Prachanda on PMaoist Suprimo Comrade Prachanda on 23rd Peoples' War Dayeoples' War Day
 

काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले आज देश-विदेशमा विभिन्न कार्यक्रमहरु गरेर २३ औं जनयुद्ध दिवस मनाएको छ । पार्टीको सहायक संगठन युवा कम्युनिस्ट लिग (वाईसिएल) नेपालद्वारा पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, रामबहादुर थापा ‘बादल’सहित पम्फा भुसाल, सुनिल मानन्धर, मणि थापा, अमिक शेरचन, रामचन्द्र झा, मातृका यादव लगायतका नेताहरु र कार्यकर्ताहरुको व्यापक सहभागिता रहेको थियो ।

Cake on the Peoples' War dayसो अवसरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘२३ औं जनयुद्ध दिवस’ लिखित र जनमुक्ति सेनाको लोागो अंकित केक काटेका थिए भने वाइसियल अध्यक्ष दीपशीखाले अध्यक्ष प्रचण्डलाई केक खुवाइदिएका थिए ।

प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण गर्ने लक्ष्यका साथ नेकपा एमालेसँग आफ्नो पार्टीले एकता प्रक्रिया अगाडि बढाएको बताए । अध्यक्ष प्रचण्डले भने, “सामान्य शक्तिको भरमा समाजवादी क्रान्ति सम्पन्न हुन नसक्ने भएकाले ठूलो शक्ति जरुरी परेको छ । त्यसैका लागि हामी (एमाले र माओवादी केन्द्र) शक्तिशाली पार्टी निर्माणमा लागेका छौँ” ।

संविधानमा समाजवाद लेखेर र समाजवादको नारा लगाएर मात्रै समाजवादी क्रान्ति सम्पन्न हुन नसक्ने टिप्पणी गर्दै प्रचण्डले सबै प्रगतिशील, देशभक्त र वामपन्थी शक्तिबीचमा एकता र सहकार्य जरुरी रहेको बताए । देश र जनतालाई केन्द्रमा राखेर राजनीतिक नेतृत्वले समय समयमा जोखिम लिनै पर्छ भन्दै अध्यक्ष प्रचण्डले समाजवादी क्रान्तिका लागिसमेत आफू र आफ्नो पार्टीले पुनः जोखिम उठाएको उल्लेख गरे । लहड र सनकको भरमा क्रान्ति हुन नसक्ने भन्दै उनले जनताको चाहना र राष्ट्रिय आवश्यकताको ख्याल गर्नसमेत आग्रह गरे ।

आज भोलि नै एमालेसँगको पार्टी एकताको टुंगो लाग्ने स्पष्ट पार्दै आर्थिक समृद्धि र जनताको आर्थिकस्तर उकास्न पनि मिलेर जाने जनमत आफूहरुलाई प्राप्त भएको छ भन्दै अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा जनयुद्धको महत्वपूर्ण भूमिका रहेको कुरा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेतृत्वले पनि स्वीकार गरेको दाबी गरे ।

Mass at Perisdanda on Peoples' War day

कार्यक्रममा विभिन्न झाँकीहरु प्रस्तुत गरिनुका साथै माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले टीका आदानप्रदान गर्दै शुभकामना आदानप्रदानसमेत गरेका थिए ।

वाईसिएल नेपालले देशका विभिन्न महत्त्वपूर्ण दस वटा शहरहरुमा २३ औँ जनयुद्ध दिवसका कार्यक्रमहरु आयोजना गरेको थियो भने देशका ७७ वटै जिल्लामा जिल्ला पार्टी कमिटीहरु, जनवर्गीय संगठनहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरेका थिए भने विदेशमा जनप्रगतिशील मञ्चहरुले विभिन्न कार्यक्रमहरु गरी जनयुद्ध दिवस मनाएका छन् ।

२०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनयुद्धको घोषणा गरेको थियो । २०५२ साल फागुन १ गते रोल्पा, रुकुम, सिन्धुली लगायत मुलुकका विभिन्न भागहरुमा प्रहरीचौकीमा आक्रमण गरेर जनयुद्ध सुरु भएको घोषणा गरिएको थियो । सोही अवसरमा प्रत्येक वर्ष नेपालका माओवादी पार्टीहरुले विभिन्न कार्यक्रमहरु गरेर जनयुद्ध दिवस मनाउने गरेका छन् ।