बभीत्स तरिकाबारे बुझ्न यो घटना पर्याप्त छ ।

शाही सेनाको मानवताविहीन जत्थाबाट निर्मम यातना दिँदै पटक–पटक “तँ त बाबुरामको मनपर्ने मान्छे होस् रे नि ? महरा कहाँ छ ? भन् ।” यस्तै प्रश्नहरू सोधिएको थियो । क. भरत ढुङ्गाना २०६० सालमा भएको सरकार–माओवादी वार्ताको समयमा नेकपा (माओवादी)का तत्कालीन वार्ता कार्यालयको सचिव हुनु भएकोले डा. बाबुराम भट्टराईको नेतृत्वमा खटेका पाँच माओवादी केन्द्रीय सदस्यहरूबारे जानकारी लिने उद्देश्यले त्यसरी स–यातना प्रश्न सोधिएको थियो ।

घटनाका प्रत्यक्षदर्शी स्थानीय जनसमुदायका अनुसार पहिला विद्यार्थी नेता क. वैकुण्ठ पोखरेल र २ घण्टापछि क. भरत ढुङ्गानाको हत्या गरिएको थियो । क. बैकुण्ठको शव देखाएर क. ढुङ्गानालाई धेरै पीडा र यातना दिनुको साथै आतङ्कित बनाउने प्रयास गरिएको थियो । आत्मसमर्पण गर्न आदेश दिइएको थिइयो । त्यति हँुदा पनि उहाँ गल्नु भएन । उहाँलाई पहिला पनि पाटन बस्दा बोरामा हालेर अपहरण गरेका, मानसिक यातना दिएका थुप्रै घटनाहरू उहाँको मानसपटलमा जीवितै थिए । त्यसैले उहाँ गल्ने कुरै थिएन ।

यति हुँदा पनि विचलित नभइसकेपछि उहाँलाई विविध प्रलोभन देखाउने प्रयास भयो । “हेर्नुस् ! तपाइँ त परिआए यो देशको मन्त्री हुने हैसियतको मान्छे । यस्तो आतङ्ककारी जमातमा लाग्न हुन्छ ? एकपटक माओवादी छोडेँ मात्र भन्नुस्, जीवनको ग्यारेन्टी हामी लिन्छौँ ।” यसरी सेनाको एक अफिसरले फकाएको कुरा सुन्ने स्थानीय प्रत्यक्षदर्शी श्याम गुरुङ बताउनु हुन्छ, “धेरै फकाए तर उहाँले मान्नुभएन ।” अन्ततः झुकाउन र फकाउन गरिएका सबै प्रयासहरू असफल भएपछि उहाँलाई कुटपिट गरेर अर्धबेहोस पारियो र हरियो सालको पातले छोपिएको अर्धमृत शरीरमा मट्टीतेल खनाएर आगो झोसियो । २१० जना सेना र प्रहरी सम्मिलित त्यो हत्यारो जत्थाको नेतृत्व तत्कालीन शाही सेनाका मेजर गणेश भण्डारीले गरेका थिए । यसरी आफ्नो लक्ष्य र उद्देश्यहरू बाँकी रहेका जीवित कमरेडहरूलाई मनमनै जिम्मा लगाएर आफ्नो रगतले यो धरतीलाई सिञ्चित गर्दै क. भरत ढुङ्गाना ‘जङ्गबीर’ सदाको निम्ति हामीबाट बिदा हुनुभयो ।

हामीले पहिले पनि बेला–बेलामा उहाँलाई अपहरण गरिएको समाचार सुन्ने गरेका थियौँ । त्यसपछि उहाँले हामीलाई पिर नगर्नू भनी खबर पठाउनुहुन्थ्यो र आफूलाई केही नहुने बताएर आश्वस्त पार्नुहुन्थ्यो । उहाँ हामीलाई पटक पटक यदि म जनताको काम गर्दागर्दै, क्रान्ति निष्कर्षमा नपुग्दै सहिद भएँ भने मेरै बाटो हिँडेर मेरो लक्ष्य, उद्देश्य पूरा गर्नू है भन्ने गर्नुहुन्थ्यो । उहाँले भन्नुहुन्थ्यो “यदि म सहिद भएँ भने मेरो कुनै काज–किरिया नगर्नू । जुन चीजको कुनै आवश्यकता छैन ।” हामीले पनि उहाँले भन्नुभए जस्तै कुनै काज–किरिया गरेनौँ । बरु उहाँको सपना पूरा गर्न निरन्तर अघि बढिरहेका छौँ ।

