Dasha Rath Chepang and Santa Bahadur Praja
 

विषय प्रवेशः

नेपालका क्रान्तिकारी किसानहरू र तिनीहरूको नेतृत्वकर्ता एवम् प्रतिनिधि किसान सङ्गठनका रूपमा अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)ले २०४८ सालमा पार्टीको एकता महाधिवेशन पश्चात पार्टीले निर्णय गरे अनुसार हरेक वर्षको असार ६ गतेलाई किसान सङ्घर्ष दिवसका रूपमा विभिन्न कार्यक्रमहरूका साथ मनाउँदै आएका छन् । म यस सन्दर्भमा नेपाली किसानहरूको पूर्ण मुक्ति र राष्ट्रिय स्वाधीनताका लागि वीरत्व प्राप्त गर्ने महान् किसान नेताहरू क. भीमदत्त पन्त, क. कामी बुढा, क. मुखलाल महतो, क. जनक सिंह, क. एकदेव आले, क. जयगोविन्द साह, क. तेजमान घर्ती, क. हरिकृष्ण भण्डारी, क. दशरथ ठाकुर, क. दशरथ चेपाङ, क. सन्तबहादुर प्रजा, क. भरत ढुङ्गाना लगायतका किसान सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

प्रस्तुत आलेख मार्फत् किसान आन्दोलनका केही महत्त्वपूर्ण घटनाक्रम र किसान सङ्घर्ष दिवसका रूपमा स्थापित जुगेडी किसान सङ्घर्षको ऐतिहासिक महत्त्व बारे सङ्क्षिप्तमा प्रकाश पार्ने कोसिस गरिएको छ ।

किसान आन्दोलनका केही मुख्य घटनाहरूः

Chitra Bahadur Shrestha
लेखक

सदिऔँदेखि नेपाली किसानहरूले आफ्नो पूर्ण मुक्ति र स्वाधीनताका लागि विभिन्न सङ्घ–संस्था र सङ्गठनहरूमा सङ्गठित भएर होस् वा स्वतस्फूर्त रूपमा, चाहे त्यो १०४ वर्ष एकतन्त्रीय जहानियाँ राणशासनको अत्याचारको काल होस् वा ३० वर्षे पञ्चायती निरङ्कुशता, १२ वर्षे बहुदलीय शासन काल होस् वा हालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछिको काल, आफ्नो हक अधिकार प्राप्ति र उन्मुक्तिका लागि निरन्तर सङ्घर्ष गर्दै आइरहेका छन् । खासगरी २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना र कम्युनिस्ट पार्टीको नेतृत्व र आयोजनामा २००७ सालमा किसान सङ्घको स्थापना भएपछि झनै सङ्गठित र व्यवस्थित रूपमा किसान आन्दोलनले गुणात्मक फड्को मार्दै सफलता र असफलता, त्याग र बलिदानका हजारौँ कीर्तिमान र घुम्ती–मोडहरू पार गर्दै अगाडि बढिरहेको छ ।

