Karl Marx
 

विश्व कम्युनिस्ट आन्दोलनका महान गुरु तथा वैज्ञानिक साम्यवादका संस्थापक कार्ल मार्क्सको जन्म ५ मे १८१८ को दिन ट्रिर शहरको एक वकिल परिवारमा भएको थियो । कार्ल मार्क्सका पिता हेनरिख मार्क्स फ्रान्सेली विचारकद्वारा प्रभावित व्यक्तित्व हुनुहुन्थ्यो । कार्ल मार्क्सकी आमाको नाम हेनरी येट्रर हो ।

Shishir Shrestha Milan Afanta
लेखक

सन् १८३० देखि १८३५ सम्म मार्क्सले ट्रिर जिम्नेसियम (स्कुल)मा आफ्नो प्रारम्भिक अध्ययन पूरा गर्नुभयो । किशोर मार्क्सको बौद्धिक प्रतिभाको प्रस्फुटन त्यस बेला भयो जुन बेलामा उहाँले “पैसा छनौटबारे एक किशोरको विचार” भन्ने निबन्ध लेख्नुभयो । उक्त निबन्ध प्रवोधनकालको प्रगतिशील विचारधाराद्वारा ओतप्रोत छ ।

अक्टोवर १८३५ मा मार्क्स बोन विश्वविद्यालयमा भर्ना हुनु भयो । उहाँले आफूले अध्ययन गर्ने विषय कानुन विभाग रोज्नु भयो । विश्वविद्यालयमा मार्क्स कानुनशास्त्रको साथै साहित्य, नवीनतम् कला, इतिहास र सौन्दर्यशास्त्रको पनि अध्ययन गर्न पछि पर्नु भएन । बर्लिन विश्वविद्यालयमा वैज्ञानिक अध्ययन र बौद्धिक विकासका लागि बढी सुविधा भएको हुनाले मार्क्स बोनमा एक वर्ष अध्ययन गर्नु भएपछि बर्लिन विश्वविद्यालयमा आफूलाई भर्ना गर्नुभयो ।

बर्लिनमा मार्क्स निकै परिश्रम गर्न पछि पर्नु भएन, जसको फलस्वरुप उहाँको बौद्धिक विकास पनि तीब्र गतिले हुन थाल्यो । बर्लिनमा मार्क्स कलेजको अध्ययनको अलावा स्वतन्त्र अध्ययनमा पनि व्यस्त हुनुहुन्थ्यो जस अन्तर्गत उहाँले मुख्यतया दर्शनशास्त्र र इतिहासको अध्ययन गर्नुभयो । मार्क्सले साहित्य र कलाको पनि गहन अध्ययन गर्न थाल्नु भयो, अंग्रेजी र इटालीयन भाषा पनि सिक्न थाल्नु भयो । छोटै समयमा मार्क्स महान् बौद्धिक व्यक्तित्व बन्न सफल हुनुभयो ।

बर्लिन जानुपूर्व मार्क्सले सन् १८३६ को गृष्मकालमा जेनी फोन वेस्टफालेनसँग विवाह बन्धनमा जोडिनु भयो । जेनी अभिजात वर्गकी युवती थिइन् । तसर्थ जेनीका बुबा आमाले यस विवाहलाई अस्विकार गर्न सक्ने सम्भावना देखिन्थ्यो । जेनी असाध्यै राम्री युवती थिइन् भने मार्क्स बौद्धिक प्रतिभा हुनुहुन्थ्यो । त्यसो त मार्क्स न त अभिजात वर्गमा नै पर्नुहुन्थ्यो, न त एउटा विद्यार्थी व्यक्ति मार्क्स त्यति धनी नै हुनुहुन्थ्यो । तथापि जेनीले मार्क्सलाई पूर्णरुपमा साथ दिनु भयो । जेनी वेस्टफालेन अत्यन्तै गुणी नारी हुनुहुन्थ्यो । जेनीको तीक्ष्ण बुद्धि सुशीलता र उत्कृष्ट आचरणले मार्क्सलाई खुसी तुल्याएकी थिइन् । त्यही गुणले उहाँले पनि मार्क्स जस्तो महान् व्यक्तित्वलाई जीवन साथीको रुपमा पाउनु भयो । कार्ल मार्क्स र जेनीको लामो वैवाहिक जीवन सफल हुनुमा जति मार्क्सको भुमिका छ, त्यति नै कर्म जेनीको पनि छ । मार्क्स र जेनी सफल विवाहित जोडी भनेर कहलिएका थिए ।