क. भरत ढुङ्गाना ‘जङ्गवीर’ मेरा आदरणीय पिता (बुवा) हुनुहुन्थ्यो । मेरो र मेरो परिवारको अभिभावक र संरक्षक मात्रै नभएर उहाँ मेरो गाउँ र नुवाकोटका जनताका एक आदर्श र प्यारा नेता हुनुहुन्थ्यो । किसान आन्दोलनका एक अगुवा हुनुहुन्थ्यो । हामी परिवारका सदस्यहरूले उहाँका हरेक लक्ष्य र उद्देश्यहरू अङ्गाल्ने र उहाँले देखाएको बाटोमा निरन्तर लागिरहने सङ्कल्प गरेका छौँ । चाहे दुस्मनहरू जतिसुकै बलिया किन नहोऊन्, उनीहरूका अगाडि हामी ढाल बनेर उभिने छौँ । यस धरतीमा बगेको क. जङ्गवीरको एक–एक थोपा रगतको मूल्य चुकाएर छोड्नेछौँ । त्यसको लागि आवश्यक पर्छ र पार्टीले आह्वान गर्छ भने हामी जस्तोसुकै बलिदान गर्न पनि तयार छौँ । हामी उहाँको बाटो र विचारहरूमा दृढ बनेर लागिरहने छौँ, लागिरहेकै छौँ ।

उहाँका लक्ष्य र उद्देश्यहरू सफलताको निकटतातिरै अगाडि बढिरहेका छन् । ती लक्ष्य र उद्देश्यहरूलाई सफल हुन नदिनका लागि देशी–विदेशी प्रतिक्रियावादीहरू लागि परेका छन् । माओवादी आन्दोलन र हाम्रै पार्टीका कतिपय कमरेडहरूले समेत कुरा बुझिरहेका छैनन् भने कतिले बुझेर पनि बुझ पचाएका छन् । मेरो बुवा र उहाँजस्तै वीर सपूतहरूको बलिदानको कारणले आज देशमा २४० वर्षदेखिको शाही राजतन्त्र ढलेको छ र नेपालमा गणतन्त्र आएको छ । संविधानसभाको निर्वाचन भएको छ, जसको पक्षमा जनमत सिर्जना गर्ने क्रममा नै उहाँको हत्या भएको थियो ।

पहिलो संविधानसभाले जनपक्षीय संविधान जारी गर्न नसके पनि थुप्रै जनपक्षीय एजेन्डाहरूलाई स्थापित गरी विघटन भएपश्चात् दोस्रो संविधानसभा निर्वाचन भएको छ । यसले सम्झौताको दस्तावेजका रूपमा नयाँ संविधान जारी गरेको छ । जनताका अधिकारहरूलाई संस्थागत गर्न र सहिदहरूले बोकेका लक्ष्य तथा उद्देश्यको दिशामा अगाडि बढ्नका लागि वैधानिक सङ्घर्ष अझै जोडतोडले चलिरहेको छ र चलिरहने छ । नयाँ संविधानमार्फत गणतन्त्र, धर्म निरपेक्षता, सङ्घीयता, समावेशीकरण र समानुपातिक प्रणाली संस्थागत हुन पुगेको छ । जनताका थुप्रै अधिकारहरू समेट्दै एउटा प्रगतिशील संविधान जारी भएको छ ।

आज पनि हाम्रो र हाम्रा महान् सहिदहरूको सपनाको नेतृत्व नेपाली क्रान्तिका महानायक, करौडौं नेपाली जनताका आशाका केन्द्रबिन्दु, सहिद परिवारका ढुकढुकी नेकपा (माओवादी केन्द्र) का श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डले गरिरहनु भएको छ । मेरो बुवा लगायत हजारौँ सहिदहरूका लक्ष्य, उद्देश्य र सपनाहरूलाई पूरा गर्न उहाँ सफल हुनुहुनेछ भन्नेमा हामी आशावादी छौँ र त्यसका लागि हामी सबै सहिद परिवार मिलेर नेतृत्वलाई खबरदारी गरिरहनेछौँ ।

