भिमदत्त पन्त
 

नेपाली जनताको मुक्तिकामी सङ्घर्षको इतिहासमा सुवर्ण अक्षरहरूले अङ्कित सशस्त्र किसान विद्रोहका नायक तथा नेपाली किसान आन्दोलनका एक निडर, जनप्रिय र महान् क्रान्तिकारी नेता क. भीमदत्त पन्तको जन्म वि. सं. १९८३ साल मङ्सिर १० गते नेपालको सुदूर पश्चिमको डडेल्धुरा जिल्लाको सदरमुकाम अमरगढीबाट झन्डै १ किलोमिटर दक्षिणमा पर्ने डोटी घटाला गा.वि.स. वडा नं १ (हाल अमरगढी नगरपालिका वडा नं. २) को कारीगाउँको एक मध्यम किसान परिवारमा बुवा तारानाथ पन्त र आमा सरस्वती देवीको एकल पुत्रका रूपमा भएको थियो ।

क. चित्रबहादुर श्रेष्ठ
लेखक

उहाँको बाल्यकाल आफू जन्मेकै गाउँमा बितेको थियो । अध्ययन गर्ने उमेर पुगे लगत्तै उहाँलाई नेपालको सिमावर्ती भारतीय भूमि सिङ्गाईमा आफन्तहरूको संरक्षणमा पढ्नको लागि पठाइयो । पढाइमा अत्यन्तै मेहनती र लगनशील भएकाले क. भीमदत्त पन्तले १५ वर्षको उमेरमा वि.सं. १९९८ सालमा मेट्रिक पास गर्नुभयो । मेट्रिक पास गरिसकेपछि उहाँ नेपाल फर्किनु भयो ।

युवा अवस्थामा प्रवेशसँगै उहाँले देशको आर्थिक, सामाजिक र सांस्कृतिक असमानता र जातीय उत्पीडनले जकडिएको सामन्ती सामाजिक परिवेश, कुरीति र कुसंस्कारलाई बदल्न आफू अग्रगमनको साहसिक बाटोमा अगाडि बढ्ने अठोट गर्नु भयो । उहाँ २००६ सालदेखि राजनीतिमा प्रत्यक्ष संलग्न हुँदै गरिब तथा श्रमजीवी किसान, मजदुर र उत्पीडित दलित तथा जनजाति समुदायलाई प्रशिक्षित र सङ्गठित गर्दै शोषक, सामन्त, जाली, फटाहाहरू र ठालुहरूको विरुद्धमा आवाज बुलन्द गर्नु भयो ।

समाज परिवर्तनको एक मात्र उद्देश्य बोकेका क. भीमदत्त पन्तको काम र निष्ठा शोषक, सामन्त, जाली, फटाहा र ठालुहरूलाई चित्त बुझ्ने कुरै भएन । सामन्ती जाली–फटाहाहरूले किसानहरूको नाममा बनाएका नक्कली तमसुक च्यात्ने, च्यात्न नमान्नेहरूलाई कारबाहीको निशाना बनाउने, दलित तथा उत्पीडित समुदायलाई माथि उठाउन उनीहरूको घरमा बस्ने, सँगसँगै खाने, महिला तथा किसान जागरण, शैक्षिक आन्दोलन सञ्चालन र नेतृत्व गर्दै हिँड्ने युवा क्रान्तिकारी जननेता क. भीमदत्त पन्त राणा शासक र सामन्त ठालुहरूको आँखाको कसिङ्गर बन्दै जानु भयो ।

वि.सं. २००१ मा उहाँ पुनः अध्ययनका लागि भारत जानु भयो । त्यतिबेला भारतमा अङ्ग्रेज विरुद्धको आन्दोलन जोडतोडले अगाडि बढिरहेको थियो । उहाँले आफ्नो अध्ययनलाई थाँती राखी अङ्ग्रेज विरुद्धको भारतीय स्वतन्त्रता सङ्ग्राममा भारतीय जनताको पक्षबाट आन्दोलनमा सरिक हुनुभयो । आन्दोलनमा अगाडि बढ्दै जाने क्रममा क. भीमदत्त पन्त अङ्ग्रेजहरूबाट गिरफ्तारीमा पर्नु भयो । गिरफ्तारीपछि उहाँलाई भारतको इलाहावाद जेलमा ठुलो दमन र यातनाका साथ राखियो । १८ महिनाको कठोर जेल सजायपछि उहाँ रिहा हुनु भयो ।

