death of Stalin
 

(समाजवादी क्रान्तिलाई ध्वस्त गर्नका लागि साम्राज्यवादीहरू र तिनका विश्वभर छरिएर रहेका दलालहरूले निरन्तर रूपमा सोभियत सङ्घ र रुसी क्रान्तिका महानायकहरू क. लेनिन र क. स्टालिनका विरुद्ध निरन्तर कुप्रचार गर्ने गरेका छन् । त्यसमा पनि तिनीहरूले रुसी क्रान्तिका एक महान् नेता, क. लेनिनका सहयोद्धा, लेनिनवादका व्याख्याता, संशोधनवाद विरोधी सङ्घर्षका जुझारु योद्धा, सोभियत सङ्घका तत्कालीन राष्ट्रपति, सोभियत समाजवादका निर्माता, दोस्रो विश्वयुद्धमा साम्राज्यवाद, नाजीवाद र फासीवादलाई घुँडा टेकाउन सफल क. जोसेफ स्टालिनका विरुद्ध अझ बढी निन्दनीय र घृणित तरिकाले आक्रमण गर्ने गरेका छन् । परन्तु समाजवादीहरूको तर्फबाट उहाँको रक्षा गर्ने र वास्तविकतालाई आम जनताको बिचमा ल्याउन पर्याप्त कार्य हुन सकेको छैन । यस सन्दर्भमा प्रस्तुत आलेख नर्थस्टार कम्पासका प्रधान सम्पादक माइकल लुकासद्वारा सङ्कलित र सम्पादित पुस्तक ‘सेक्रेट डकुमेन्ट्स’ को वर्कर्स पब्लिकेसनद्वारा अनुवादित तथा प्रकाशित ‘गुप्त दस्तावेजहरू’बाट साभार गरी प्रकाशित गरिएको हो – सम्पादक) ।

सन् १९५३ को मार्च ३ मा सोभियत कम्युनिस्ट पार्टीको केन्द्रीय समिति र सोभियत मन्त्री परिषद्ले संयुक्त प्रेस विज्ञप्ति जारी गरे – “ …हाम्रो पार्टी र सोभियत जनताका लागि ठूलो बज्रपात भएको छ” (कम्युनिस्ट, ३ मार्च, १९५३, प्राब्दा र इज्भेस्टिया, ४ मार्च १९५३, पृष्ठ १, सोभियत प्रेसको सामयिकी, अङ्क ५, पूर्णाङ्क ६, २१ मार्च, १९५३, पृष्ठ १) ।

Michael Lucas
लेखक

विज्ञप्तिमा उल्लेख छ – “… मार्च १–२ को राति श्रद्धेय नेता कमरेड स्टालिन बेहोस हुनुभयो । उहाँको दिमागमा रगत जमेको कारण दिमागले काम गर्न छोड्यो । दायाँ हात तथा दायाँ खुट्टा नचल्ने (प्यारलाइसिस) भयो । उहाँको बोली फुटेन । मुटु र स्वासप्रश्वास प्रणालीमा गम्भीर समस्या देखापर्यो । कमरेड स्टालिनको उपचारका लागि देशकै सम्मानित एवम् विशिष्ट डाक्टरहरूलाई बोलाइएको छ । …. सोभियत कम्युनिस्ट पार्टी केन्द्रीय समिति र सोभियत सरकारको प्रत्यक्ष निगरानीमा उहाँको उपचार भइरहेको छ ।” (सरकारी विज्ञप्ति, ३ मार्च १९५३, प्राव्दा र इज्भेस्टिया, ४ मार्च १९५३, पृष्ठ १, सोभियत प्रेसको सामयिकी, अङ्क ५, पूर्णाङ्क ६, पृष्ठ ४) ।

