Prakash Dahal
 

भाइ प्रकाश दाहाल मभन्दा तीन वर्षपछि २०३८ सालमा जन्मिएको हो । हाम्रो परिवारमा तीन जना दिदीबहिनी र एक जना भाइ थियौं । प्रकाश जन्मेपछि त्यो बेला सबै परिवारमा खुसीयाली छायो । त्योबेला बुवा चाहिँ घरमा हुनुहुन्थेन । बुवा म जन्मेकै वर्षदेखि भूमिगत हुनुभएको थियो । हाम्रो संयुक्त परिवार थियो । तर, प्रकाश जन्मेको ६-७ महिनापछि हामी छुट्टियौं ।

छुट्टिएपछि हजुरबुवा, हजुरआमासँग हामी अलग बस्न थाल्यौं । हाम्रो घरबाट त्यहाँ पुग्न केही मिनेट लाग्थ्यो । त्यो बेला छोरीछोरी मात्र भए भन्ने हजुरआमालाई चिन्ता थियो । प्रकाश जन्मेपछि हजुरआमा एकदमै खुसी हुनुभयो । भाइलाई असाध्यै माया गर्नुहुन्थ्यो हजुरआमा । भाइ पाँच वर्षको भएपछि हामी नारायणगढ आयौं ।

भाइ पाँच वर्षको थियो, अनि म चाहिँ ८ वर्ष । त्यो बेला हजुरआमाले भाइको जन्मदिन मनाइदिनुहुन्थ्यो । मैले गाउँमै शिशु र १ कक्षा पढें, भाइ चाहिँ नारायणगढको बालकुमारीमा शिशु कक्षामा भर्ना भयो । त्यसपछि म पनि भाइसँगै पढ्न थालें । स्कूल जाने बाटो एकदमै एकान्तजस्तो थियो, भाइ स्कूल जान मान्दैनथ्यो । अनि, मैले नै हात समातेर भाइलाई स्कूल लैजान्थे र बेलुका सँगै फर्कन्थ्यौं । हामी दिदीभाइ भन्दा पनि साथीजस्ता थियौं ।

Ganga Dahal, Daughter of Prachanda
लेखक

भाइले तीन कक्षा पास गरेपछि हामी काठमाडौं आयौं । त्यो बेला हामी सौगलमा कम्युनिष्ट नेता निरञ्जन गोविन्द वैद्यको घरमा बस्थ्यौं । त्यसपछि हामीले पाटनको श्री शान्ति माविमा पढ्यौं । काठमाडौंमा दिदीको बिहान पढाई हुन्थ्यो, हाम्रो चाहिँ दिउँसो । यसरी नै हाम्रो चार वर्ष बित्यो ।

सानोमा भाइ एकदमै जिज्ञासु थियो, नयाँ कुरा देख्यो कि जान्नैपर्ने, सिक्नैपर्ने उसको स्वाभाव थियो । प्रकाश सानोमा नयाँ कपडा किन्नै मान्दैनथ्यो । नयाँ लुगा लगाइदियो कि खोलेर फालिहाल्ने, त्यो चाहिँ अहिले पनि झल्झली याद आउँछ । मैले मनमनै सोच्थें, ‘‘हाम्रो भाइ कहिले ठूलो होला, अनि नयाँ कपडा लगाउन मान्ला ?’’ नयाँ लुगा लगाइदिने मेरो रहर अधूरै रहन्थ्यो त्यो बेला ।

भाइले कक्षा ७ सम्म काठमाडौंमा पढ्यो । यता पार्टीले जनयुद्धको घोषणा गरिसकेको थियो, अब हामी पनि काठमाडौंमा सुरक्षित रहनसक्ने अवस्था थिएन । वि.सं. २०५३ सालमा हामी पञ्जाव गयौं, त्यति बेला म १० कक्षामा पढ्दै थिएँ । भाइ जालन्धर (पञ्जाब) मा कक्षा ८ मा भर्ना भएर पढ्न थाल्यो, दिदी र मेरो चाहिँ त्यसपछि विवाह भयो । भाइले रेनु दिदीकोमा बसेर १२ कक्षा पास गर्‍यो ।

बुवा भूमिगत अवस्थामै हुनुहुन्थ्यो । त्यो बेला दीपेन्द्र काका (दण्डपाणि न्यौपाने) बुवाको स्टाफ हुनुहुन्थ्यो । उहाँले नै हामीलाई सिलगुढी लैजानुभयो । भाइ पञ्जाबको स्कूलमा भर्ना भयो र दिदीकोमा बसेर पढ्यो । हामी चाहिँ अलि ठूला भइसकेका थियौं । ‘यहाँ भाषा पनि मिल्दैन, छोरीहरुको बिहे गरिदिउँ’ भन्ने सल्लाह भयो । त्यो बेला पार्टीको निर्णय नै सर्वेसर्वा हुन्थ्यो, रेनु दिदी र मैले पनि सल्लाह गर्‍यौं । अनि, हामी बिहे गर्न मञ्जुर भयौं । त्यो बेला कहिलेकाहीँ बुवा, ममी आएर भाइ र हामीलाई भेट्नुहुन्थ्यो, निकै कष्टपूर्ण थियो त्यो जीवन ।