त्यसताका नेपालमा पनि राणा शासन विरोधी आन्दोलन सशक्त रूपमा अगाडि बढ्दै थियो । क. भीमदत्त पन्त जेलबाट रिहा भएपछि अध्ययनमा जोडिने सोच गर्नु भएको थियो तर उहाँको क्रान्तिकारी प्रवृत्ति र गरिब एवम् उत्पीडित जनताप्रतिको कर्तव्यबोधले व्यक्तिगत अध्ययनमा लाग्न दिएन ।

उहाँ नेपाल प्रवेश गरी राणाशाही विरोधी आन्दोलनलाई सफल बनाउन लोकतन्त्रका पक्षधर नेता/कार्यकर्ताहरूसँग सम्बन्ध विस्तार गर्दै आदिवासी, जनजाति, दलित र किसान जनसमुदायलाई गोलबन्द गर्न थाल्नु भयो । उहाँले दुस्मनको सङ्गठित फौजसँग लड्न विशाल जनसमुदायको पनि फौज बनाउन आवश्यक ठानी ‘किसान मुक्ति सेना’ गठन गर्नु भयो र राणा विरोधी आन्दोलनको सक्रियतापूर्वक नेतृत्व गर्नुभयो । उहाँले निर्माण गरेको ‘किसान मुक्ति सेना’मा सबै जातजातिका उत्पीडित जनताको सहभागिता थियो । राना थारु, मगर र दलितहरूको उल्लेखनीय सहभागिता रहेको सो फौज निर्माण भएको केही समयमै करिब ३५० को हाराहारीको सङ्ख्यामा पुगेको थियो । तत्कालीन अवस्थालाई हेर्दा यो एक अत्यन्तै महत्त्वपूर्ण उपलब्धि थियो ।

वि. सं. २००७ साल पुस २६ गते डडेल्धुरालाई ‘किसान मुक्ति सेना’को कब्जामा लिनु भयो ।आन्दोनलले सफलता प्राप्त गरेपछि क. भीमदत्त पन्त, टिकाराम भट्ट, कृतिबहादुर विष्ट, पहलमान कटुवाल, जयराम जोशी, गुणाखर पन्त, डम्बरबहादुर बोगटी र भक्तबहादुर मल्ल सहभागी भएको ८ सदस्यीय आन्तरिक व्यवस्था सञ्चालन गर्ने अस्थायी सरकार निर्माण गरी त्यसको गर्भनर पद सम्हाल्नु भयो ।

आन्दोलनको बल र त्यसमा जनताले देखाएको साहस, त्याग, बलिदानपछि प्राप्त परिवर्तन एवम् त्यसपछि बनेको नयाँ सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन । दिन प्रतिदिन सरकारको काम कारबाहीले जनतामा असन्तुष्टि बढ्दै गयो । आमूल परिवर्तनका पक्षपाती र विद्रोही स्वभावका किसान नेता क. भीमदत्त पन्तलाई सरकारको त्यसप्रकारको रबैया चित्त बुझ्ने कुरै थिएन । उहाँले पुनः जनताको पक्षमा काम गर्न सुरु गर्नु भयो । जनतालाई सामाजिक न्याय दिने, जनताको दैनिक जीवनस्तर माथि उकास्ने र जातपात छुवाछूतको अन्त्यका लागि कार्यक्रम सञ्चालन गर्ने जस्ता कार्यलाई घनीभूत ढङ्गले अगाडि बढाउनु भयो । यस प्रकारको कार्यले चिढिन पुगेका धर्मभीरु र शोषक ठालुहरू उहाँको विरुद्धमा भित्रभित्रै षड्यन्त्रको सुरुवात गर्न थाले । उनीहरूकै षड्यन्त्र र उक्साहटको पछाडि लागेर नेपाली काङ्ग्रेस सरकारको रक्षादल सिद्धि गणेशको फौजले वि.सं. २००८ सालको भाद्रमा आफ्नै पक्षधर गर्भनर क. भीमदत्त पन्तलाई गिरफ्तार ग¥यो । गिरफ्तारीपछि उहाँलाई पटकपटक अड्डासार गर्दै काठमाडौँको हनुमान ढोकामा जेल चलान गरी थुनामा राखियो । ४ महिनाको जेल बसाइपछि उहाँ जेलमुक्त हुनु भयो ।