४ मार्चको बिहान सबेरै उहाँको स्वास्थ्य स्थितिबारे जानकारी गराउन बुलेटिन प्रकाशन गरियो, जसमा उल्लेख छ – “ ४ मार्चको राति २ बजेसम्म पनि कमरेड जे.भी. स्टालिनको स्वास्थ्य अवस्था गम्भीर थियो । श्वासप्रश्वासमा निकै समस्या देखियो । उहाँको मुटुको धड्कन एक मिनेटमा ३६ पटक र त्यो पनि निकै अनियमित देखियो । कहिलेकाहीँ लामो समयसम्म पनि श्वास फेर्न सक्नुहुन्न । नाडीको चाल एक मिनेटमा १२० पटक पाइयो । उहाँको रक्तचाप अधिकतममा २२० र म्यूनतममा १२० देखियो । उहाँको शरीरको तापक्रम ३८.२ डिग्री सेल्सियस थियो । रक्तचाप र नाडीको चालको गडबडीले गर्दा उहाँका अङ्गहरू राम्ररी चल्न सकेनन् । दिमागले पनि विस्तारै काम गर्न छाड्यो । अहिले उहाँका प्रमुख अङ्गहरू सञ्चालन गराउने अथक प्रयास भइरहेको छ र सघन उपचार गराइएको छ ।” (स्वास्थ्य बुलेटिन, ४ मार्च १९५३, सोभियत प्रेसको सामयिकी, अङ्क ५, पूर्णाङ्क ६, पृष्ठ ४) ।

५ मार्चको बिहान अर्को स्वास्थ्य बुलेटिन प्रकाशित गरियो । त्यसमा लेखिएको थियो – “४ मार्चको दिनभरि नै सघन उपचार गरियो । उहाँलाई अक्सिजनका साथै क्याफिन र ग्लुकोज पनि निरन्तर दिइयो । नियमित रक्त परीक्षण पनि गरियो । मार्च ४ को रातिसम्ममा उहाँ झन् सिकिस्त हुन थाल्नुभयो । उहाँको होस खुलेको थिएन ।

अन्ततः मार्च ६ का दिन कमरेडको दुःखद् निधन भएको अस्पतालको रिपोर्टले बतायो । रिपोर्टमा भनिएको छ – “मार्च ५ को दिउँसो कमरेड स्टालिनको स्वास्थ्य अवस्था नाजुक बन्दै गयो । उहाँलाई श्वास लिन गाह्राे भइरहेको थियो । नाडीको चाल प्रतिमिनेट १४० देखि १५० सम्म पुगेको थियो तर पल्स प्रेसर भने स्वात्तै घटेको थियो ।

अन्त्यमा अस्पतालमा २१ घण्टा ५० मिनेटसम्मको सघन उपचार गराउँदा गराउँदै पनि उहाँको मुटुले काम गर्न छाड्यो, श्वास फेर्न कठिन भयो र उहाँको देहान्त भयो । (स्वास्थ्य बुलेटिन, ६ मार्च १९५३, प्राव्दा र इन्भेस्टिया, ६मार्च १९५३, पृष्ठ १, सोभियत प्रेसको सामयिकी, अङ्क ५, पूर्णाङ्क ६, पृष्ठ ५) ।

कमरेड स्टालिनको असामयिक निधनको औपचारिक पुष्टि गर्न सोभियत कम्युनिस्ट पार्टी केन्द्रीय समिति र सोभियत राष्ट्रपति कार्यालयबाट संयुक्त विज्ञप्ति जारी गरियो । विज्ञप्तिमा उल्लेख थियो –

“श्रद्धेय नेता कमरेड लेनिनको हृदय, उहाँका दायाँ हात, सोभियत सङ्घमा लेनिनवादलाई अझ बलियो बनाउँदै समाजवादी क्रान्तिलाई निरन्तरता दिने उच्च एवम् विवेकशील नेता तथा सोभियत कम्युनिस्ट पार्टी र सोभियत जनताका गुरु कमरेड जोसेफ भिसारियोनोभिच स्टालिन (Joseph Vissarionovich  Stalin) को देहावसान भयो । हाम्रो पार्टी, सोभियत जनता र संसारकै कामदार जनता कमरेड स्टालिनप्रति उच्च सम्मान प्रकट गर्दछन् । ….श्रद्धेय नेता कमरेड लेनिनले कोर्नु भएको बाटो पछ्याउँदै कमरेड स्टालिनले सम्पूर्ण सोभियत जनतालाई समाजवादी निर्माणको बाटोमा हिँडाउन सफल हुनुभयो । कमरेड स्टालिनले दोस्रो विश्वयुद्धमा सोभियत क्रान्तिकारी जनताको नेतृत्व गर्दै फासीवादलाई पराजित गर्न सफल हुनुभयो । फासीवादको पराजयले अन्तर्राष्ट्रिय राजनीतिमा नै आमूल परिवर्तन आयो । कमरेड स्टालिनले सोभियत सङ्घमा समाजवाद र साम्यवाद स्थापनाका लागि हाम्रो पार्टी र सम्पूर्ण सोभियत जनतालाई स्पष्ट दृष्टिकोण र कार्यक्रमसहित वैचारिक हतियारले सुसज्जित पार्नुभयो ।”