१२ कक्षा पास गरेपछि भाइ बुवाको स्टाफको रुपमा काम गर्न थाल्यो । बुवासँगै रुकुम, रोल्पा पुग्थ्यो र फर्कन्थ्यो । बुवाका डकुमेन्ट टाइप गर्ने, सुरक्षाको काम गर्ने, भेटघाटको काम गर्ने, ऊ सबै गर्थ्यो । त्यो बेला हाम्रो कहिलेकाहीँ मात्र सम्पर्क हुन्थ्यो । ज्ञानु दिदीले धेरैपटक भाइलाई चिठी पठाउनु हुन्थ्यो, हामी चाहिँ कहिलेकाहीँ मात्र फोनमा कुराकानी गर्‍यौं । त्यसपछि घनिष्ठ रहे पनि हामी भौतिक रुपमा धेरै समय नजिक हुन सकेनौं ।

शान्ति प्रक्रिया सुरु भएपछि पनि हामी धेरै समय इण्डिया नै बस्यौं । भाइ बुवासँगै थियो । २०६२ मा भूमिगत कालमै उसको दिल्लीमा बिहे भयो । तर, सम्बन्ध धेरै समय रहेन । सम्बन्ध बिच्छेदपछि भाइमा एक खालको पीडा र बेचैनी हामीले बाहिरबाट महशुस गर्थ्यौं । तर, ऊ कसैलाई पनि आफ्नो कुरा भन्दैनथ्यो । त्यही पीडाका बीचमा उसको दोस्रो विवाह भयो । त्यहाँ पनि उसको भावना जोडिन सकेन ।

बाहिर मीडियाले प्रकाशका बारेमा अनेकथरी लेखे । तर, प्रकाश बिल्कुल त्यस्तो मान्छे थिएन । पारिवारिक जीवनमा कतिपय कुरा पुरुष हुनुका नाताले भन्न मिल्थेन होला, सायद त्यसकारण उसले भनेन । अर्को कुरा, उसका हरेक कुरा प्रचण्डसँग जोडिन्थे, त्यसकारण पनि ऊ उदास भएर भए पनि बुवाको छविमा आँच नआओस् भन्ने चाहन्थ्यो ।

ganga dahal and prakash dahal
क. गंगा दाहाल, भाइ प्रकाश दाहाललाई अन्तिम श्रद्धाञ्जली दिँदै

प्रकाशसँग ज–जसले सङ्गत गर्थे, उनीहरुले भन्थे, ‘‘मीडियाले भनेको प्रकाश दाहाल त रहेनछन् ।’ प्रकाशलाई भेटेपछि उनीहरुको सोंच पूरै बदलिन्थ्यो । ऊ अत्यन्तै मिलनसार, कहिल्यै ढाँटछल नगर्ने, लागेको कुरा प्रष्ट भन्ने, कसैसँग नडराउने र एकदमै मायालु स्वाभावको थियो ।

प्रकाश नभएको भए बुवाको राजनीति र पार्टीकै जीवनमा पनि जति उपलब्धि भयो, त्यो उपलब्धि हासिल गर्न कठिन हुन्थ्यो होला । भाइ, बुवाका लागि एकदमै वफादार सिपाही थियो । कसैले बुवाविरुद्ध नराम्रो भनेको, घेरा हालेको ऊ सुन्नसम्म सक्दैनथ्यो । उसलाई लाग्थ्यो, ‘‘देश बुवाकै वरिपरि छ । बुवा डुबे पार्टी डुब्छ, पार्टी डुबे देश डुब्छ ।’ बुवाको दोस्रो प्रधानमन्त्री कालमा उसले जुन त्याग गर्‍यो, जुन परिणाम निकाल्यो, त्यो हामीले मात्र नभएर देशले नै बिर्सन नसक्ने खालको छ ।

तर, भाइ अल्पायुमै बित्यो । मंसीर ३ गते हामी बिराटनगर थियौं । घटना सुन्नेबित्तिकै छाँगाबाट खसेजस्तै भयौं । कति दिनसम्म त घटना पत्यार नै लागेन । तर, सत्य यही हो, अब उनी हामीसँग छैनन् । उनले हामीलाई निकै ठूलो जिम्मेवारीको भारी छोडेर गएका छन् । उनका सपना साकार पार्न म र हामी सबै प्रतिबद्ध छौं । अलबिदा प्यारो भाइ प्रकाश !

र, यो पनि पढ्नुहोस्ः

क. प्रकाश दाहालको संक्षिप्त जीवनी