वि.सं. २००८–९ सालमा क. भीमदत्त पन्तको नेतृत्वमा सुदूर पश्चिम नेपालका सामन्ती, जमिन्दार, जाली, फटाहा, भ्रष्ट प्रशासनविरोधी किसान सङ्घर्ष, २०१०–११ सालमा रुकुम–रोल्पा क्षेत्रमा किसान नेता क. कामी बुढाको नेतृत्वमा सञ्चालित किसान आन्दोलन, २०११–१२ सालमा तराईको बारा, पर्सा र रौतहटमा क. मुखलाल महतो, क. हरिदयाल महतो, क. बाबुलाल मुखिया, क. सेख फर्मानको नेतृत्वमा सामन्ती शोषण उत्पीडन तथा मानसम्मान प्राप्तिका लागि भएको सशक्त किसान आन्दोलन, २०१६ सालमा धादिङ खनियाँवासमा सामन्ती शोषण र उत्पीडन विरुद्ध त्यस क्षेत्रका गरिब जनजाति किसानहरूको नेतृत्वमा शोषक फटाहाहरूलाई गाउँ निकाला गर्ने जस्ता जुझारु किसान सङ्घर्ष, २०२२–२३ सालमा नवलपरासी, रूपन्देही र दाङ आदि जिल्लाहरूमा भएको भ्रष्ट प्रशासन तथा बचत–भूमिकर विरोधी सङ्घर्ष, २०२३–२४ सालमा किसान नेता क. एकदेव आलेको नेतृत्वमा गण्डक क्षेत्रमा भएको महत्त्वपूर्ण किसान सङ्घर्ष, २०२८ सालमा सामन्त, जमिन्दार, प्रशासनिक दमन विरोधी किसान विद्रोेह, २०२९–३० सालमा झापा जिल्लामा भएको झोडा किसान सङ्घर्ष, २०३४–३५ को शोषक सामन्त विरुद्धको ऐतिहासिक जुगेडी–जुटपानी जुझारु किसान सङ्घर्ष, २०३६–३७ मा पूर्वी तराईका सिराहा, सर्लाही, महोत्तरी, धनुषा र सिन्धुली आदि जिल्लामा कृषि उपजको उचित मूल्य लगायत भ्रष्ट प्रशासन तथा काला व्यापारीहरूको विरुद्धको किसान सङ्घर्ष र २०५२ साल फाल्गुण १ गतेबाट ने.क.पा.(माओवादी) को नेतृत्वमा सञ्चालित जनयुद्ध र त्यसले पैदा गरेको विकसित किसान विद्रोह नेपाली किसान आन्दोलनका महत्त्वपूर्ण घटनाक्रमहरू हुन् ।

ऐतिहासिक जुगेडी किसान सङ्घर्ष: संक्षिप्त परिचय

चितवनको नारायणगढ मुग्लिन सडक खण्डको नारायणगढ बजार देखि करिब ५ कि.मि. अगाडि जुगेडी बजार छ, जहाँ चितवन जिल्लाको पहाडी भु–भाग काउले, कविलास लगायत आसपासका गा.वि.स.का जनताहरूलाई पायक पर्ने सानो तर चहल पहल राम्रो भएको बजार थियो । त्यस समयमा सडकहरू त्यति व्यवस्थित थिएनन् र त्यस क्षेत्रका जनताहरूलाई आवश्यक पर्ने वस्तुहरू किन्न र आफूहरूले उत्पादित वस्तुहरू बिक्री गर्न अन्य बजारहरूमा आउन सम्भव थिएन । पहाडी भू–भागमा धेरैजसो चेपाङ र गुरुङ जातिका आदिवासी जनता बसोबास गर्दथे र त्यो उनीहरूको पुर्खौली थलो पनि हो ।

चितवनको तराई भू–भाग अधिकांश जङ्गल थियो र राणा–राजाहरूको शिकार खेल्ने स्थानका रूपमा परिचित थियो । त्यस पहाडी भू–भागमा बसोवास गर्ने जनताहरू अत्यन्तै मेहनेती तर अशिक्षित थिए । रोग, भोक र गरिबीले अक्रान्त थिए । उब्जाउ भूमि ज्यादै न्यून भएको हुँदा उत्पादित वस्तुले खान नपुगी भोकभोकै वा जङ्गली कन्दमूल खाएर जीवन धान्नुपर्ने अवस्था थियो । औषधीमूलो नपाएर अकालमै मर्नुपर्ने नियति भोग्दै आएका थिए । त्यसमा पनि सामन्ती, जाली, शोषक, फटाहाहरूको शोषण अन्याय अत्याचार झेल्न बाध्य थिए ।