समाजवाद र साम्यवाद स्थापनाका लागि आफ्नो जीवन समर्पण गर्ने महान् नेता कमरेड स्टालिनको दुःखद निधनले हाम्रो पार्टी अनि सोभियत जनता र संसारभरकै सम्पूर्ण कामदार जनताको लागि अपूरणीय क्षति पुगेको छ ।” (सोभियत कम्युनिस्ट पार्टी केन्द्रीय समिति र सोभियत मन्त्रीपरिषद् तथा राष्ट्रपतिको कार्यालयबाट प्रकाशित संयुक्त विज्ञप्ति प्राव्दा र इज्भेस्टिया, ६ मार्च १९५३, पृष्ठ १, सोभियत प्रेसको सामयिकी, अङ्क ५ पूर्णाङ्क ६, पृष्ठ ५) ।

शङ्कास्पद मृत्यु

स्टालिनको मृत्युसँग जोडिएका थुप्रै घटनाक्रमहरूले उहाँको ‘शङ्कास्पद मृत्यु’ भएको देखाउँछन् ।

पहिलो कुरा, फेब्रुअरी महिनाको अन्त्यसम्ममा पनि कमरेड स्टालिन स्वस्थ हुनुहुन्थ्यो । फेब्रुअरी महिनामा तीनजना विदेशीले कमरेड स्टालिनलाई भेटेका थिएः सोभियत सङ्घ स्थित अर्जेन्टिनी राजदूत ब्राभो, भारतीय राजदूत मेनन र भारतीय शान्तिदूत डा. किच्लु – ती तीनै जनाले कमरेड स्टालिन शारीरिक रूपमा स्वस्थ र उच्च मनोबलको रहेको बताएका थिए । (एच. सालिस्बरी: स्टालिनको रुस र उनको निधनपश्चात, लन्डन, १९५३, पृष्ठ १५७) ।

दोस्रो कुरा, मार्च १–२ को राति स्टालिनको स्वास्थ्य अवस्था निकै बिग्रेको र उहाँको उपचार गर्न ढिलो भइसकेको बताइयो ।

“ख्रुश्चेभले यही नै समय भनेर किटान त गरेनन्, तर उनको भनाइ विश्वास गर्न सकिने खालको थिएन । उनले स्टालिनको उपचारका लागि डाक्टरहरू मार्च २ तारिखको बिहान ५ बजेभन्दा अगाडि नै आइपुगेको बताएका थिए । तर स्टालिन बेहोस भएको करिब १२ धण्टापछि मात्र डाक्टरहरू पुगेका थिए । …..स्टालिन बेहोस हुनासाथ डाक्टरहरूद्वारा उपचार थालेको भन्ने कुरा झुठ हो । (आर. एच. म्याकनिल, उही पुस्तक, पृष्ठ ३०४) ।

स्टालिनमाथि के गरियो भन्ने अझै पनि रहस्यको विषय बनेको छ । उहाँलाई राति ११ बजे खाना खान बोलाउनुअघि नै उहाँका सुरक्षाकर्मीहरूलाई सतर्क रहन आदेश दिइएको थियो । ….. सुरक्षाकर्मीहरूले उहाँलाई अचेत अवस्थामा सोफामा सुताएका थिए, तर डाक्टरहरूलाई भने बिहान मात्र बोलाइएको थियो ….. ।

रातभरि स्टालिनलाई बिनाउपचार त्यतिकै राखिएको थियो, जसले गर्दा बिहानबाट सुरु गरिएको उपचार प्रभावहीन बन्यो ।

स्टालिनको उपचारका लागि पार्टी नेताहरूले किन ढिलाइ गरे ? केही इतिहासविद्हरूले स्टालिनको सुनियोजित हत्या गरिएको प्रमाण भेट्टाएका छन् । अब्दुराखमन एभ्तोरानोभले स्टालिनलाई समाप्त पार्न ३० जना विपक्षीहरूले बनाएका योजनाहरू फेला पारेका छन् ।” (जे. लेविस र पी. ह्वाइटहेड ‘स्टालिनः न्यायका लागि उपयुक्त समय’, लन्डन, १९९०, पृष्ठ १७९) ।

“भोलिपल्ट बिहान मात्र …डाक्टरहरूको पहिलो टोली पुग्यो ।”

“हाम्रो नेता बेहोस भएको १२ देखि १४ घण्टापछि मात्र डाक्टरहरू आइपुगे ।”