विभिन्न आरोह–अवरोह पार गर्दै जेल जीवनबाट रिहाइपछि क. भीमदत्त पन्तको राजनीतिक जीवनले नयाँ मोड लियो । उहाँको राजनीति नेपाली काङ्ग्रेसको राजनीतिक विचारधाराबाट सुरु भएको थियो । आफ्नो क्रान्तिकारी जीवनको लामो अनुभव र उहाँले पाएको दुःख, कष्ट, हन्डर, ठक्कर र षड्यन्त्रबाट काङ्ग्रेसको राजनीतिले सामन्तवादको अन्त्य, जातीय विभेदको समाप्ति, राष्ट्रिय स्वाधीनताको रक्षा, घुसखोर कर्मचारीतन्त्र, नाफाखोर कालाबजारी र भ्रष्टाचारको अन्त्य हुन नसक्ने, बरु त्यसकै पक्षपोषण हुने र सशस्त्र क्रान्ति विना आफूले बोकेको महान् लक्ष्य तथा उद्देश्यहरू प्राप्त नहुने अन्तिम ठहर गर्दै आफूले सम्हाल्दै आएको अस्थायी सरकारको गर्भनर पद र काङ्ग्रेसको राजनीतिलाई परित्याग गर्ने निष्कर्षमा पुग्नु भयो ।

तत्पश्चात् उहाँले तत्कालीन कम्युनिस्ट नेताहरू क. निरञ्जनगोविन्द वैद्य, क. मनमोहन अधिकारी, क. शम्भुराम श्रेष्ठ लगायतलाई भेटी सम्पर्क स्थापित गर्नु भयो । उहाँहरूसँगको भेटघाट, छलफल र सरसल्लाह बमोजिम क. भीमदत्त पन्त आफ्नै कर्मथलो सुदूर पश्चिम फर्कनु भयो । सुदूर पश्चिम फर्किसकेपछि त्यसबिचमा क. भीमदत्त पन्तको कन्चनपुरको ब्रह्मदेव मन्डीमा भारतको तेलङ्गना किसान विद्रोहका नेता क. कृष्णस्वामी अयङ्करसँग भेट भयो । उहाँले पछिल्लो किसान सशस्त्र विद्रोहको सैद्धान्तिक आधार र प्रेरणा नेता अयङ्करबाट नै प्राप्त गर्नु भयो । त्यसपछि उहाँ किसान विद्रोहको नयाँ बाटोमा अगाडि बढ्नु भयो । वि.सं. २००८ सालको अन्त्यतिर कन्चनपुरलाई आन्दोलनको मुख्य केन्द्र बनाउँदै समग्र सुदूर पश्चिममा सामन्तवाद विरोधी सशस्त्र किसान आन्दोलनको साथै कम्युनिस्ट पार्टीको विचार र दर्शनको विस्तारमा लाग्नु भयो । क. भीमदत्त पन्तको नेतृत्वमा कन्चनपुरको ब्रह्मदेव मन्डीमा भएको नुन र खाद्यान्न काण्ड एवम् बेलौरीमा गरेको किसान विद्रोह त्यस बेलाका चर्चित आन्दोलनहरू थिए ।

यो २००९ सालको घटना हो । सुदूर पश्चिममा नुन र खाद्यान्नको हाहाकार मच्चिएको थियो । कन्चनपुर जिल्लाको ब्रह्मदेव मन्डीमा भन्सारका कर्मचारी र नाफाखोर काला व्यापारीहरूको मिलोमतोमा गोदाममा नुन र खाद्यान्न लुकाई छिपाई राखेको सूचना क. भीमदत्त पन्तलाई प्राप्त भयो । सूचना प्राप्त भएपछि उहाँले मन्डीको गोदाम कब्जा गर्ने योजना बनाउनु भयो । आफ्नो नेतृत्वमा हजारौंको सङ्ख्यामा शोषित, पीडित किसानहरू, दलित, जनजातिहरूको भेला गराई गोदाममा लुकाई राखेको सयौं क्विन्टल नुन र खाद्यान्न कब्जा गरी तिनको अभावले छट्पटिएका जनतालाई वितरण गर्नु भयो । ब्रह्मदेव मन्डीको कोटाको व्यवस्था, भन्सार ठेकेदारको मनोमानी, ठेकेदार र कर्मचारीहरूको मिलोमतो र षड्यन्त्रको विरुद्धमा गरिएको त्यस प्रकारको सङ्घर्षको अभियानले जनतामा ठुलो प्रभाव पर्न गयो भने भन्सारमा हाकिम रहेको सुब्बा जयदेव भट्ट, डिट्ठा धर्मसिंह रावल, सुवेदार जोगराज ऐरु विरुद्धको सशक्त कारबाहीले आन्दोलनलाई थप ऊर्जा थप्ने काम गर्यो । त्यस घटनामा डिट्ठा धर्मसिंह रावललाई बोरामा बाँधेर महाकाली नदीमा फ्याँकिएको थियो ।

