Lenin Leading October Revolution
 

सन् १९१८ को गृष्मकालमा रुसका श्वेत गार्डहरुको सहायता पाएका हस्तक्षेपकारी विदेशी सेनाहरुले सोभियत रुसको तीन चौथाई क्षेत्रमाथि कब्जा गरेका थिए । अगस्तको महिना शुरु हुँदा देश युद्धका मोर्चाहरुको एउटा दन्कँदो घेरा भित्र परिसकेको थियो । ती कठिन दिनहरुमा देशी र विदेशी दुवै प्रकारका प्रतिक्रान्तिकारीहरुले सोभियत सत्तामाथि आफ्नो कट्टर घृणाको कारणले क्रान्तिलाई नेतृत्वविहीन बनाइदिने र त्यसरी त्यस (क्रान्ति) लाई असफलतातिर धकेल्ने प्रयत्नस्वरुप षडयन्त्र रचे र सोभियत जनतन्त्रका नेताहरुको विरुद्ध आतङ्कवादी गतिविधिहरु सञ्चालन गरे ।

प्रतिक्रान्तिको प्रतिरोध गर्ने अधिकार (जिम्मेवारी) प्रदान गरिएका पेत्रोग्रादको त्यो असाधारण आयोगका अध्यक्ष मो. सो. उरित्स्कीलाई ३० अगस्तको बिहान बिहानै पेत्रोग्रादमा हत्या गरियो । यो समाचार मस्को आइपुग्ने बित्तिकै अखिल रुसी असाधारण आयोगका अध्यक्ष फ.ए. द्जेर्जिन्स्की पेत्रोग्रादको निम्ति हिँड्नुभयो ।

त्यही दिनको साँझपख मस्कोमा भ्लादिमिर इल्यिच लेनिनको हत्या गर्ने प्रयत्न गरियो ।

Lidiya Alexandrovna Fotieva
लेखक

सन् १९१८को गृष्मकालमा मस्को पार्टी कमिटीले प्रत्येक शुक्रबार राति मिलहरु र कारखानाहरुमा सभाहरु आयोजित गर्दथ्यो, जसमा साधारणतया भ्लादिमिर इल्यिचले सम्बोधन गर्नुहुन्थ्यो । २८ अगस्तमा लेनिनको कार्यक्रममा दुई वटा काम समावेश थिए – एउटा त मस्कोको बास्मान्नी जिल्लामा (जसको नाम अब बाउमन जिल्ला राखिएको छ) खाद्यान्न बजारको भवनमा र अर्को जामोस्क्वोरेच्ये जिल्लामा पुरानो मिखेल्सन कारखाना (जसको नाम पछि भ्लादिमिर इल्यिच कारखाना राखियो) मा हुने सभाहरुलाई सम्बोधन गर्ने । उरित्स्कीको हत्यालाई ध्यानमा राख्दै मस्को कमिटीले लेनिनका मन्तव्य कार्यक्रमहरुलाई स्थगित गरिदियो । तर त्यसको बाबजुद पनि भ्लादिमिर इल्यिच सभाहरुमा जानुभयो । बास्मान्नी जिल्लामा सम्बोधन गरेपछि उहाँ मिखेल्सन कारखानाका लागि हिँड्नु भयो ।

त्यो कारखानाको हथगोला वर्कशपमा भएको सभामा ठुलो संख्यामा मानिसहरु भेला भएका थिए । मन्तव्यको विषय थियो– द्वैधसत्ता (सर्वहारावर्गको अधिनायकत्व र पुँजीपतिवर्गको अधिनायकत्व) । त्यो सभामा बोल्दै भ्लादिमिर इल्यिचले स्वतन्त्रता र समानताको नाराको आडमा हजारौँ हजार मजदुरहरु र किसानहरुलाई गोलीले भुटिरहेका प्रतिक्रान्तिकारी तत्वहरुलाई पराजित गर्नका लागि आफ्नो सम्पूर्ण शक्ति संगठित गर्न मजदुरहरुलाई आव्हान गर्नुभयो । उहाँले आफ्नो भाषण यी शब्दहरुका साथ समाप्त गर्नुभएको थियो – “हाम्रो मुक्तिको एउटै मात्र बाटो छ – विजय वा मृत्यु !”