वि.सं. २०१३ सालमा राप्ती दून जग्गा वितरण कमिसनले चितवनको तराई भू–भागमा जग्गा वितरण गरेपछि देशका विभिन्न जिल्लाहरूबाट बसाइँ सरी आउने क्रममा तनहुँको बन्दीपुरबाट व्यवसाय गर्न आएका साहु धर्मराज मुल्मीले उक्त जुगेडी बजारमा खाद्यान्न र कपडाको पसल राख्दै आएका थिए । चिन्तन र प्रवृतिका हिसाबले शोषक, सामन्ती र जाली भएका उनले त्यस क्षेत्रका जनतालाई शोषण र जालझेल गर्दै आएका थिए । खान र लाउन नपुगेर भोकै–नाङ्गै बस्न विवश जनताले आफूसँग भएको सुन, चाँदी, तामाका भाँडाकुँडा जस्ता सामानहरू साहु धर्मराज मुल्मी कहाँ धरौटी राखेर आफ्नो गर्जो टार्न खाद्यान्न, नुन, कपडा आदि लैजाने गर्दथे । आफ्नो उत्पादित वस्तुको भाउ सस्तो र साहु कहाँ भएको सामानको चर्को भाउ र धरौटी राखेर लिएको सामानको पैसाको चर्को ब्याज तिर्नुपर्ने र समयमा पैसा तिर्न नसके साँवा ब्याजको दोब्बर हर्जाना बुझाउनु पर्ने हुँदा धरौटी राखेको गरगहना सामानहरू साहु धर्मराज मुल्मीले जफत गर्दथे । पाँच पाथी तोरीको १० पाथी ब्याज गरी वर्षमा १५ पाथी तोरी साँवा ब्याज भुक्तानी गर्नु पर्दथ्यो । यस बाहेक पनि धाने ब्याज, सुके ब्याज, आदि साहु धर्मराज मुल्मीले लिने गर्दथे । गरिबीका कारणले यी सबै काम गर्न जनता बाध्य थिए । साहु धर्मराज मुल्मीको यस प्रकारको शोषणले गर्दा जनता दिन प्रतिदिन सुकुम्बासी बन्दै गए भने शोषक धर्मराज मुल्मी करोडौँको मालिक बन्दै गए । जनतालाई शोषण र जालझेल गर्न उनलाई कुनै नैतिकता र धर्मले छुँदैनथ्यो । न त कुनै दिन मैले यो शोषणको बदलामा ठूलो मूल्य चुकाउनु पर्दछ भन्ने नै ठान्दथे । समय बित्दै जाने क्रममा जनता बन्दिपुरे साहु धर्मराज मुल्मीको शोषण अत्याचारबाट पीडित र आक्रोशित बन्दै गए तर उनीहरूसँग ज्ञान चेतनाको अभावमा आफूहरूमाथि भएको अन्याय–अत्याचार चुपचाप सहेर बस्नु बाहेक अर्को विकल्प थिएन ।

