Comrade Mao Zedong, Maotsetung, Chairman of the Communist Party of China (CPR)
 

जोसुकैले पनि पार्टीको आमदिशालाई समर्थन गर्दछन् । पछिल्लो वर्ष प्रमुख राजनीतिक लक्ष्य आमदिशालाई परिभाषित गर्नु थियो । तर हामीले आशा गरेजति सम्भव भएन । यो हाम्रो कामको तरिकासम्बन्धी प्रश्न हो । यहाँ कामको तरिकासम्बन्धी सोह्र बुँदा दिइएको छ ।

१. समझदार बन, निर्णायक बन

हाम्रा केही कमरेडहरूमा बिल्कुलै सुझबुझ छैन र निर्णय पनि लिन सक्दैनन् । सुझबुझ हुनुको अर्थ हो कि, तपाईं मातहत, सचिव, कारखाना म्यानेजर, मजदुर तथा किसानका अलग अलग राय छन् र जो सुन्ने इच्छा राख्नुहोस् र खासगरीकन अलग विचार सुन्न तयार हुनुहोस् ।

२. केही सम्भावना देख

हामीले भावी कामको लागि सम्भावना देख्नुपर्छ । काममा केही लचिलोपनको सम्भावना देख्नु महत्त्वपूर्ण हुन्छ । कोमिन्ताङ्ग सेनाविरुद्ध कार्वाही गर्दा हामीले तिनीहरूलाई दमन गर्न उनीहरूभन्दा कैयौं गुना बढी सैनिकलाई एकत्रित गर्दथ्यौं । बिना तयारी हामी कुनै लडाईं लड्दैनथियौं । समाजवादी निर्माण र नियोजनका लागि पनि काममा हामीले सम्भावना देख्नु पर्दछ । हाम्रो काम हाम्रो योजनाभन्दा महत्त्वपूर्ण हुनुपर्दछ । हामीले यो सम्भावना देख्नुपर्छ कि जनसाधारणले योजनाभन्दा पनि अगाडि बढेर काम गरून् । यदि लक्ष्य निकै नै ठूलो छ भने त्यहाँसम्म पुग्न कठिन हुनेछ, त्यसलाई पार गर्नु त टाढैको कुरा हो । उत्पादन टिमको प्रमुखको अक्सर भनाइ के छ भने “१०,००० को लक्ष्य हाम्रो लागि ठूलो कुरा हैन, तर असफलताको एक सम्भावनालाई प्रतिवाद गर्न १०, ००० सित हामी डराउँछौ ” अतीतमा यो भनाइले काम गर्ने मजदुरहरूलाई काममा उत्साहित गर्न खराब असर गर्दथ्यो । यदि हामीले जानिबुझिकन जनसाधारणलाई उत्पादन लक्ष्य पार गर्न दिने हो भने तिनीहरू उत्साहित हुनेछन् र पहिलेभन्दा पनि बढी कठोर परिश्रम गर्नेछन् । यसको साथै हामीले उत्पादनप्रति पनि ध्यान केन्द्रित गर्नुपर्दछ किनकि कुनै पनि चीजप्रति ध्यान केन्द्रित भएन भने यसको अर्थ हुन्छ – त्यसप्रति कुनै पनि नीति नै छैन । यसरी नै साहित्य र कला कर्मको क्षेत्रमा पनि त्यही कुरा सत्य हो । कुनै पनि नाटक प्रदर्शनमा दर्शकहरूद्वारा सोचविचार, चर्चा गर्ने ठाउँ राखिदिनुपर्दछ । यदि नाटकको पहिलो अङ्क देखेपछि तपाइँलाई दोस्रो अङ्कमा के हुँदैछ भन्ने कुरा थाहा हुने हो भने प्रदर्शन असफल हुनेछ । यसै किसिमले वक्तालाई केही कुरा नभनिकनै छाडिदिनु पर्दछ ।