कन्चनपुरको ब्रह्मदेव मन्डी गोदामको सफल कब्जा र त्यसले जनतामा पारेको प्रभावले क. भीमदत्त पन्तको विद्रोही स्वभावलाई झन् उत्साही बनायो । त्यसको लगत्तै २००९ सालको अन्त्यतिर ‘किसान राज – जिन्दावाद’, ‘शोषक सामन्त – मुर्दावाद’, ‘कि त जोत हलो, कि त छोड थलो: बिना जोती हलो, अब हुन्न ठुलो’, ‘रोजी रोटी कपडा दे: नत्र गद्दी छोडिदे’ जस्ता गगनभेदी नाराका साथ गाउँगाउँमा सामन्त, ठालु, जमिन्दारहरूको विरुद्धमा हुङ्कार गर्दै हजारौँको सङ्ख्यामा किसान तथा उत्पीडित जनसमुदायको उपस्थितिमा किसान मुक्ति सेनालाई साथमा लिँदै डडेल्धुरा र कन्चनपुरको तत्कालीन सदरमुकाम बेलौरीलाई चारैतिरबाट सशस्त्र घेराबन्दी गर्दै कब्जा गरियो । सरकारी बडा हाकिमलाई गिरफ्तार गरी बन्दी बनाइयो र बडा हाकिमको कुर्चीमा गरिब किसानको छोरा भुख्खा राना थारुलाई बसाइयो । उक्त सशस्त्र सङ्घर्षको क्रममा एक प्रहरी प्रमुख मारिए भने अन्य कर्मचारीहरू भागाभाग गरी आफ्नो ज्यान जोगाए । यसप्रकारको किसान विद्रोहको सफलताले थोरै समयमा नै शोषक, सामन्त, जमिन्दार, पटवारी र सरकारलाई समेत आच्छुआच्छु बनायो । उक्त आन्दोलनको क्षेत्र किसानहरूको नियन्त्रणमा आयो । सङ्घर्षको रापताप पुरै सुदूर पश्चिम क्षेत्रसँगै देशभर फैलियो । भारतमा समेत यसको प्रचार र प्रभाव पर्यो ।

ब्रह्मदेव मन्डी र बेलौरीलाई सशस्त्र विद्रोहद्वारा कब्जामा लिइसकेपछि क. भीमदत्त पन्तले कैलालीको सदरमुकाम धनगढी कब्जा गर्ने योजना बनाइरहनु भएको थियो भने अर्र्कोतर्फ किसान सशस्त्र विद्रोहले अत्तालिएको प्रतिक्रियावादी नेपाली काङ्ग्रेसको सरकार र त्यसका प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले क. भीमदत्त पन्तको सशस्त्र किसान विद्रोहलाई दमन गरेर सिध्याउनका लागि षड्यन्त्रका तानाबाना बुनिरहेका थिए ।