नेपाली कम्युनिस्ट आन्दोलनको एक घटकका रूपमा जनतालाई सङ्गठित र आन्देलित गर्दै आइरहेको तत्कालीन मजदुर किसान पार्टीले (पछि सर्वहारा श्रमिक सङ्गठन) आफ्नो सङ्गठनात्मक विस्तार चितवन जिल्लामा पनि गरिरहेको थियो । सङ्गठन विस्तार गर्ने क्रममा चितवनको पहाडी भूभागका गाउँ बस्तीहरूका पीडित जनतालाई सङ्गठित गर्ने सिलसिलामा त्यस क्षेत्रका अन्याय, अत्याचार र शोषणमा पिल्सिएका जनतालाई सङ्गठित गर्ने र चेतना दिने कामलाई अगाडि बढायो । ‘जहाँ समस्या हुन्छ, त्यहाँ उपाय, जहाँ अन्याय हुन्छ, त्यहाँ विद्रोह’ भन्ने मान्यतालाई आत्मसात् गर्दै शोषक अत्याचारी धर्मराज मुल्मीविरुद्ध शोषणमा पिल्सिएका किसानहरूलाई साथमा लिएर कारबाही गर्ने योजना बनायो । सङ्गठनका कार्यकर्ताहरू त्यस क्षेत्रमा केन्द्रित गर्दै व्यापक तयारीका साथ २०३४ साल अषाढ ६ गते बिहान ५ बजे सयौँको सङ्ख्यामा क्रान्तिकारी कार्यकर्ता र किसान जनसमुदाय जुगेडी बजारमा पुगे । त्यो सानो बजार पहाडको फेदी र खोलाको दोभान पारेर राखिएको झुप्रा पसलहरूको बिचमा २ ओटा सेता घरहरू थिए, शोषक धर्मराज मुल्मीका । पूर्वयोजना अनुसार क्रान्तिकारी जनसमुदायले धर्मे साहुको घर लगायत जुगेडी बजरलाई चारैतिरबाट घेरा हाली बाटो समेत छेके । त्रिशूलीको तिरमा भएका दुई वटा डुङ्गामध्ये एउटालाई नदीमा बगाए र अर्कोलाई पाखामा ल्याएर आँपको फेदमा बाँधिदिए । साहु धर्मराज मुल्मीको घरको बन्द ढोकाहरू तोडफोड गर्दै आन्दोलनकारीहरू मध्येका एक जना युवा कार्यकर्ता घरमाथि चढेर जुगेडी बजारमा बस्ने अन्य व्यापारी तथा जनसमुदायलाई सम्बोधन गर्दै आन्दोलनकारी शक्तिको परिचय दिने र शोषक सामन्ती धर्मराज मुल्मीको घर सम्पति कब्जा गर्न आएको जानकारी दिँदै अरू जनतालाई आ–आफ्नै घरमा बस्नका निम्ति अपिल गरे । अन्य क्रान्तिकारी कार्यकर्ता एवम् जनसमुदाय साहु धर्मराज मुल्मीको घरभित्र पसी घरभित्र रहेका धर्मे साहु र तिनका परिवारलाई उनकै पसलका कपडाले हात फर्काई बाँधी कब्जामा लिँदै पसलमा भएको सम्पूर्ण अन्नपात लत्ता कपडा, धन, सम्पति कब्जा गरे र कब्जा गरिएको समानाको भारी बनाई बोकेर आफ्नो लक्षित स्थानतिर लागे ।

साहु धर्मराज मुल्मी आफ्नो हातमा बाँधिएको डोरी अरू छिमेकीलाई खोल्न लगाई त्यहाँबाट उम्किएर जिल्ला सदरमुकाम प्रहरी कार्यालयमा शरण लिन पुग्यो र घटनाको सम्पूर्ण विवरण जाहेर ग¥यो । यता झन्डै दुई अढाई घण्टापछि जङ्गल र उकालो बाटो हुँदै आन्दोलनकारीहरू अन्तिम जम्मा हुने स्थान सिमलभञ्ज्याङमा पुगे । जङ्गल र उकालो बाटो भारी बोकेर हिँडेर थकित भएका जनता थकाई मेट्न र कब्जा भएका सामानहरू जनही बराबरी भाग लगाउने उद्देश्यले सिमलभञ्ज्याङको सानो चौरमा कब्जा भएका कपडा, अन्न, भाँडाकुँडा लगायतका सामानहरू थुपार्ने र सामानहरू बाँडफाँड गर्ने काम गरिरहेका थिए । केही आन्दोलनकारीहरू आफ्नो भागमा परेको सामान बोकी आफ्नो गाउँतिर हिँडिसकेका थिए भने कतिपय आन्दोलनकारीहरू आफ्नो भागको सामानहरूको भारी बोकेर हिँड्ने तरखरमा थिए । असार महिना भए पनि ठूलो वर्षात्पछि आकाश खुलेको हुँदा घाम छर्लङ्ग लागेको थियो ।

यता शोषक धर्मराज मुल्मीको उजुरीले पागल बनेको तत्कालीन प्रतिक्रियावादीका पुलिसहरू आन्दोलनकारीहरूको पिछा गर्दै त्यही ठाउँमा आइपुगे । पहाडी भूभागमा भएको हुँदा आन्दोलनकारी कसैलाई पनि पत्तो भएन भने रुखमा चढेर दुस्मनको निगरानी गरिरहेका क. सन्त बहादुर प्रजा लगायतका आन्दोलनकारीहरूले दुस्मन आएको थाहा पाएनन् ।

