Kim Jong Un and Xi Jinping in Launcheon
 

मैले गएकाे अाइतबार (अप्रिल १ तारिखमा) भारतीय ABP News Channel मा राति १०: १५ मा प्रसारण भएकाे ‘किम-सी भेटवार्ता, भारतको विरुद्ध’ भन्ने कार्यक्रम पुरै हेरेँ । वास्तवमा मैले पहिले नै अनुमान गरेअनुसार यस कार्यक्रममा पेश गरिएका तथ्य र देखाइएका दृश्यहरु अत्यन्त आधारहीन, पुरै सतही र अति हल्का किसिमका थिए । यो कार्यक्रम हेर्ने जो कोहिले पनि सहजै के अनुमान गर्न सक्थ्यो भने यो कार्यक्रम ध्रुवीकृत मनाेविज्ञानबाट उत्प्रेरित थियो ।

Bashu Mishra
लेखक

पहिलो त कार्यक्रमको सुरुवाती वाक्य नै ‘धर्मलार्इ पुरै बन्देज लगाइएको देश उत्तर कोरिया’ भनेर अधर्मीहरुको भुमिको शासकको रुपमा अन्य मानिसहरु सामु किम जोङ्ग उनलार्इ विद्रूप रुपमा देखाउन पहिल्यै अनुमति मागेको जस्तो देखिन्थ्यो । सबैलार्इ थाहा भएकै बिषय के हो भने कम्युनिस्ट समाजमा धर्मलार्इ अफिमको रुपमा लिने गरिन्छ ।

दोश्रो, दुवै किम जोङ्ग उन र सि जिनपिङ्गलार्इ सम्बोधन गर्नुपर्दा हरेक पटक तानाशाह पहिले भनिएको थियो । कार्यक्रम प्रस्तोतालार्इ के थाहा नभए जस्तो लाग्थ्यो भने तानाशाहहरु निर्वाचनका मार्फत पनि सत्तासीन हुने गरेका छन् । प्रस्तोताद्वारा मानौं तानाशाहहरु उम्रने ठाउँ भनेकै समाजवादी व्यवस्था हो भन्ने चिन्तन श्रोता या दर्शकहरुलार्इ दिन खोजिएको थियो ।

तेश्रो, किमलार्इ अत्यन्तै डरलाग्दो तानाशाहको रुपमा देखाउन एउटा छेडछाड गरिएकाे (Doctored Video) को सहारा लिँदै उनले आफ्नै फुपाज्यु लगायत ५ जनालार्इ नरभक्षी कुकुरहरु रहेको पिँजडामा नाङ्गै धकेलेको दृश्य समेत देखाइएको थियो । यो भिडियोको प्रामाणिकता अहिलेसम्म भएकाे छैन । यो पश्चिमी मुलुकहरुद्वारा किमलार्इ दानवीकरण गर्न अघि सारिएको Doctored Video मात्रै हो । नत्रभने यदि किम साँच्चिकै क्रुर व्यक्ति हुन् भने त्यस्तो भिडियो खिच्ने दुस्साहस कसले गर्न सक्थ्यो होला र ? कुष्ट रोग लागेको मान्छेलार्इ त आफ्नो ज्यानको माया हुन्छ भने त्यस्तो भिडियो खिच्ने र सार्बजनिक गर्नेलार्इ उसको शरीरको माया नलाग्ला र ? सामान्य स्वस्थ दिमागको मान्छेले यो नक्कली भिडियो हो भनेर सजिलै छुट्याउन सक्छ ।