आन्दोलनको नेतृत्व गर्दै अगाडि बढ्ने क्रममा २००९ साल चैत्र २७ गते क. भीमदत्त पन्तलाई दुस्मनले गिरफ्तार गर्न सफल भए । गिरफ्तारीपछि उहाँलाई कडा निगरानी र यातनाका साथ बेलौरी जेलमा राखियो । जेलको सुरक्षामा खटेका धर्मशमशेर लगायतका सुरक्षाकर्मीहरूलाई छक्काउँदै बेलौरी जेल तोडेर २०१० साल असारको तेस्रो हप्तामा उहाँ जेलबाट उम्कन सफल हुनुभयो र डडेल्धुरा जानु भयो । जेल तोडेर उम्कन सफल भए पनि दुस्मनले उहाँमाथि निगरानी रहेकोले उहाँ लामो समय भूमिगत रहन सक्नु भएन । डडेल्धुराका सामन्त, जाली, फटाहाहरूको साथै बडा हाकिम मोहनबहादुर सिंहको मिलोमतोमा उहाँलाई पुनः आफ्ना सहयोद्धाहरूसँगै गिरफ्तार गरी बेलौरी जेलमा चलान गरियो । बडा हाकिम मोहनबहादुर सिंहले बेलौरीमा धरै दिन राख्नु उचित नठानी त्यहाँबाट अनेत्र जेल चलान गर्ने क्रममा जोगबुढा पुग्दा नपुग्दै आफू लगायत आफ्ना सहयोद्धालाई लिएर गइरहेका सिपाहीहरूलाई आफ्नो प्रभावमा पारी क. भीमदत्त पन्त सहयोद्धाहरू मुल्मी प्रधान र गर्भु राना थारुसहित उम्कन सफल हुनुभयो । त्यसपछि त किसान विद्रोहले झन् तीव्र गति लियो ।

सो घटनाबाट विक्षिप्त भई पागल झैं बनेको काङ्ग्रेसको मातृका सरकार र आफ्नो सुरक्षा बलले मात्र किसान विद्रोहलाई दबाउन नसक्ने अन्तिम निष्कर्ष निकाल्दै विस्तारवादी भारतीय शासकहरूलाई गुहार्न पुग्यो । भारतीय शासकहरूले आफ्नो कठपुतली मातृका सरकारको अनुनयलाई स्वीकार गर्दै भारतको लखनउबाट ठुलो सङ्ख्यामा भारतीय फौजलाई नेपालमा पठायो । नेपाली सेनाका तत्कालीन सेनापति किरणशमशेर र भारतीय फौजको नेतृत्व कमान्डका बिच भारतको बरेलीमा बसेर क. भीमदत्त पन्तको हत्या गर्ने र किसान सशस्त्र विद्रोहलाई व्यापक दमन गर्दै समाप्त पार्ने योजना बनाए । त्यसको संयुक्त कमान्ड किरणशमशेरले गर्ने सहमति गरे । त्यसको लगत्तै दक्षिण तर्फबाट भारतीय सेना र उत्तर तर्फबाट नेपाली सेनाले तीव्र दबाब बढायो । भारतीय सेना र क. भीमदत्त पन्तले नेतृत्व गर्नु भएको किसान जनसेनाको बिचमा धनगढी (कैलाली)को बेदाहामा भिषण दोहोरो भिडन्त भयो । दुवैतर्फ ठुलो सङ्ख्यामा सेनाहरूको हताहती भयो । तत्काल किसान विद्रोह छापामार युद्धमा बदलियो र दुवैबिच ठाउँठाउँमा भिडन्तहरू भए । यसै क्रममा भारतीय शासकहरूले थप भारतीय फौज नेपालमा पठाउने निर्णय गर्याे भने नेपाली काङ्ग्रेसको मातृका सरकारले क. भीमदत्त पन्तको टाउको काटेर सरकारलाई बुझाउने व्यक्तिलाई भा.रु. ५,०००/– र एउटा बन्दुक पुरस्कार दिने घोषणा गर्यो ।

क. भीमदत्त पन्तले ठुलो सङ्ख्यामा थप भारतीय फौज कैलाली र कन्चनपुरको सीमाबाट नेपाल प्रवेश गरेको थाहा पाउने बित्तिकै आफ्नो विद्रोहको कार्यनीति परिवर्तन गर्दै आफनो सङ्घर्ष र फौजलाई तराईबाट पहाडी भूभागमा केन्द्रित गर्दै आफना सहयोद्धा र सेनालाई दुस्मनसँग वचन र सुरक्षित हुन निर्देशन दिँदै उर्दी जारी गर्नु भयो । त्यसपछि क. भीमदत्त पन्त सङ्घर्षका भावी योजनाहरू तयार गर्न आफ्ना महत्त्वपूर्ण सहयोद्धाहरू बहादुर खत्री र मोहनसिंह सेठीका साथ डोटीको उत्तर गल्लेकको जङ्गलमा पुग्नु भयो । जङ्गलमा बस्दा बाहिरको स्थिति बुझ्न समस्या परेको हुँदा बाहिरको स्थिति बुझ्न र खबर ल्याउनका लागि सहयोद्धा मोहनसिंह सेठीलाई बाहिर पठाइयो ।

