Chinese President Xi Jinping
 

सञ्चार माध्यमका साथीहरुले चिनियाँ कम्युनिस्ट पार्टीको १८औं राष्ट्रिय महाधिवेसनको व्यापक सम्प्रेषण गरी चीनमा व्यक्त भएका अनेकौं भावनाहरुलाई विश्वसामु प्रस्तुत गर्नुभएको छ । महाधिवेसन सचिवालयको तर्फबाट म तपाईंहरुलाई हाम्रो हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।

हामीले भर्खरै चिनियाँ कम्युनिस्ट पार्टीको १८औं केन्द्रीय समितिको पहिलो पूर्ण बैठक सम्पन्न गरेका छौं तथा नयाँ केन्द्रीय नेतृत्वको चयन गरेका छौं । म केन्द्रीय समितिको महासचिवमा चुनिएको छु । नवनिर्वाचित नेतृत्वका सदस्यहरुको तर्फबाट पार्टीका अन्य सबै सदस्यहरुलाई हामीप्रति उहाँहरुको विश्वासका लागि धन्यवाद व्यक्त गर्दछु । विश्वासयोग्य बन्न एवं हाम्रो कार्यभार पूरा गर्न हामी दिलोज्यानले कार्यरत रहनेछौं ।

पार्टीका सदस्यहरुबाट प्राप्त विश्वास एवं चीनका सबै जातिका जनताहरुका महान् आकाङ्क्षाहरु दुवैबाट हामी प्रगाढ रुपमा उत्साहित भएका छौं र यो हाम्रो महत्त्वपूर्ण जिम्मेवारी हो भन्ने कुरा पनि हामीले गहन रुपमा बुझेका छौं ।

हामीले राष्ट्रका लागि यो महत्वपूर्ण जिम्मेवारी लिएका छौं । हाम्रो राष्ट्र विशाल छ । ५००० वर्षको विकासक्रममा चिनियाँ राष्ट्रले मानव सभ्यताको प्रगतिमा विशिष्ट योगदान पुर्‍याएको छ । आधुनिक समयको प्रादुर्भावपछि हाम्रो राष्ट्रले बयान गरिनसकिने दुखकष्टहरुबाट गुज्रनुका साथै ठूला सङ्कटहरुको सामना गरेको छ । चिनियाँ राष्ट्रको पुनरुत्थानका लागि उच्च आर्दशहरु पछ्याउँदै असङ्ख्य जनताहरु उठेका छन् तर तिनीहरुले प्रत्येक पटक असफलता खेप्नुपर्‍यो । सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनापछि यसले चिनियाँ जनताको अगुवाइ गर्दै ठूला बलिदानहरुका साथ सम्पूर्ण व्यवधानहरुका विरुद्ध अगाडि बढेको छ, साथै गरिब र पिछडिएको चीनलाई एक दिनानुदिन प्रगतिशील एवं सशक्त राष्ट्रको हैसियतमा रुपान्तरण गर्दै राष्ट्रिय पुनरुत्थानका लागि पूर्ण रुपमा एक नयाँ क्षितिज उजागर गरेको छ ।

समग्र पार्टी एवं चीनका सम्पूर्ण जाति जनताहरुलाई साथ लिएर तिनीहरुको अगुवाइ गर्नु, चिनियाँ राष्ट्रको पुनरुत्थानको लक्ष्य अगाडि बढाउनु र त्यसका लागि लगातार लागिरहनु हाम्रो दायित्व हो जसबाट चीन एक सशक्त राष्ट्रका रुपमा स्थापित हुन सकोस् र मानव जातिलाई एक नयाँ एवं बृहत् योगदान गर्न सकोस् ।

यस महत्त्वपूर्ण दायित्व भन्नु नै जनताप्रतिको जिम्मेवारी हो । हाम्रा जनता महान् छन् । चिनियाँ जनताले बहादुरी र बुद्धिमतापूर्ण तवरले परिश्रम गरेको लामो इतिहास छ, जसबाट एक सुन्दर राष्ट्र सिर्जित भएको छ र यहाँ सबै जातिका जनताहरु मेलमिलापको स्थितिमा रहेका छन् र एउटा विशाल र गतिशील संस्कृतिको विकास भएको छ । हाम्रा जनताका जीवनप्रति प्रगाढ स्नेह छ । उनीहरु अझ राम्रो शिक्षा, अझ स्थिर रुपको रोजगारी, अरु बढी आम्दानी, भरपर्दो सामाजिक सुरक्षा, अझ राम्रो औषधोपचार र स्वास्थ्यको हेरचाह, उन्नत बसोबासको व्यवस्था र सुन्दर वातावरणको आकाङ्क्षा राख्दछन् । उनीहरु आफ्ना बालबच्चाका लागि स्वास्थ्य वृद्धि, राम्रो व्यवसाय र अझ बढी आनन्दमय जीवनको आशा राख्दछन् । जनताको सुखमय जीवनप्रतिको आकाङ्क्षा पूरा गर्न हाम्रो लक्ष्य हो । सुखी जीवन कडा मिहिनेतबाट मात्र प्राप्त हुन्छ । सम्पूर्ण पार्टी र सबै जातिका जनताहरुलाई आबद्ध गरी उनीहरुको सङ्कुचित विचारलाई मुक्त पार्दै सुधार र खुलापनलाई सञ्चालन गर्दै उत्पादन शक्तिहरुलाई झन् बढी बन्धनमुक्त र विकसित गर्दै जनताका कार्य एवं जीवनका समस्याहरु हल गर्दै दृढ सङ्कल्पका साथ साझा उन्नतिमा लागिपर्नु हाम्रो उत्तरदायित्व हो ।