तेस्रो कुरा, कमरेड स्टालिनको मृत्युसम्बन्धी समाचार सम्प्रेषण गर्दासमेत जानाजानी झुठो बोलिएको छ । स्टालिनको मृत्यु उहाँको मस्को निवासमा भएको बताइयो, जबकि वास्तवमा उहाँको मृत्यु कुन्ट्सेभोस्थित दाचामा भएको थियो । आदम उलामले भनेका छन् – “… स्टालिनको निधनमा षड्यन्त्रको गन्ध छ । सरकारी विज्ञप्तिमा क. स्टालिनलाई क्रेमलिनस्थित निवासमा हृदयघात भएको थियो ।…. छोरी स्भेतलानालाई गाउँको घरमा बोलाइएको थियो र अन्तिम समयसम्म पनि उनी बुवासँगै थिइन् । उहाँलाई मस्कोबाट निकै टाढा राखिएको थियो । …. स्टालिनको निधनबारे सरकारी विज्ञप्तिले नै झुठो प्रचार गर्यो ….।

यस झुठको पछाडि स्वाभाविक कारण छ । त्यो हो: स्टालिनका अनुयायीहरूलाई उहाँलाई हृदयघात भएको समयमा उहाँ रहेको स्थानबारे गलत सूचना दिनु …. । षड्यन्त्रकारीहरूले उहाँलाई अपहरण गरी गाउँमा नजरबन्दमा राखेका थिए र त्यहीँ उहाँको निधन भएको थियो । क्रेमलिन अगाडि स्टालिनका अनुयायीहरूको हुल जम्मा होस् र त्यहीँ केन्द्रित भएर आफ्ना रक्षक वा पिताको निधनबारे जानकारी मागिरहोस्, अनि आफ्नो षड्यन्त्रको पोल नखोलियोस् भन्ने षड्यन्त्रकारीहरूको सोच थियो ।”

चौथो कुरा, हामी सबैलाई ज्ञातै छ, संशोधनवादी षड्यन्त्रकारीहरू स्टालिनलाई समाप्त पार्न कति हतारिएका थिए भन्ने कुरा ।

“भवितव्य पनि कस्तो, क्रेमलिनका डाक्टरहरूलाई कार्वाही गरिएको केही हप्ता पनि बित्न नपाउँदै कमरेड स्टालिनको देहान्त भयो । दुवै करिब एकै समयमा हुनु संयोग नै मान्नुपर्छ । तर साँच्चिकै यो भवितव्य हो त ? … सोभियत सङ्घका शक्तिशाली नेता र तिनीसँगै तिनका अनन्य मित्रहरू, सैन्य प्रमुखहरू सबैलाई एउटै समयमा खत्तम पारिन सम्भव थियो र ? तिनीहरूका विरुद्ध त्यस्तो ठूलो षडयन्त्र हुँदा पनि त्यसविरुद्ध कुनै कदम नचालिनु अचम्म लाग्दो कुरा थियो ।

यद्यपि स्टालिनको हत्या नै भएको भनी निश्चित गर्न गाह्राे छ, हत्याको कुनै ठोस प्रमाण भेटिएको छैन, तर उहाँको निधन प्राकृतिक रूपमै भएको भए उहाँका घनिष्ट मित्रहरूका लागि उहाँको जीवनको अन्तिम समयमा सँगै बस्न दिइएको भए धन्य हुन्थ्यो ।”

पाँचौ कुरा, स्टालिनको निधनको अघिल्लो महिनादेखि नै षड्यन्त्रकारीहरूले होसियारीपूर्वक चालेका र त्यसअघि उहाँको निजी सुरक्षा बन्दोबस्त ध्वस्त पार्न खेलिएको षड्यन्त्रबारे हरेक घटनाक्रमलाई विश्लेषण गर्न आवश्यक छ ।

स्टालिन निधनको केही हप्तापछि नै उहाँको हत्या गरिएको हल्ला फैलनु आवश्यक थिएन । “विशेषतः जर्जिया राज्य, जहाँ उहाँलाई विष खुवाइएको थियो, त्यहाँ उहाँको हत्या गरिएको खुबै हल्ला फैलिएको थियो ।” (डब्ल्यु लाक्वर, उही पुस्तक, पृष्ठ १५१) ।

रोबर्ट कन्क्वेस्टले कमरेड स्टालिनको सम्भावित हत्याबारे सार्वजनिक ठाउँमै बोलेका थिए । – आर. कन्क्वेस्ट, १९६१, पृष्ठ १७२) ।