बाहिरको परिस्थिति बुझ्न डडेल्धुरा पुग्नु भएका मोहनसिंह सेठी दुस्मनको कब्जामा पर्नुभयो भने बहादुर खत्रीलाई अर्को महत्त्वपूर्ण काममा खटाइएको हुँदा क. भीमदत्त पन्त जङ्गलमा एक्लै पर्नुभयो । जङ्गलमा एक्लै बस्न उचित नठानी उहाँ जङ्गलबाट बाहिर निस्केर डडेल्धुरा र डोटीको सिमानामा पर्ने जङ्गल किनारको बुडर गल्लेक गाँउका हामजाली मगरको घरमा आश्रय लिन पुग्नु भयो । त्यहाँ आश्रय लिएको २०१० साल श्रावण १७ गते ७ दिन पुगिसकेको थियो ।

अर्कोतर्फ डडेल्धुराका बडा हाकिम मोहन सिंहले आफ्ना गुप्तचरहरू मार्फत क. भीमदत्त पन्तको खोजी कार्य तीव्र रूपमा बढायो । आफ्नै नजिकको मान्छेबाट खोजी कार्य गर्न र बसेको ठाउँ पत्ता लगाउन सहज र सम्भव हुने कुरा बुझेको बडा हाकिम मोहन सिंहले प्रहरीको हवल्दार रहेको स्वयम् क. भीमदत्त पन्तको मित लालबहादुर थापाको नेतृत्वमा भीमबहादुर दयाल लगायतको ११ जना सरकारी भिजिलान्तेहरूको विशेष टोली गठन ग¥यो । उक्त टोलीले क. भीमदत्त पन्तको खोजी गर्ने क्रममा उहाँ हामजाली मगरको घरमा आश्रय लिई बस्नु भएको कुरा सुराकीहरूद्वारा पत्ता लगायो ।

क. भीमदत्त पन्त हामजाली मगरको घरमा आश्रय लिएर बसेको ७ औं दिन बिहानको खाना खाने समय पारी मित लालबहादुर थापा लगायतको टोली त्यहाँ पुगे । त्यतिबेला उहाँ खाना खाँदै हुनुहुन्थ्यो । सरकारी भिजिलान्तेहरूको समूहले उहाँ बसेको घरलाई चारैतिरबाट घेरा हाले । उहाँलाई आफू सरकारी भिजिलान्तेहरूबाट घेरामा परेको थाहा भयो । उहाँले घेरा तोडेर निस्कन सकिन्छ कि भनी दायाँ बायाँ हेर्नु भयो । तर कतैबाट पनि उम्कन सक्ने ठाउँ थिएन । त्यसको लगत्तै उहाँको मित लालबहादुर थापाले घरको आँगनबाट “मितज्यू, हजुरको सहयोग गर्न आएको छु, घर बाहिर निस्कनुहोस्” भनी बोलायो । क. भीमदत्त पन्तलाई लालबहादुर थापाले सरकारी सिन्दुर पहिरिएको र सामन्त, जमिन्दार एवम् ठालुहरूको नुन खाएको भएता पनि आफ्नै मित भएकोले ‘मारी त हाल्दैनन् कि’ भन्ने लाग्यो । तर सोच र चिन्तन नै लम्पट भइसकेको र आफ्नो स्वाभीमान गुमाइसकेको व्यक्तिसँग यस प्रकारको नैतिकताको अपेक्षा राख्नु उहाँको भ्रम मात्र हुन पुग्यो । उहाँ घरको ढोका खोलेर बाहिर मात्र के निस्कन लाग्नु भएको थियो, आततायी प्रहरी हबल्दार रहेको गद्दार मित लालबहादुर थापाले क. भीमदत्त पन्तको छातीमा गोली प्रहार ग¥यो । गोली लागेका क. भीमदत्त पन्त जमिनमा ढल्नु भयो । जमिनमा ढल्दै गर्दा उहाँले निकै ठुलो स्वरमा ‘शोषक सामन्त: मुर्दावाद, किसान राज: जिन्दावाद’ को नारा लगाउनु भयो र आफ्नो प्राण त्याग गर्नु भयो ।

