काठमाडौं, प्रधानमन्त्री केपी ओलीले बारा र पर्सामा भीषण आँधी हुरीले पुर्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएकाे छ । आइतबार राती सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले दुःख व्यक्त गर्नुभएकाे हाे ।

आइतबार साँझ आएको भीषण आँधी हुरीमा परेर बारा र पर्सामा ३० जनाको मृत्यु भएको छ भने ४ सयजना भन्दा बढी घाइते भएका छन् । यो संख्या बढ्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्री ओलीले मृत्यवरण गर्नेहरुप्रति शोक व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गर्नुभएकाे छ।

उहाँले उद्धारमा सुरक्षाकर्मी परिचालन भैसकेको जनाउँदै सोमबार बिहानबाट उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा राखिएको जनाउनुभएकाे छ । उद्धारमा गम्भीर हुन र घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिन समेत प्रधानमन्त्रीले निर्देशन दिनुभएकाे छ।