Prime Minister KP Sharma Oli
 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुननिर्माणको गति र अनुगमन दुवैलाई प्रभावकारी बनाउनु पर्ने बताउनुभएको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण परामर्श परिषद्‍को बैठकलाई आज साँझ बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले पाँच बर्षका लागि गठन गरिएको प्राधिकरणलाई निर्धारित समयमा पुननिर्माणको काम सक्न हरतरहले प्रयत्न गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले पुननिर्माणलाई व्यावहारिक रुपमा अझ सहज बनाउन स्थानीय तहसँग समन्वय गर्न प्राधिकरणलाई निर्देशन दिनुभएको छ । “स्थानीय तहसँग प्रभावकारी ढङ्‍गले सहकार्य गरौँ । पुननिर्माणका लागि उनीहरुलाई पनि जिम्मेवार बनाऊँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसले कामको गतिलाई बढाउँछ ।”

परम्परागत र साँस्कृतिक सम्पदा निर्माणका क्रममा केही स्थानीय तहका जनप्रतिनिधीले अनावश्यक विवाद गर्नु उचित नभएको प्रधानमन्त्री ओलीको भनाइ छ । “यस्ता सम्पदा निर्माण गर्दा तिनको मौलिकतालाई कायम राखेर आधुनिक विधि प्रयोग गरेर निर्माण गरिन्छ”, प्रधनमन्त्री ओलीले भन्नुभयो, “पहिलाको जस्तै खोजेर सबै चिज पाँइदैन ।”