स्टालिनका पूर्व सुरक्षा प्रमुख भ्लासिक पदमुक्त भएपछि मस्को छोड्दा स्टालिनका छोरा भासिलीले चिच्याउँदै भनेका थिए – “तिनीहरूले उहाँलाई मार्नेछन् ! तिनीहरूले उहाँलाई मार्नेछन् !” उनले ‘तिनीहरू’ भनेर पार्टी केन्द्रीय समितिका पोलिटब्युरो सदस्यहरूलाई भन्न खोजेका थिए भने ‘उहाँ’ भनेर आफ्नो बुवालाई इङ्गित गरेका थिए ।” (पी. डेरियाविन, उही पुस्तक, पृष्ठ ३२१) ।

“स्टालिनका छोरा भासिली निरन्तर चिच्याइरहेका थिए – ‘बद्मासहरूले मेरो बुवालाई मारे !’ ” (डी. भोल्कोगोनोभ, उही पुस्तक, पृष्ठ ७७४) ।

“भासिली जँड्याहा थिए, तर पनि उनले निरन्तर सार्वजनिक रूपमै आफ्नो बुवाको हत्या गरिएको आरोप लगाइरहे । त्यही कारणले उनलाई १९५३ को अप्रिलमा गिरफ्तार गरियो । उनको दिदी स्भेतलानाले नै उनलाई ‘अलग्ग राख्न’ आग्रह गरेकी थिइन् । स्भेतलानाले भनेकी थिइन् – “मेरो बुवाको निधनपश्चात भाइ भासिलीलाई गिरफ्तार गरियो । उसले सरकारलाई धम्की दिइरहेको थियो, शत्रुले बाबुलाई मारेको आरोप लगाइरहेको थियो । ऊ सधैंजसो मान्छेहरू जम्मा पारेर यसरी नै आरोप लगाइरहन्थ्यो । त्यसै कारणले उसलाई अलग्ग राख्न आग्रह गरेकी थिएँ । ऊ सन् १९६१ सम्म जेलमा बस्यो र त्यस लगत्तै उसको मृत्यु भयो ।” (एस. आलिलुएभाः ‘मात्र एक वर्ष’, लन्डन, १९६९, पृष्ठ २०२) ।

“भासिलीलाई आफ्नो बुवा स्टालिनलाई विष खुवाइएको र मारिएको भनेर नै सम्झाइएको थियो … । कमरेड स्टालिनलाई समाधि गर्ने समयसम्म पनि उसले सोभियत सरकार र डाक्टरहरू मिलेर आफ्नो बुवालाई गलत उपचार गरी मारेको आरोप लगायो….। उसलाई सन् १९५३ अप्रिल १८ मा गिरफ्तार गरियो ….। सैनिक न्यायालयले उसलाई आठ वर्षको जेल सजाय सुनाएको थियो …. । सन् १९६२ मार्च १९ मा उसको निधन भयो । (एस. आलिलुएभा, १९६७, पृष्ठ २२२, २२३, २२४, २२८) ।

जर्ज बर्टोलीले टिप्पणी गरेका थिए – “सर्वसाधारणले मनमा गुम्साइरहेको कुरा भासिली स्टालिनले सबै सामु चर्को स्वरले बोल्यो । विस्तारै जनताले यस अपराधबारे गाइँगुइँ गर्न थाले …. । स्टालिनका अनुयायीहरूमाथि आक्रमणको धम्कीसमेत आउन थालेको केही मानिसहरू भन्थे । के तिनीहरूले धम्कीको सामना गर्न सक्लान् ? (जी. बर्टोली, उही पुस्तक, पृष्ठ १५१) ।

मस्कोमा सम्पन्न स्टालिनप्रति अन्तिम श्रद्धाञ्जली कार्यक्रममा सहभागी भई फर्केका चेकोस्लाभियाली नेता तथा मार्क्सवादी–लेनिनवादी नेता क्लेमेन्ट गोटवाल्डको रहस्यमयी मृत्युलाई रोवर्ट कन्क्वेस्ट लगायतका विश्लेषकहरूले शङ्काको घेरामा राखेका छन् । उनीहरू गोटवाल्डको मृत्युलाई स्टालिनको ‘हत्या’ सँग जोडेर विश्लेषण गर्न आग्रह गर्छन् । “वास्तवमा गोटवाल्ड चेकोस्लोभियाका तत्कालीन राष्ट्रपतिका उत्तराधिकारी थिए । त्यसैले संशोधनवादी नेता एन्टोनिन जापोटोकीले उनलाई जुनसुकै हालतमा पन्छाउन खोजेका थिए । स्टालिनको निधनलगत्तै उनको अन्तिम श्रद्धाञ्जली समारोहबाट फर्केका नेता गोटवाल्ड अचानक बिरामी भए र केही दिनपछि नै उनको निधन भयो । गोटवाल्डको विरामी र निधन प्राकृतिक नभएको विश्लेषकहरूको ठम्याइ हो ।” (आर. कन्क्वेस्ट, १९६१, पृष्ठ १७४) ।