प्राण त्याग गरिसकेका क. भीमदत्त पन्तको हत्या गरेर पनि नपुगेर सँगै गएको सरकारी भिजिलान्ते समूहको अर्को हत्यारो जल्लाद भीमबहादुर दयालले आफ्नो कम्मरमा भिरेको खुकुरी झिकेर उहाँको गर्दनमा प्रहार गर्यो । शरीर र टाउको अलग अलग छुट्याई हत्यारो जत्था क. भीमदत्त पन्तको शरीर त्यहीँ छोडी उहाँको टाउको बोकेर डडेल्धुराको सदरमुकाम खलङ्गातिर लागे । हत्यारो जत्था टाउको बोकेर भोलिपल्ट अर्थात २०१० श्रावण १८ गते दिउँसो खलङ्गा सदरमुकाममा पुगे । क. भीमदत्त पन्तको हत्याको खबर पाउनासाथ खलङ्गामा सुदूर पश्चिमका शोषक, सामन्त, ठालुहरू र सरकारी कर्मचारीहरू जम्मा भई विजयोत्सवका साथ खुसीयाली मनाउँदै भोजभतेर गर्न थाले । अर्कोतर्फ आफ्नो प्यारो नेताको हत्याले शोकाकूल भएका आम उत्पीडित र गरिब जनताका साथै किसान जनसमुदाय पीडा, शोक र चिन्ताले छट्पटाइरहेका थिए ।

हत्याराहरूले त्यसै दिन डडेल्धुरा जिल्लाको खलङ्गा बजार स्थित गौडा गोश्वारा अगाडि (हाल जिल्ला प्रहरी कार्यालय हाताभित्र रहेको भैरव मन्दिर भएको स्थानमा) एउटा अग्लो बाँसको लिङ्गो गाडे । क. भीमदत्त पन्तको आँखा बन्द भएको टाउको बाँसको कप्टेरोले आँखा खोलेर उहाँको टाउको लिङ्गोमा सिउरेर झुन्ड्याउँदै ‘हाम्रा विरुद्धमा धाबा बोल्ने, देशद्रोह र राजद्रोह गर्नेको हविगत यस्तै हुन्छ’ भन्ने पोस्टर लेखेर राखियो । त्यसलाई ३ दिनसम्म प्रदर्शन गरी आमजनतामा आतङ्क फैलाउने काम गरियो । क. भीमदत्त पन्तको हत्या गरे बापत हत्यारो जल्लाद प्र.ह. लालबहादुर थापालाई बडा हाकिम मोहनबहादुर सिंहले भा.रु. ५,०००/– बक्सिस दिँदै धन्यवाद दियो । उसले बक्सिस र धन्यवाद पाएकोमा आफूले ठुलो बहादुरी गरेको ठानी खुसीयाली मनायो ।

प्रतिक्रियावादी मातृका सरकारले श्रावण २० गते ‘गल्लेकको जङ्गलमा सेना र प्रहरीसँग भिडन्तमा देशद्रोही र राजद्रोही आतङ्ककारी भीमदत्त पन्त मारिएको’ भनी झुठो समाचार प्रकाशित गर्यो भने श्रावण २४ गते ‘नेपाल पुकार’ साप्ताहिकले त्यसप्रकारको सरकारी झुठो समाचारको खण्डन गर्दै क. भीमदत्त पन्तको ‘सरकारी सेना र प्रहरीसँग दोहोरो भिडन्तमा नभई सरकारी हत्यारा भिजिलान्तेहरूले षड्यन्त्रपूर्वक हत्या गरेको’ सत्य तथ्य खबर प्रकाशित गर्यो ।

क. भीमदत्त पन्तको हत्या गरी उहाँको टाउको प्रदर्शन गरेको ३ दिनपछि श्रीमती पार्वतीदेवी र भाइ धर्मदेव पन्त लगायतका आफन्तहरू उहाँको शव माग्न सदरमुकाम खलङ्गा पुग्नु भयो । बडा हाकिम मोहनबहादुर सिंहसँग भेट गरी अन्त्यष्टि गर्नका लागि शव माग्दा उसले ‘शव नदिने’ भनी उल्टै हप्कायो । पछि उहाँहरूले धेरै जोडबल गरेपछि ३१ वटा सर्तमा श्रीमती पार्वतीदेवीको सहीछाप गराएर उहाँको जिम्मामा क. भीमदत्त पन्तको टाउको दिइयो । भाइ धर्मदत्त पन्तले दाजुको काटिएको टाउको बोकी डोटी घटाल बाबा मन्दिर छेउमा अन्तिम संस्कारका लागि ल्याउनु भयो । हजारौं गरिब तथा उत्पीडित किसानहरू आफ्नो एक होनाहार क्रान्तिकारी किसान नेताको अन्तिम संस्कारमा आउन चाहन्थे तर आततायी मातृका सरकारको दमन र आतङ्कले जनतालाई अन्त्यष्टिमा आउन रोकियो । आतङ्कको बिचबाट पनि सिद्धराज पन्त, शिवराज उप्रेती, सोबे सार्की, झकिरे दमार्इं लगायतका सहयोद्धाहरू अन्त्येष्टिमा सहभागी हुनु भई उहाँको अन्तिम संस्कार गर्नु भयो ।

