Charu Majumdar, Leader of Naxalbari Movement, India
 

सन् १९६० को दशकमा छिमेकी देश भारतमा ऐतिहासिक सशस्त्र नक्सलबाडी संघर्ष सञ्चालन भएको थियो । कतिपय सन्दर्भमा किसान आन्दोलनको रूपमा मात्र लिइए पनि वास्तवमा त्यो संघर्ष भारतीय जनताको मुक्ति आन्दोलनका साथै विश्व कम्युनिस्ट आन्दोलनमा ऐतिहासिक महत्त्व बोकेको  संघर्ष थियो । नेपालमा त्यसबाट प्रभावित भएर झापा विद्रोह सुरू भएको थियो भने दश वर्षे महान जनयुद्धको प्रेरणाका स्रोतहरूमध्ये त्यो आन्दोलन पनि एक थियो । सो संघर्षको सुरुवात भएको ५३ वर्ष पुगेको छ । नक्सलवाडी आन्दोलनले एक वर्ष पूरा गरेको सन्दर्भमा सो आन्दोलनाका नेतृत्वकर्ता तथा भारतीय कम्युनिस्ट आन्दोलनका लाल नक्षेत्र क. चारु मजुमदारले लेख्नुभएको महत्त्वपूर्ण आलेख ‘नक्सलबाडी सङ्घर्षको एक वर्ष’ पुनः प्रकाशित गरिएको छ । यस लेखका लागि नयाँ शीर्षक हामीले दिएका हौँ – सं. ।

……………………………………….

नक्सलबाडी सङ्घर्षको एक वर्ष

नक्सलबाडी किसान संघर्ष आरम्भ भएको ठीक १ वर्ष भएको छ । यो संघर्ष अन्य सबै किसान संघर्षभन्दा फरक छ । कहाँ छ त भिन्नता ? किसानहरूले विभिन्न किसिमका अन्यायपूर्ण दमनका विरुद्ध संघर्ष गरेका छन् । यो पहिलो चोटि हो, किसानहरूले आफ्ना केही मागहरूका लागि मात्र नभएर सिङ्गो राज्यसत्ता प्राप्तिका लागि संघर्ष गरेका छन् ।

यदि हाम्रा लागि नक्सलबाडी किसान संघर्षको कुनै शिक्षा छ भने, यो हो : जुझारु संघर्ष जमिन, अन्नबाली आदिका लागि होइन, बरु सिङ्गो सत्ता प्राप्तिका लागि जारी राख्नुपर्छ । ठीक यही नै नक्सलबाडी संघर्षले प्रदान गरेको विशिष्ट पक्ष हो । विभिन्न क्षेत्रका किसानहरूले आफूलाई यसरी तयार पार्नुपर्छ, जसबाट उनीहरूको क्षेत्रमा सरकारी राज्यसंयन्त्रलाई प्रभावहीन बनाउन सकियोस् ।

भारतीय किसान संघर्षको इतिहासमा पहिलोपल्ट नक्सलबाडीमा यो बाटोलाई अवलम्बन गरिएको छ । अर्को शब्दमा क्रान्तिकारी युगले ढोका ढकढक्याएको छ र यो त्यस युगको पहिलो वर्ष हो । त्यसै अर्थमा विश्वभरिका क्रान्तिकारीहरूले हृदयदेखि नै नक्सलबाडी संघर्षको स्वागत गरिरहेका छन् ।

भारत साम्राज्यवाद र संशोधनवादको आधारभूमिमा परिणत भएको छ, र अहिले प्रतिक्रियावादी शक्तिहरू यसलाई आधारभूमि मानेर मुक्तिका लागि लडिरहेका जनताका विरुद्ध काम गरिरहेका छन् । त्यसैले नक्सलबाडी संघर्ष केवल राष्ट्रिय संघर्ष मात्र नभएर, यो अन्तर्राष्ट्रिय संघर्ष पनि हो ।

यो सङ्घर्ष कष्टकर छ र हामीले रोजेको बाटो सजिलो र सुविधाजनक बाटो होइन । क्रान्तिको बाटो कष्टकर छ, सुविधाजनक र सहज छैन, यसमा कठिनाइहरू, खतराहरू छन् र पछाडि फर्किनु पर्ने पनि हुन्छ । तर किसानहरू, जो नयाँ अन्तर्राष्ट्रियतावादबाट जाज्वल्यमान छन्, तिनीहरू यसको सामना गर्न तयार छन् र सम्झौता गर्न अस्वीकार गरेका छन् । उनीहरू आफ्नो संघर्षको बाटोमा निरन्तर अघि बढिरहेका छन् ।

एक वर्षको हाम्रो अनुभवले के देखाउँछ भने एउटा सानो क्षेत्रको सन्देश भारतको हरेक कुनामा फैलिएको छ । मुलुकमा भएका सबैजसो राजनीतिक पार्टीहरूले नक्सलबाडी संघर्षको विरोध गरेका छन्, र पनि मान्छेहरू यस संघर्षलाई बुझ्न थालेका छन् र संघर्षले कोरेको बाटोमा नक्सलबाडी संघर्षका वीर नेताहरू अझै जीवित छन् र सबै प्रयासका अतिरिक्त पनि प्रतिक्रियावादी सरकार तिनीहरूलाई समाप्त पार्न सक्षम हुनसकेको छैन ।

यसले अध्यक्ष माओका शब्दहरू कति सत्य रहेछन् भन्ने कुरा प्रस्ट हुन्छ : “सबै प्रतिक्रियावादीहरू कागजी बाघ हुन् । बाहिरबाट हेर्दा प्रतिक्रियावादीहरू भयंकर छन्, तर यथार्थमा तिनीहरू त्यस्तो शक्तिशाली छैनन् l”

अध्यक्षले (अध्यक्ष माओ – अनु.) भन्नुभएको छ : “उपनिवेशवाद, साम्राज्यवाद र शोषणका सबै व्यवस्थाको पूर्ण अन्त्य र विशवका सबै उत्पीडित जनता र राष्ट्रको पूर्ण मुक्ति त्यति टाढा छैन ।”

मुक्तिको त्यो चम्किलो प्रकाशपुञ्जलाई पछ्याउँदै अघि बढौँ !

लिवरेसन, जुन १९६८