अल्बानियाली मार्क्सवादी–लेनिनवादी नेता एनवर होक्जाले पनि त्यही नै शङ्का व्यक्त गरे –“स्टालिनको निधनपछि गोटवाल्डको पनि मृत्यु भयो । यो वास्तवमै आश्चर्यजनक थियो । गोटवाल्ड जस्तो तन्दुरुस्त, फुर्तिलो र स्वस्थ व्यक्ति स्टालिनप्रति श्रद्धाञ्जली व्यक्त गर्ने क्रममा चिसोले छोएर वा सङ्क्रमण भएर मर्ला भनी कसैले सोचेको थिएन ।” (ए. होक्जा, ‘ख्रुश्चेवपन्थीहरू’, तिराना, १९८४, पृष्ठ १५३–१५४) ।

सन् १९५७ मार्च १२ का दिन पोलियाली मार्क्सवादी–लेनिनवादी नेता बोलेस्ल बिरुटको निधनबारे पनि होक्जाले ध्यानकर्षण गराएका छन् । “…सोभियत कम्युनिस्ट पार्टीको २० औँ सम्मेलनमा सहभागी हुने क्रममा पोलियाली नेता बिरुटको मस्कोमा निधन भएको थियो ।” (किसिङको तत्कालीन सामयिक सङ्ग्रह, अङ्क १०, पृष्ठ १४, ७६७) ।

त्यसपछि संशोधनवादी नेता एडवार्ड ओकाबले पार्टीको नेतृत्व सम्हाले । “कमरेड बिरुटको असामयिक निधनपछि एडवार्ड ओकाबले पार्टीको प्रथम सचिवको जिम्मेवारी पाए । यसरी ख्रुश्चेवको पुरानो सपना साकार भयो ।” (ए. होक्जा, १९८४, पृष्ठ १५३–१६५) ।

संशोधनवादी नेता लाडिस्ल गोमुल्कालाई जेलबाट अप्रिल महिनामा रिहा गरी अक्टोबर महिनामा पार्टीको प्रथन सचिवको जिम्मेवारी सुम्पने व्यक्ति उनै ओकाब थिए । होक्जाले स्टालिनको हत्यामा संशोधनवादी षड्यन्त्रकारीहरूको संलग्नता रहेको आरोप लगाए । “इतिहासले देखाइसकेको छ, निकिता ख्रुश्चेभले सर्वत्र निन्दा गरिएको कुख्यात फेरिवाला (एनास्टास मिकोयान सं.) सँग मिलेर स्टालिनको हत्याको योजना बनाएका थिए । मिकोयानले सन् १९६० को फब्रुअरीमा आफ्नै मुखले यो कुरा स्विकारेका थिए ।” (ए. होक्जा, १९८४, पृष्ठ ६३–६४) ।

“स्टालिनको मृत्यु वा अझ भनौँ हत्या लगत्तै यी सम्पूर्ण कुकृत्यहरू बाहिर आउन थालेका थिए । स्टालिनको हत्या लगत्तै यी मिकोयान स्वयम्ले मलाई भनेका थिए – “ख्रुश्चेभ र उनका सहयोगीहरूका बिच गोप्य छलफल गरेर स्टालिनको हत्या गर्ने सहमति भएको थियो ।” (ए. होक्जा, ‘स्टालिनसँगका सम्झनाहरू’, तिराना, १९७९, पृष्ठ ३१) ।

याे पनि पढ्नुहाेस्:

सर्वहारा, किसान र ट्राटस्कीवाद – क. जोसेफ स्टालिन

क. लेनिनको गाेली हानी हत्या गर्ने षड्यन्त्र – क. लिदिया अलेक्सान्द्रोभ्ना फोतिएवा

इण्डोनेसियामा भएको कम्युनिस्ट नरसंहार बारे – क. अानन्दस्वरूप वर्मा

(सम्पादनः नहेन्द्र खड्का)