म र मजस्ता अधिकांश सहिद परिवारलाई आज पनि क. प्रचण्डको नेतृत्वमाथि विश्वास छ, भरोसा छ । उहाँ नै हाम्रो आशाको केन्द्र हुनुहुन्छ । नेपाली क्रान्ति उहाँकै नेतृत्वमा सम्भव छ । चाहे प्रतिक्रियावादीले स्विकारुन् वा नस्विकारुन्, तर यो सबै नेपाली जनताले स्विकारेको कुरा हो । संविधान निर्माण प्रक्रियामा उहाँको नेतृत्व जसरी स्थापित भयो, त्यसले पनि सोही कुरा पुष्टि गर्छ ।

उहाँको नेतृत्व क्षमताले विभाजित कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गर्दै दश वर्षे महान् जनयुद्ध सफल बनाउँदै हाम्रो पार्टी यो ठाउँसम्म आइपुगेको हो । शान्ति प्रक्रियाका विभिन्न उकाली र ओरालीहरूलाई पार गर्दै पार्टी पुनः एकीकरण र ध्रुवीकरणको दिशामा अघि बढेको छ । दोस्रो संविधानसभाको निर्वाचनमा भएको अप्रत्याशित पराजयको बाबजुद पनि देशको राजनीति क. प्रचण्ड र माओवादी पार्टीकै वरिपरि घुमिरहेको छ । भर्खरै जारी भएको नयाँ संविधान पनि हामीले चाहे जस्तो क्रान्तिकारी नभए पनि उहाँकै अग्रसरताको कारणले अधिकतम् रूपमा प्रगतिशील छ र माओवादी छाप लागेको छ । गणतन्त्र संस्थागत भएको छ । धर्म निरपेक्षता, समानुपातिक र समावेशी लगायतका जनताका थुप्रै अधिकारहरू संस्थागत भएका छन् । एमाओवादीलाई फुटाउन र टुटाउन प्रयत्न गर्ने प्रतिक्रियावादीहरूको चाहनाका विपरीत सिङ्गो माओवादी आन्दोलन एकताको दिशामा अगाडि बढेको छ । हाम्रा विरुद्ध धारे हात लगाउनेहरूलाई उहाँले फेरि एक पटक चोटिलो जवाफ दिन सफल हुनुभएको छ ।

र अन्त्यमा, कमरेड प्रचण्ड ! तपाईं हाम्रो अभिभावक हुनुहुन्छ । तपाईं सिङ्गै पार्टी र देशको अभिभावक हुनुहुन्छ तर हामी सहिद परिवारका लागि विशेष अभिभावक हुनुहुन्छ । म एउटा सहिद परिवारको रूपमा राष्ट्रिय स्वाधीनता, नेपाली क्रान्ति र नेपाली जनताको पक्षमा यहाँको नेतृत्वमा भएको दश वर्षे महान् जनयुद्ध, १९ दिने जनआन्दोलनसहित आजसम्मका सम्पूर्ण वैधानिक र अवैधानिक, सशस्त्र र शान्तिपूर्ण तरिकाले गरिएका आन्दोलन, सङ्घर्ष र विद्रोहहरूप्रति उच्च सम्मान गर्दै राष्ट्र, जनता र सहिदका सपनाहरूमाथि हुनसक्ने धोका र षड्यन्त्रहरूप्रति सचेत रहँदै पार्टी र राष्ट्रको नेतृत्व गर्न आग्रह गर्दछु । म र मजस्ता सहिद परिवारहरू सधैँ तपाईंको साथमा छौँ । नेपाली क्रान्तिको पूर्णता नै क. भरत ढुङ्गानासहित सम्पूर्ण सहिदहरूप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । हामी यसैमा आशावादी छौँ ।

(लेखिका सहिद क. भरत ढुङ्गाना ‘जङ्गवीर’की छोरी हुन् । – सं.)