चौथो, किमलार्इ दानवीकरण गर्न र उनलार्इ पाषाण हृदय भएको देखाउन बलिवुड सिनेमाका तीन दुर्दान्त खलनायकहरु (मोगाम्बाे, साकिला र गब्बर सिंह) को कूल योगफल भन्दा पनि बढी निर्दयी भएको भनिएको छ रिपोर्टमा । आफ्नो देशसँग राजकीयस्तरमा दौत्य सम्बन्ध भएको देशको प्रमुखलार्इ यस स्तरमा झरेर देशको राष्ट्रिय टेलिभिजनमा रिपोर्टिंग गर्ने चलन संसारमा कतै देखिँदैन । दुर्इ आपसी युद्धरत देशमा समेत यस्तो क्रियाकलाप भएको पाइँदैन । अरु त अरु अहिलेको विश्व राजनीतिमा रुसी राष्ट्रपति पुटिनलार्इ पश्चिमी साम्राज्यवादी शक्तिहरुले पनि यति तल गिरेर व्यक्तिगत तवरमा राक्षसीकरण गरेको भेटिदैन ।

पाँचौ तथा सबै भन्दा महत्त्वपूर्ण कुरा, शिर्षकअनुसार तथ्य र प्रमाण कहीँ कतै प्रस्तुत गरिएको देखिँदैन । शिर्षकअनुसार किम र सिबिचको भेटघाट भारतका लागि कसरी खतरा हुन पुग्यो भनेर बडो कौतुहलतापूर्वक मैले अन्तिम समयसम्म कुनै हलचल नगरी कार्यक्रम हेर्दा कुनै ठोस प्रमाणसहितको तथ्य प्रस्तुत भएको पाइएन ।

एक ठाउँमा पाकिस्तानको भने जिकिर भएको थियो । उत्तर कोरियाले पाकिस्तानलार्इ परमाणु बम बनाउन सहयोग गरेको आरोप रिपोर्टमा लगाइएको थियो । दुवै देश चीनको अति घनिष्ट मित्र देशहरु रहेकोले चीनले उत्तर कोरिया मार्फत पाकिस्तानलार्इ अणुबम बनाउन मद्दत गरेको कुरा अगाडि ल्याएर आफ्नो मनको डर र त्रासलार्इ उजागर गर्ने काम प्रस्तोताबाट भएको थियो । वास्तवमा सत्य बरू के हो भने उत्तर कोरिया भन्दा पहिल्यै पाकिस्तानले आणविक हतियार बनाएको हो । आणविक प्रविधि पाकिस्तानी वैज्ञानिक अब्दुल कादिर खानले उत्तर कोरियालार्इ दिएको भन्ने समाचार बाहिर आएपछि ती वैज्ञानिक पाकिस्तानमा सन् २००२ मा घरमा नजरबन्द गरिएका थिए ।

तसर्थ कोरियाको चीनसँगको सम्बन्ध पाकिस्तान र भारतबिचको दरारमा अवश्यै पर्न जानेछ भनेर भारतीयहरुको मनमा ढ्यांग्रो बजिसकेको आभाष हुन्छ । यस्तो उल्टो तर्क पेश गरेर भारतीयहरु आफ्नै कमजाेर मनस्थितिको उद्घाटन गरिरहेका छन् । उत्तर कोरिया संसारमा आफूलार्इ कसरी बान्छनीय बनाउन सकिन्छ भनेर आफ्नो नजिकको सहयोगी राष्ट्र चीनसँग छलफल विर्मश गर्दा ५ हजार कि. मि. टाढाको कहिँ कतै सिमाना नजोडिएको राष्ट्र भारतलार्इ टाउकाे दुःखार्इ हुनुपर्ने कुनै कारण देखिदैनथ्यो । तैपनि आफ्नो वर्गीय चरित्र र साम्राज्यवादीहरुको औजारको रुपमा भारतीय सञ्चार माध्यम प्रयोग हुँदै आएको याे दरिलो प्रमाण हो ।

याे पनि पढ्नुहाेस्ः   किम-सि शिखर वार्ता र भारतीय सञ्चार माध्यम – १

याे पनि पढ्नुहाेस्ः सि जिनपिङ-किम जाेङ उन शिखर वार्ताकाे एेतिहासिक सन्देश