एकाएक राइफलको गोलीको आवाज आयो । सबै आन्दोलनकारी सतर्क भएर हेर्दा दुस्मनहरू नजिकै आइसकेका रहेछन् । कतिपय आन्दोलनकारीले सामान बोकी र कतिपयले सामान छोडी जङ्गल भिरपाखामा चारैतिर भागदौड गरे, चारैतिर कोलाहल मच्चियो । भारी बोकी हिँड्दै गरेका क. दशरथ चेपाङ प्रहरीको गोली लागी तत्काल त्यहीँ ढल्नु भयो । त्यसको केही क्षणपछि रुखमा बसी दुस्मनको निगरानी गरिरहेका क.सन्त बहादुर प्रजालाई भाग्दै गरेको अवस्थामा दुस्मनको गोली लागेर ढल्नुभयो भने बाँकी भाग्न सफल भए ।

क. दशरथ चेपाङ र क. सन्त बहादुर प्रजाको लास त्यहीँ छोडेर आन्दोलनकारीहरूले छोडेका सामानहरूलाई नियन्त्रणमा लिई प्रहरीहरू सदरमुकाम फर्के । त्यसपछिका दिनहरूमा त्यस क्षेत्र लगायतका जिल्लाका अधिकांश गाउँ बस्तीहरूमा प्रतिक्रियावादी प्रहरीले खानतलासी, धरपकड सुरु गर्‍यो र दर्जनौँ क्रान्तिकारी कार्यकर्ता र जनतालाई गिरफ्तार गर्‍यो । क. नन्दबहादुर प्रजा, क. भक्तबहादुर प्रजा र ३ जना महिला सहित १५ जना कार्यकर्ता र जनताहरूलाई गिरफ्तार गरी झुठा मुद्दामा जेल चलान गर्‍यो । जेलमा प्रहरीद्वारा कठोर दमन गर्ने क्रममा क. नन्दबहादुर प्रजा र क. भक्तबहादुर प्रजाको जेलमा नै मृत्यु भयो । बाँकी कठोर जेल सजायपछि जेलमुक्त हुनुभयो । यो घटना राष्ट्रिय रूपमा मात्र नभई अन्तर्राष्ट्रिय रूपमा पनि व्यापक प्रचार प्रसार भयो । बी.बी.सी. र भ्वाइस अफ अमेरिकाको हिन्दी रेडियोले समेत प्रचार प्रसार गर्यो भने देशका विभिन्न राजनीतिक शक्तिहरूले यो घटनाको विरोध र समर्थनमा आफ्ना धारणाहरू सार्वजानिक गरे ।

यस सङ्घर्षको घटनाले मुलुकमा क्रान्तिकारी किसान आन्दोलनको आवश्यकतालाई पुष्टि गर्‍यो । सामान्य सीमा र कमजोरीका बाबजुद जुगेडी किसान विद्रोह नेपाली किसान आन्दोलनको ऐतिहासिक आवश्यकताको कडीका रूपमा स्थापित हुन पुग्यो । नेपाली क्रान्तिकारी किसान आन्दोलनमा जुगेडी किसान सङ्घर्षको युग–युगसम्म महत्त्व रहिरहने छ ।

किसान सङ्घर्ष दिवसः

नेपाली क्रान्तिकारी किसान सङ्गठन र नेपाली किसानहरूको पूर्ण मुक्तिका लागि समर्पित र सङ्घर्षशील क्रान्तिकारी किसान नेतृत्व, कार्यकर्ता र जनसमुदायले ऐतिहासिक जुगेडी किसान सङ्घर्षको ऐतिहासिक महत्त्व र क्रान्तिकारी किसान सङ्घर्षको आवश्यकतालाई गम्भीर रूपमा आत्मसात् गर्न आवश्यक छ । हाम्रो गौरवशाली सङ्गठन अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले जुगेडी किसान सङ्घर्षलाई क्रान्तिकारी किसान सङ्घर्ष दिवसको प्रतीकका रूपमा लिँदै आएको छ । यसको आवश्यता र औचित्यबारे हामी आफूले बुझ्नु र सबैलाई बुझाउनु पनि त्यति नै आवश्यक छ ।