३. छालको गति सरह अघि बढ

१९५७ मा हामीले दुस्साहसवादको विरोध गर्यौं । परिणामतः प्रगतिको स्तर एकदम तल झर्यो र फेरि घोडाको काठीजस्तै माथि उठ्यो । त्यस वर्ष हामीले उत्पादन लक्ष्य तल झार्नु परेको थियो । काम छालको गतिमा अघि बढ्न आवश्यक छ । यस वर्ष पनि हामीले उत्पादन लक्ष्य थोरै तल झार्यौं । वृद्धिदर ४० प्रतिशत रहेको छ । यस वर्ष हामीले १ करोड ६५ लाख टन स्टीलको उत्पादन गर्न कटिबद्ध छौँ र हामीलाई विश्वास छ कि हामीले कोइलाको कोटा पनि पूरा गर्नेछौं । कृषिको लक्ष्यमा हामीले अन्न र कपासको उत्पादनमा बढी जोड दिनुपरेको छ । आगामी वर्ष, उत्पादनको आँकडा केही कम गर्नुपर्ने हुन सक्छ । १९६१ मा हामीले एउटा महान् अग्रगामी छलाङ्ग मार्न सक्दछौं । “समाजवादी निर्माणलाई प्रवाहको गतिमा अधि बढाउनु पर्दछ ।” “स्वर्ग रिसाएपछि मनुष्यको उमेर घट्दछ, जब पृथ्वीमा वसन्त आउँदछ, अनेकौं बरदान घर भित्रिन्छ ।” प्रत्येक दिन ज्वार आउन सक्दैन । म प्रवाहको गतिमा अघि बढ्ने कार्यको विरोधी हैन, तर म दुस्साहसवादको विरोधी हुँ ।

४. बढीभन्दा बढी प्रभावको लागि प्रयास गर

बढीभन्दा बढी प्रभावको लागि योजना बनाऊ । परिस्थितिमा परिवर्तन आएअनुसार योजनामा पनि परिवर्तन गर । यदि परिस्थितिमा परिवर्तन भयो भने परिस्थितिअनुसार मानिसको सोचाइमा पनि परिवर्तन हुनुपर्दछ । यदि त्यसो भएन भने ऊ निश्क्रिय अवस्थामा पुग्नेछ । मस्तिष्कलाई जीवावशेष बन्न नदेऊ । सामग्रीहरूको मात्रा र मानिसहरूको सङ्ख्या अनुसार योजनाहरूको निर्माण गर । मनोगत रुपले योजनाको निर्माण नगर ।

५. स्थितिको निरीक्षण गर्न कुशल बन

आफ्नो मस्तिष्कलाई जीवावशेष बन्न नदेऊ । राजनीतिक स्थितिको अड्कल गर्न, मानिसहरूको सोच्ने प्रवृत्तिलाई अनुसन्धान गर्न र आर्थिक स्थिति पत्ता लगाउन सक्षम बन । पे-ताई-हो सम्मेलनमा उच्च लक्ष्य राखिएको थियो । होपे र शानतुङ्गको यात्राको दौरानमा मैले त्यो व्यवहारिक देखिन । चिनियाँ कम्युनिस्ट पार्टीको छैठौँ सम्मेलनमा स्टील उत्पादनको लक्ष्य घटाएर दुई करोड टन गरिदियौं । सङ्घाई सम्मेलनमा यसलाई अझ न्यून गरिदियौं । यस किसिमले हामीले कदम-कदम उत्पादनलाई पूरा गर्न योग्य बन्यौँ ।

६. ठीक समयमा निर्णय गर

स्थितिको निरीक्षण गर्नाले नै तपाईं महत्त्वपूर्ण मौकामा निर्णय गर्न सक्नुहुनेछ । केही कमरेडले स्थितिलाई सम्पूर्ण रुपले बुझ्न सक्दैनन् । अन्य केही काम गर्ने बेलामा निर्णय त लिन सक्दछन्, तर सही किसिमले निर्णय लिन सक्दैनन् । हुलमुलपन र निर्णयविहिनता खराब कुरा हुन् । निर्णय दृढ़तापूर्वक लिन आवश्यक छ । कुनै पनि अवसर नगुमाऊ किनकि एकपटक समय गएपछि फेरि फर्केर आउँदैन । कम्युनको समस्याबाट यो निकै स्पष्ट हुन्छ ।