यस महत्वपूर्ण जिम्मेवारी भन्नु नै पार्टीप्रतिको जिम्मेवारी हो । हाम्रो पार्टी दिलोज्यानले जनताको सेवा गर्ने राजनीतिक पार्टी हो । पार्टीले जनताको नेतृत्व गरी उल्लेखनीय उपलब्धि हासिल गरिसकेको छ, जसप्रति हामी प्रत्येक दृष्टिबाट गौरव अनुभव गर्न सक्छौं । तर हामी कहिले पनि धेरै आत्मसन्तुष्ट भई विगतका उपलब्धिमै रमाइरहने छैनौ । नयाँ परिस्थितिमा हाम्रो पार्टीले धेरै गम्भीर हाँकहरु एवं पेचिला विषयहरु पार्टीभित्र भोग्नेपरेको छ, विशेषतः भ्रष्टाचार जनस्तरबाट टाढिँदै जाने अवस्था, औपचारिकता र कर्मचारीतन्त्रका विधिमा मात्र सन्तुष्ट रहने केही पार्टी पदाधिकारीमा रहेका यस्ता प्रवृतिको सम्बोधन गर्नुपर्न आवश्यकता छ ।

यस्ता समस्याहरुको समाधानका लागि हामीले हरेक प्रयासहरु गर्नुपर्दछ । सम्पूर्ण पार्टी पूर्ण सतर्कतामा रहनुपर्दछ । “असल वस्तु बनाउन फलाम पनि असल चाहिन्छ ।” हाम्रो उत्तरदायित्व के हो भने सबै पार्टी सदस्यहरुको सहभागितामा यो सिद्धान्त अवलम्बन गरिनुपर्दछ र पार्टीले आफ्नो व्यवहारको आफैं सुपरिवेक्षण गर्नुपर्दछ । दरिलो अनुशासनमा परिचालन गरी पार्टीभित्रका प्रमुख समस्याहरु प्रभावकारी रुपले समाधान गर्नुपर्दछ । आफ्नो कार्यशैलीमा सुधार ल्याउनुपर्दछ र जनतासँग निकट सम्बन्ध कायम गर्नुपर्दछ । यसो गरेमा हाम्रो पार्टी चिनियाँ विशेषताहरुसहितको समाजवादलाई अगाडि बढाउने नेतृत्वको केन्द्रमा अवश्य नै कायम रहने छ ।

जनता इतिहासका सिर्जनाकार हुन् । उनीहरु नै सच्चा नायक हुन् र हाम्रो शक्तिका स्रोत हुन् । हामी के कुरामा पूर्ण रुपले सजग छौं भने कुनै व्यक्तिको क्षमता सीमित हुन्छ तर जब हामी एउटा किल्ला स्वरुप आबद्ध हुन्छौं, हामीले समाधान गर्न नसक्ने समस्या नै हुँदैन । एक व्यक्ति सीमित समयको अवधिका लागि मात्र सक्षम रहन सक्छ तर सम्पूर्ण भावका साथ जनताको सेवा गर्नुको कुनै सीमा हुँदैन । हाम्रो दायित्व पहाडहरु भन्दा पनि गह्रौं छन् । हाम्रा कार्यहरु कठिन छन् र अगाडिका मार्गहरु लामा छन् । हामीले सदा नै जनताहरु के सोच्दछन् भन्ने कुरा मनमा लिनुपर्दछ र तिनीहरुको सुख र दुःखमा सहभागी बन्नुपर्दछ । जनताका भलाइका लागि एवं इतिहास र जनताको अपेक्षा अनुरुप उनीहरुको साथ लागेर परिश्रमपूर्वक कार्य गनुपर्दछ ।

चीनले बाँकी विश्वका बारेमा अझ बढी जानकारी प्राप्त गर्नु आवश्यक छ र बाह्य विश्वले पनि चीनबारे अझ बढी जान्नु आवश्यक छ । सञ्चार क्षेत्रका हाम्रा साथीहरु चीन र बाँकी विश्वका बिच आपसी समभदारी बढाउन लागि क्रियाशील रहनेछन् भन्ने कुरामा म आशा राख्दछु ।

(चिनियाँ कम्युनिस्ट पार्टीको १८ औँ केन्द्रीय समितिको राजनीतिक ब्युरोको स्यायी समितिका सदस्यहरुको नोभेम्बर १५, २०१२मा गरिएको पत्रकार सम्मेलनको वक्तव्यको सम्पादित अंश – सम्पादक)