पहिलो कुरा, नेपालमा विभिन्न समूहहरूमा छरिएर रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरू तत्कालीन ने.क.पा.(मशाल), ने.क.पा. (चौथो महाधिवेशन), सर्वहारावादी श्रमिक सङ्गठन, जनमुखी पार्टी र नेकपा (विद्रोही मसाल)मा आबद्ध कम्युनिस्ट क्रान्तिकारी कार्यकर्ताहरूका बीचमा २०४७ सालमा एकता भई स्थापित भएको ने.क.पा. (एकताकेन्द्र) को केन्द्रीय समितिको बैठकले प्रत्येक वर्ष अषाढ ६ गतेलाई किसान सङ्घर्ष दिवसका रूपमा मनाउने निर्णय गर्यो । तत्कालीन एकीकृत अखिल नेपाल किसान सङ्गठनको समेत यही निर्णय थियो । दोस्रो कुरा, यसले नेपाली किसान आन्दोलनमा व्याप्त दक्षिणपन्थी सुधारवाद, अवसरवाद, आत्मसमर्पणवाद, गतिहीनता, अर्कमण्यता र कुण्ठालाई चिर्दै क्रान्तिकारी किसान आन्दोलनलाई निरन्तरता दिने र त्यसको आवश्यकता र औचित्यताको पुष्टि गरेको थियो । तेस्रो कुरा, यसले विद्रोह सधैँ शोषण, दमन, जालझेल, अन्याय र अत्याचारको गर्भबाट पैदा हुन्छ र त्यसको नेतृत्व आधारभूत वर्ग र जनसमुदायले गर्न सक्छन् भन्ने प्रमाणित गरेको छ । यिनै आधारहरूको जगमा किसान सङ्घर्ष दिवसको औचित्य अन्तरनिहित रहेको छ ।

आज पनि देशमा क्रान्तिकारी किसान आन्दोलनको त्यति कै आवश्यकता र महत्त्व छ । जनताको त्याग, बलिदान र समर्पणले मलुकमा राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ तर जनताका चाहना र सपनाहरू पूरा हुन सकेका छैनन् । शान्ति, गणतन्त्रको र राष्ट्रिय सार्वभौमिकतामाथि प्रहार अहिले पनि कायमै छ । सामन्तवाद पराजित भए पनि सामन्तवादको पूर्ण उन्मूलन हुन बाँकी नै छ । जनताको प्यारो शक्ति नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बिचमा पार्टी एकता भएकाे छ । नेपाल कम्युनिस्ट पार्टीकाे झण्डै दुइ तिहार्इकाे शक्तिशाली सरकार छ । जनताकाे पक्षमा कामहरू गर्नका लागि एउटा ठूलाे अबसर अाएकाे छ । यतिबेला लोभ, लालच र मोहमा नफसी वर्ग दुस्मनका यी चौतर्फी षड्यन्त्र, दमन, जालझेल र घेराबन्दी तोड्नका लागि पहलकदमी आफ्नो हातमा लिँदै सम्पूर्ण किसान, मजदुर र उत्पीडित जाति, वर्ग र समुदायहरू एक ढिक्का हुँदै समाजवादी क्रान्तिकाे घनीभूत तयारीमा लाग्न जरुरी छ । किसान सङ्घर्ष दिवसले कृषि क्रान्ति सहित जनवादी क्रान्तिका बाँकी कार्यभारहरूलाई पुरा गर्दै समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्न हामी सबैलाई प्रेरणा दिइरहने छ । किसान सङ्घर्ष दिवस – जिन्दावाद । वीर किसान सहिदहरू – लाल सलाम ।

यो पनि पढ्नुहोस्ः क. भीमदत्त पन्त र सशस्त्र किसान विद्रोह – क. चित्रबहादुर श्रेष्ठ

यो पनि पढ्नुहोस्ः अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र): एक संक्षिप्त परिचय

यो पनि पढ्नुहोस्ः एकदेव आले, तिमीलाई सयबार सलाम – क. नारायणमान बिजुक्च्छे ‘रोहित’

(२०७५ असार ६ गते)

(लेखक अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष हुनुहुन्छ सम्पादक ।)