कम्युनको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने कुरा गत वर्ष स्पष्ट भएको थिएन । केही समयको अन्तरालमा २७ जनवरीलाई समस्याको विस्तृत रूपमा विचार गरियो । पछि मैले चओ जु-याङ्गको रिपोर्ट पढेँ, फेरि तिएनसिनमा ल्यू जे-हओ गएँ । शान्तुङ्गमा तान चि-लुङ्ग र लू हुङ्ग पिङ्ग कम्युनमा गएँ । मैले निम्नलिखित समस्याहरू देखेँ, कागजको एक टुक्रा, एक पाना, अलग विचार राख्नेको लागि एक टोपी, चाबीको एक गुच्छा, एक उद्घोषण र एक सिँढी । तब मैले टिमद्वारा स्वामित्व राखिएको व्यवस्थाको खोज गरेँ । पछिल्लो सम्मेलनले यस समस्याको समाधान गरिदियो । केही कमरेड आफूभन्दा माथिका साथीहरू र मातहतका साथीहरूसित निकै डराउँछन् । अबदेखि माथिल्लो र मातहतका बिचको स्तर समन्वयात्मक रूपले हल गर्न आवश्यक छ ।

७. विचारलाई व्यक्त हुन देऊ

विचारहरूलाई व्यक्त हुने मौका नदिने हो भने बैठकहरू कामकाजी हुँदैनन् । कुनै पनि विचार-विमर्शभन्दा पहिला त्यसको तयारीको लागि समय चाहिन्छ । केही बैठकहरूमा कुनै विषय हुँदैन । मैले न्यूनतम पनि सय पटक यो कुरा औँल्याए हुँला कि विचार अभिव्यक्त नहुनु गलत हो । कुनै पनि समस्यालाई ढाकछोप नगर । सही अर्थमा समस्या के हो भन्ने कुरा जनतालाई बुझ्नबाट नरोक । समस्या हल गर्नुभन्दा पहिला त्यो समस्याको बारेमा सम्पूर्ण रुपले बुझ्नुपर्दछ र त्यसमाथि चर्चा हुनुपर्दछ ।

८. गतिरोधलाई तोड

प्रत्येक रिपोर्टमा कुनै दृष्टिकोण हुनुपर्छ । कुनै समस्यालाई हल गर्न केही वैकल्पिक तरिका सोच । आफ्नो आधारभूत स्थिति, अलग(अलग दृष्टिकोण, समस्याको मूल बिन्दु र वास्तविक कार्य अवस्थाको बारेमा बताऊ । कुनै गतिरोध हुनु हुँदैन

९. यदि एकजना व्यक्ति पनि सत्यताको पक्षमा छ भने उसले बहुसङ्ख्यकलाई आफ्नो पक्षमा लिन सक्दछ ।

लेनिनले के भन्नुभएको छ भने हामीमा उल्टो प्रवाहको विरोध गर्ने, आफ्नो स्वतन्त्र दृष्टिकोण राख्ने र आफ्नो कुरा भन्ने साहस हुनुपर्दछ । हाम्रा केही कमरेड गलत परिणामसित डराउँछन् । तसर्थ हामीले सोचेर तथा साहसी कम्युनिस्ट बोल्ने चरित्रलाई प्रोत्साहित गर्नुपर्दछ । आफू खत्तम हुनसम्म नडराउने साहसी व्यक्तिले मात्र सम्राटलाई घोडाबाट ओराल्न सक्दछ ।

१०. समस्यालाई ऐतिहासिक दृष्टिकोणबाट हेर

कुनै पनि योजनालाई परिवर्तन गर्दा त्यो परिवर्तन ऐतिहासिक प्रक्रियाको मातहत हुनुपर्दछ । गत साल हामीले महान् अग्रगामी छलाङ्ग मार्यौं । यदि यो २० प्रतिशत भए यो महान् अग्रगामी छलाङ्ग हो । यदि यो ३० प्रतिशत भए यो निरन्तर जारी महान् अग्रगामी छलाङ्ग हो ।

११. बुझ्न सकिने शैलीमा लेख

अर्ध-साहित्यिक र अर्ध-बोलचाल वा अर्ध-शास्त्रीय र अर्ध-आधुनिक शैलीमा नलेख, बुझ्न सकिने शैलीमा जोड देऊ र स्पष्ट रुप अपनाऊ ।

तिब्बतमा विद्रोहको बारेमा न्यू चाइना न्यूज एजेन्सी रिपोर्टहरूमा घटनाहरूको स्पष्ट सिलसिला देखिन्छ । हामीले लेख्दा हाम्रो पार्टी र राष्ट्रको हितलाई ख्याल राख्नुपर्दछ ।