कार्ल मार्क्सले विद्यावारिधिको थेसिस ‘डेमोक्रिटसको प्रकृति दर्शन र एपिक्युरको प्रकृति दर्शन बिचको भेद’ विषयमा तयार पार्नु भएको थियो । यो नै मार्क्सको पहिलो वैज्ञानिक कृति थियो । जुन आध्यात्मवादी चिन्तनमाथिको खोज थियो । प्रोइसेन राजधानीमा रहेको विश्वविद्यालयमा आफ्नो थेसिसको वास्तविक मुल्याङ्कन हुन सक्दैन भन्ने कुरा मार्क्सले देखिसक्नु भएको थियो । तसर्थ उहाँले इयेना विश्वविद्यालयमा आफ्नो थेसिस पठाउनु भयो र अप्रिल १८४१ मा दर्शनशास्त्रको विद्यावारिधि (डक्ट्रेट) को उपाधि प्राप्त गर्नु भयो । त्यसपछि उहाँ अत्यन्तै प्रतिष्ठित दार्शनिक बन्न पुग्नु भयो ।

सबैभन्दा प्रगतिशील र सबैभन्दा शोषित वर्गको हितार्थ आफ्नो जीवन अर्पण गर्ने अठोट गर्नु भएका मार्क्सले फ्रेडरिक एङ्गेल्स को रुपमा आफ्नै जस्तो विचारधारा भएको एक अति भरपर्दो सहयोगी र साथी भेट्टाउनु भयो । मार्क्सभन्दा दुई वर्ष कान्छा एङ्गेल्सको जन्म राइन प्रान्तको बार्मेन शहरमा भएको थियो ।

‘राजनीतिक अर्थशास्त्रको आलोचनाकाे रूपरेखा’ शीर्षक एङ्गेल्सको कृतिसँग मार्क्सको परिचयपछि उहाँहरुबिच पत्र व्यवहार सुरु भयो । अगस्त १८४४ मा बेलायतबाट जर्मनी फर्कंदा एङ्गेल्सले पेरिसमा मार्क्ससँग भेट गर्नुभयो । दश दिनको उहाँहरुको यस संसर्गमा पछि गएर एङ्गेल्सले सम्झना गर्नु भएको थियो, “सबै सैद्धान्तिक क्षेत्रमा हाम्रो पूर्णरुपमा देखा पर्यो र त्यसै बेलादेखि हाम्रो संयुक्त कार्य पनि सुरु भयो ।”

मार्क्स र एङ्गेल्सको यस ऐतिहासिक भेटले एक असाधारण मित्रता र दुई महान दिग्गजहरुको सहयोगको थालनी गर्यो । यस सहयोगले मजदुरवर्गलाई वैज्ञानिक क्रान्तिकारी सिद्धान्तद्वारा सुसज्जित पारेको थियो, सर्वहारा पार्टीको रणनीतितिर कार्यनीतिको जग बसालेको थियो । मार्क्स र एङ्गेल्स विश्व कम्युनिस्ट आन्दोलनका मार्गदर्शक हुन । उनीहरुले देखाएको मार्गमा विश्वभरका कम्युनिस्टहरु हिँडिरहेका छन् । विश्व कम्युनिस्ट आन्दोलनमा कार्ल मार्क्सको सर्वाधिक योगदान रहेको छ । उहाँले आफ्ना सहकर्मी एङ्गेल्ससँग मिलेर विश्व कम्युनिष्ट आन्दोलनको घोषणापत्र, पुँजी लगायत दर्जनौँ ऐतिहासिक कृतिहरु तयार पार्नु भयो । जसले साम्यवादी आन्दोलनमा लाग्नेहरुका लागि सदासर्वदा मार्गदर्शन गरिरहने छ । हाल मार्क्स हाम्रो सामु हुनुहुन्न । तथापि उहाँको मार्गदर्शक सिद्धान्तले उहाँ विश्वभरीका कम्युनिस्टहरुको मुटुको धड्कन हुनुहुन्छ । अमर महान व्यक्तित्त्व हुनुहुन्छ ।

याे पनि पढ्नुहाेस्ः फ्रेडरिक एङ्गेल्सकाे जीवनी

यो पनिपढ्नुहोस्ः भ्लादिमिर इल्यिच लेनिनको संक्षिप्त जीवनी

याे पनि पढ्नुहाेस्ः कमरेड स्टालिनको निधनः हत्या कि मृत्यु ?

याे पनि पढ्नुहाेस्ः किसान सहिद क. भीमदत्त पन्तकाे जीवनी – क. चित्रबहादुर श्रेष्ठ

याे पनि पढ्नुहाेस्ः  किसान नेता क. एकदेव अालेकाे जीवनीमा अाधारित क. राेहितकाे कविता