यसरी प्रतिक्रियावादी सामन्ती राजको अन्त्य गर्दै किसान राज कायम गर्ने मुख्य उद्देश्य बोकेर हिँडेको एउटा युगपुरुष तथा क्रान्तिकारी किसान जनविद्रोहका नायक क. भीमदत्त पन्तले आफ्नो सपना पुरा नहुँदै २६ वर्ष ८ महिना ७ दिनको उमेरमा दुस्मनको कब्जामा परी वीरगति प्राप्त गर्नु भयो । उहाँको हत्या र किसान विद्रोहलाई दमन गर्न आएको भारतीय फौज श्रावण २७ गते नेपालबाट भारत फर्कियो । क. भीमदत्त पन्तको हत्या लगत्तै उहाँको नेतृत्वमा रहेको किसान मुक्ति सेनाका २७६ जना सहयोद्धाहरूलाई समेत गिरफ्तार गरी धनगढी जेल चलान गरियो । २०१३ सालमा टङ्कप्रसाद आचार्य प्रधानमन्त्री भएपछि मात्रै सबैलाई आममाफी दिई जेलमुक्त गरियो ।

क. भीमदत्त पन्तका जेठा छोरा लिलाराज पन्त, कान्छा छोरा प्रेमराज पन्त र छोरी रेखा पन्त गरी २ छोरा र १ छोरी थिए । यी तिनै जनाको मृत्यु बिरामी हुँदा उपचार पाउन नसकेर भएको थियो । यस्तो दुःखद अवस्थामा पनि क. भीमदत्त पन्तले परिवारप्रति कुनै सहयोग गर्न सक्नु भएन । उहाँले निजी र पारिवारिक जीवनलाई भन्दा किसान विद्रोहलाई प्राथमिकतामा राख्नु भयो । देश र जनताप्रतिको आफ्नो महान् अभिभारा पुरा गर्ने क्रममा उहाँले परिवार र व्यक्तिगत जीवनलाई आवश्यक समय दिन पाउनु भएन ।

क. भीमदत्त पन्तले नेपाली किसानहरूका लागि गरेको किसान विद्रोह होस् वा तत्कालीन भ्रष्ट तथा राष्ट्रघाती सरकार विरुद्धको सङ्घर्ष होस्, ती आफैमा महान् छन् । नेपाली किसानहरू, उत्पीडित गरिब जनता र तमाम क्रान्तिकारीहरूले क. भीमदत्त पन्तलाई युगौंयुगसम्म स्मरण गर्दै क्रान्तिको विकासमा उहाँले पु¥याउनु भएको योगदानको कदर गरिरहने छन् ।

हाम्रो गौरवशाली सङ्गठन अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) उहाँको अधुरो सपना पुरा गर्न र उहाँले देखाउनु भएको बाटोको अनुशरण गर्न दृढ सङ्कल्पित छ । साथै, क्रान्तिकारी किसान आन्दोलन सफल नहुन्जेल क्रान्तिको बाँकी अभिभारा पुरा गर्न अन्तिमसम्म अथक रूपमा लडिरहने प्रतिबद्धता जाहेर गर्दछ ।

याे पनि पढ्नुहाेस्ः जुगेडी किसान सङ्घर्ष र किसान सङ्घर्ष दिवस – क. चित्रबहादुर श्रेष्ठ

याे पनि पढ्नुहाेस्ः  एकदेव आले, तिमीलाई सयबार सलाम – क. नारायणमान बिजुक्छे ‘राेहित’

याे पनि पढ्नुहाेस्ः   इमिलिअानो जापाता र मेक्सिकाेकाे किसान आन्दोलन – क. दधिराम खतिवडा

(श्रेष्ठ अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का केन्द्रीय अध्यक्ष हुनुहुन्छ ।)