कुनै लेखहरूमा सम्झाउन सक्ने शक्ति हुँदैन । त्यसबाट लेखकहरूलाई आफ्नो कामको क्षेत्रको कुनै स्पष्ट बुझाइ छैन र उनीहरूले जनताको मनोविज्ञानको बारेमा न त जानेका छन्, न त बुझेका छन् भन्ने कुरा थाहा हुन्छ । ताङ्ग वंशका प्रसिद्ध लेखक हान यू गद्य लेखकको रूपमा परिचित छन् । होनानमा उनी स्यू-वू होनानमा रहन्थे । उनले के कुराको वकालत गर्दथे भने आफ्नो शिक्षकको विचार अपनाऊ, तर शिक्षकको शब्दमा हैन । उनी ढर्रा र परम्परा पालना गर्ने कुराको विरोधी थिए । उनले के कुरामा जोड दिए भने हरेकसित आफ्नो विशिष्टता र शैली हुन जरुरी छ र उसले त्यसको आलोचना या प्रशंसाप्रति ध्यान दिनु हुँदैन । समानान्तर निर्माणको बारेमा पान त्सुङ्ग-जुको लेखाई पढ्न कठिन छ । यस्तो लाग्दछ कि उनले जानीजानी आफ्नो लेखलाई पढ्न कठिन बनाएका छन् ।

१२. जिम्मेवार बन

आफ्नो हातमा अधिकार भए तपाईंले आदेश दिन सक्नुहुन्छ । साहसपूर्वक जिम्मेवारी पूरा गर, नेतृत्वको अनुसरण गर ।

१३. गलत चिन्तनबाट मुक्त होऊ

राक्षससित नडराऊ, लाज नमान, कायर नबन । साहसी र दृढ होऊ । हाम्रा केही कामरेडहरूको चरित्र कमजोर छ । उनीहरू गलत चिन्तनबाट मुक्त भएका छैनन् । उनीहरू दोष हटाउन डराउँछन् । कार्यकर्ताहरूमा सत्यतामा कायम रहने साहस हुनुपर्दछ र उनीहरूले सामन्ती कालको व्यवहारको अनुसरण गर्नु हुँदैन । तपाईं के कुरासित डराउनु हुन्छ ? अरु केही होइन यी ६ चीजसित डराउनु हुन्छ – पदबाट बर्खास्त, पदावनती (माथिल्लो पदबाट तल्लो पदमा झर्नु), पार्टीबाट निस्कासन, पत्नीसित छोडपत्र, हत्या र जेल जाने ।

१४. आलोचनाबारे

हामी सबै सही कामरेड हौँ । कामरेडहरूको बीचको आलोचनाको उद्देश्य सही किसिमले काम गर्ने र काम गर्ने कुशल तरिकाहरूको खोजी हो । आलोचना गर्दा पश्चात्ताप हुन्छ कि भनेर कहिल्यै पनि कल्पना गर्नु हुँदैन । आलोचना तथा आत्मालोचना मानिसहरूलाई शिक्षित गर्ने पार्टीको हतियार हो । हामीसित न त पूर्वजन्मको शिकायत छ, न त भविष्यमा नै हुनेछ । पीडा प्रगतिको लागि एक प्रेरक पक्ष हो ।

१५. सामूहिक नेतृत्त्व

पार्टी केन्द्रीय कमिटीको बैठक केन्द्रीय महत्त्वको विषय हो । यसका निर्णयहरूलाई जहाँतहीँ सबै ठाउँमा लागु गरिनुपर्दछ ।

१६. विभिन्न विभागहरू बिचमा सम्बन्ध

औद्योगिक विभागहरूसित सुदृढ सम्बन्ध कायम गरिनुपर्दछ । तीन राजकीय आयोगहरू (राजकीय योजना आयोग, राजकीय आर्थिक आयोग र राजकीय पूंजीगत निर्माण आयोग) र दुई मन्त्रालयहरू (धातु उद्योग मन्त्रालय र मेसिन निर्माणसम्बन्धी प्रथम मन्त्रालय) सित घनिष्ठ सम्बन्ध हुनुपर्छ ।

मे, १९५९

(साभार : माओत्सेतुङ, ‘कम्युनिष्ट जीवनशैली र कार्यपद्धतिबारे’, जनस्रष्टा प्रकाशन गृह )