सभा  सिद्धिपछि भ्ला. इ. लेनिन वर्कशपबाट निस्केर अाँगनमा अाउनुभयाे । त्यहीबेला काप्लान नाम गरेकी एउटी अातङ्कवादी महिलाले उहाँलार्इ साह्रै नराम्ररी घाइते पारिदिर्इ । उसले दक्षिणपन्थी समाजवादी क्रान्तिकारी पार्टीकाे केन्द्रीय कमिटीकाे अादेश बमोजिम लेनिनमाथि गोली चलाएकी थिर्इ । उसले लेनिनमाथि ३ पटक गोली प्रहार गरी । दुर्इ वटा गोलीले उहाँलार्इ घाइते पार्याे, तस्रोले उहाँको पिठ्युँमा अोभरकोटलार्इ मात्र प्वाल पार्याे । याे त्यही अोभरकोट थियो, जसलार्इ भ्लादिमिर इल्यिचले सन् १९१७ मा निर्वासनबाट रूस फर्कंदा लगाउनु भएको थियो र जीवनकाे अन्त्सम्म लगाइरहनु भयो । गोलीहरूले त्यसमा स्थायी निशान छोडिदिए ।

त्यसबेला जनकमिसार परिषद्का सदस्यहरु आफ्नो एउटा नियमित बैठकको निम्ति भेला भएका थिए, जसलाई लेनिनको कार्यव्यस्ततालाई विचार गरी साढे आठको सट्टा ९.०० बजे सारिएको थियो । जब ठिक ९.०० बजे भ्लादिमिर इल्यिच आउनु भएन, सबै चिन्तित भए । जति जति समय बित्दै जान्थ्यो, उति सन्देह थपिँदै जान्थ्यो । त्यसैबेला अकस्मात् एउटा भयानक खबर आयो कि भ्लादिमिर इल्यिचलाई निक्कै घाइते अवस्थामा घर ल्याइयो । एउटा अदम्य शक्तिले हामीलाई उहाँनिर तानेर लग्यो । उहाँको घरको ढोका जुन अक्सर बन्द राखिन्थ्यो, अहिले पुरै खुला राखिएको थियो । पाले दुःखित र हतोत्साही भएर झयालनिर उभिइराखेको थियो । म जनकमिसार परिषद्का सदस्यहरुको पछि–पछि घर पुगेँ । भ्लादिमिर इल्यिच आफ्नो पलङमा पल्टिरहनु भएको थियो र जोडले आर्तनाद गरिरहनु भएको थियो । उहाँलाई खतराबारे जानकारी थिएन, उहाँलाई केवल घाइते हातको पीडा महशुस भएको थियो । तर उहाँको अर्को घाउ थियो, जसबाट उहाँको जीवनका लागि खतरा थियो ।

लेनिनलाई विस्फोटक, विषयुक्त गोलीद्वारा घाइते पारिएको थियो ।

अप्रिल १९२२मा अपरेशन गरेर लेनिनको गर्दनको हड्डी नजिकै घुसेको गोलि निकालेपछि के पत्ता लाग्यो भने त्यो गोलीको एक छेउदेखि अर्को छेउसम्म सानो खाल्डो बनाइएको थियो । समाजवादी क्रान्तिकारीहरुको मुद्दामा १९२२ का गर्मीका दिनहरुमा भएका परीक्षणहरुबाट आतङ्कवादी काप्लानले लेनिनलाई घाइते बनाएका गोलीहरुमा कुरारे नामक तेजिलो विष भरिएको कुरा पुष्टि भयो । मारिया इ. उल्यानोवले ‘तीन वटा गोली’ शीर्षक आफ्नो संस्मरणमा लेख्नु भएको छ – “यो अति नै संयोगको कुरा थियो, उहाँ (लेनिन) हाम्रो निम्ति बँच्नुभयो । विष्फोटक गोलीहरु फुट्न पाएनन् । कुनै अज्ञात कारणले गर्दा विषको शक्ति क्षीण हुन गयो ।”

