Post Bahadur Bogati Smriti Krishi Mela Nuwakot Ranipauwa
 

काठमाडौँ, नुवाकोटको ककनी गाउँपालिकाको रानीपौवामा नेपाली कम्युनिस्ट आन्दोलनका आदरणीय नेता तथा अखिल नेपाल किसान संघ (२००७) का पूर्वअध्यक्ष क. पोष्टबहादुर बोगटी ‘दिवाकर’को स्मृतिमा कृषि प्रदर्शनीको आयोजना गरिने भएको छ ।

महान जनयुद्धको नेतृत्वकर्ताहरूमध्ये एक रहेका नुवाकोटका जनताका प्यारा नेता तथा पूर्वमन्त्री क. पोष्टबहादुर बोगटी ‘दिवाकर’को समृतिमा २०७६ जेठ ४ देखि ८ गतेसम्म रानीपौवामा कृषि प्रदर्शनी गर्न लागिएको हो ।

मेलाको तयारीमा खटिरहनुभएका नुवाकोटका प्रतिनिधिसभाका सांसद तथा क. दिवाकरका सहयोद्धा क. हितबहादुर तामाङले लेफ्ट रिभ्यु अनलाइनलँग कुरा गर्दै कृषि क्षेत्र पिछडिँदै गएकाले पूर्वमन्त्री तथा तत्कालिन माओवादीका लाेकप्रिय नेता क. पोष्टबहादुर बोगटीको नामबाट कृषि प्रदर्शनी गर्न लागिएको बताउनुभयाे ।

“नुवाकोटमा कृषि क्षेत्रको विकास गर्ने, जिल्लालाई व्यावसायिक कृषि र कृषि उद्योगको नमूना जिल्ला बनाउँदै  नुवाकोटका किसानहरूको जीवनमा समृद्धि ल्याउने उहाँको सपना जुन थियो, त्यसलाई पूरा गर्न हामीले सक्दो पहल गर्नुपर्छ ।”, नेता हितबहादुर तामाङले कुराकानीको क्रममा भावुक हुँदै भन्नुभयो, “नेपाली क्रान्ति र नुवाकोटका जनताका लागि अहोरात्र खट्दा खट्दै उहाँको निधन भएपनि हामी जीवित रहेका उहाँका सहयोद्धा तथा कार्यकर्ताहरूले उहाँको सपना पूरा गरेर नुवाकोटका  आम जनता र किसानहरूप्रतिको हाम्रो दायित्त्व पनि पूरा गर्न तल्लिन छौँ । यही नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हो ।”

आगामी जेठ पहिलो साता हुन गइरहेको कृषि प्रदर्शनी मेलामा जिल्लाका १२ वटा स्थानीय कृषि स्टलहरू रहने छन् । ती सबै नुवाकोटका १२ वटै स्थानीय तहका मात्र स्टल रहने कार्यक्रम रहेको प्रदेश सांसद हिरानाथ खतिवडाले जानकारी दिनुभयाे ।

कृषि प्रर्दशनीमा किसानहरूलाई प्रोत्साहित गर्नका लागि २ सय ४६ वटा विभिन्न विधाका पुरस्कारहरूको व्यवस्था गरिएको छ, जसका लागि ११ लाख रुपैयाँ रकम विनियोजन गरिएको छ भने कृषि प्रदर्शनीलाई भव्य, व्यवस्थित र ऐतिहासिक तरिकाले सम्पन्न गर्न १४ वटा मेला व्यवस्थापन समितिहरू गठन गरिएको छ ।

लामो समय किसान संगठनको जिम्मेवारीमा रहनुभएका सरल एवम् गम्भीर स्वभावका नेता क. पोष्टबहादुर बोगटी ‘दिवाकर’ २०५१ असारदेखि २०५३ साउनसम्म पार्टीले जिम्मेवारी स्थानान्तरण नगरेसम्म अखिल नेपाल किसान संघ (२००७) – हालको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) – का अध्यक्ष हुनुहुन्थ्यो । उहाँ २०६४ साल चैत्रमा भएको पहिलो संविधान सभाको निर्वाचनमा नुवाकोटबाट विजयी हुनुभएको थियो ।