प्रचण्ड र अाेलीकाे संयुक्त तस्वीर
 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी ओली बीचको निर्णायक भनिएको छलफल सकिएको छ ।

आइतबार बिहान १० बजेदेखि ललितपुरको मानभवनमा भएको भेटमा राष्ट्रिय सभामा बामपन्थीका उम्मेद्वारलाई जिताउने, नयाँ सरकार गठन र पार्टी एकता सम्बन्धमा गम्भीर छलफल भएको बताइएको छ ।

आजको अध्यक्षद्वय बीचको छलफल निकै सकरात्मक भएको, धेरै विषयमा मोटामोटी सहमति भएको र वाँकी विषयमा छलफल चलाउँदै एकतालाई निष्कर्षमा पुर्याउन पथ गृहकार्य गरेर अन्तिम निर्णयमा पुग्ने समहति भएको छलफलपछि एक नेताले जानकारी दिए ।

शुक्रबार साँझ ओली निवास बालकोटमा भएको गोप्य वार्तामा छ वटा प्रदेशको मुख्यमन्त्रीमा ओली र प्रचण्डबीच सहमति भएको बताइएको छ । प्रदेश सभामुख र अन्य महत्वपूृर्ण पदहरुमा पनि दुई नेताहरुबीच समझदारी भइसकेको उच्च स्रोतले बताएको छ ।

आजको भेटघाटमा सहमति भएका विषयहरु सार्वजनिक गरिएको छैन । यस अघिका बार्तामा सबै विषयमा समझदारी भइसकेको र त्यसलाई दुवै पार्टीमा आन्तरिक छलफल गर्ने तयारी रहेको बताइएको छ ।

दुबै पार्टीमा आन्तरिक छलफल पछि संयुक्त कार्यदलमा समझदारी भएका विषयलाई विस्तृत कार्ययोजना सहित खाका तयार पार्ने र पार्टी एकता संयोजन समितिबाट अन्तिम निर्णय गरिने जनाइएको छ ।

पार्टी एकताको विरुद्ध दुवै पार्टीमा आन्तरिक एवम् बाह्य चलखेलहरु भइरहेको र पार्टी एकता नै धरापमा पर्न लागेको आशंका गरिएको समयमा भएको यो भेटघाटलाई उच्च महत्त्वका साथ हेरिएको थियो । सो बैठकले समेत ठोस निर्णयहरु लिन नसकेपछि बाह्य आशंकाहरु केवल आशंका मात्रै नभएको र पार्टी एकताका लागि अझ धेरै दबाब र पहलकद्मीको आवश्यकता रहेको विश्लेषकहरुको भनाइ छ ।