भ्लादिमिर इल्यिचलाई क्रेमलिनमा ल्याइसकेपछि पनि उहाँले ड्राइभर गीलले दिएको सल्लाह बमोजिम स्ट्रेचरमा सुतेर भित्र जान अस्वीकार गर्नु भयो र त्यसरी भयानक ढङ्गले घाइते भएर पनि दोस्रो तल्लामा रहेको आफ्नो घरसम्म हिँडेर जाने आग्रह गर्नुभयो ।

VI Lenin being hsot by Fannie Kaplan
लेनिनमाथि गोली प्रहार गर्दै फेनि काप्लान

घाइते लेनिनको क्रेमलिन आउने घटनालाई मारिया इल्यिनिच्नाले यसरी बयान गर्नुभएको थियो – “एक घण्टा बिल्यो, दुई घण्टा बित्यो । म झ्यालछेऊमा उभिएर इन्तु न चिन्तु हुँदै त्यो मोटर फर्कने प्रतीक्षा गरिरहेकी थिएँ, जसलाई म राम्ररी चिन्दथेँ । अन्ततः त्यो असाधारण गतिमा आउँदै गरेको देखियो । खास कुरा के थियो ? ड्राइभर कुदेर बाहिर निस्के र पछाडिपट्टिको ढोका खोले । यस्तो पहिले कहिल्यै भएको थिएन । केही अपरिचित मानिसहरुले इल्यिचलाई बाहिर निस्कनका लागि सघाइरहेका थिए । उहाँले न ओभरकोट लगाउनु भएको थियो, न कोट । उहाँ साथीहरुको सहारामा हिँडिरहनु भएको थियो । उहाँ माथि चढ्न मात्रै के लाग्नु भएको थियो, म फटाफट भर्याङ ओर्लेर तल पुगेँ । इल्यिच एकदमै पहेँलो भइसक्नु भएको थियो । तैपनि दुवै पट्टिका साथीहरुको सहाराले आफै हिँडिरहनु भएको थियो । हाम्रो पछाडि ड्राइभर गिल थिए । मैले ‘के घटना घट्यो’ भनी सोध्दा इल्यिचले आश्वासन दिँदै आफ्नो हातमा केही चोट लागेको बताउनु भयो । म ढोका खोल्न र उहाँको ओच्छ्यान मिलाउन अगाडि दौडेँ, जहाँ केही समयपछि लेनिनलाई सुताउनु थियो ।”

डाक्टर विनोकुरोव, बेलिच्किना, वेइसब्रोद, ओबुख र मिन्त्स लेनिनको चारैतिर भेला हुनुभयो, जोसँग एकछिन पछि डाक्टर रोजानोव र मामोनोव पनि जोडिनु भयो । उहाँको दुखाइ प्रत्यक्ष देखिन्थ्यो । रक्तस्राव भएर फोक्सोसम्म फैलने डर थियो । यस्तो अवस्थामा तत्कालै मृत्यू पनि हुन सक्थ्यो । म चिन्ता र दुःखको असह्य यन्त्रणाको स्थितिमा चुपचाप कोठामा तेत्तिकै ओहोर–दोहोर गरिरहेकी थिएँ । लेनिनलाई सुताइएको कोठा बाहेक त्यहाँ अरु तीन वटा कोठा थिए – भान्छा कोठा, नादेज्दा कोन्स्तान्तीनोव्नाको सानो अध्ययन कक्ष र मारिया इल्यिनिच्नाको कोठा । नादेज्दा कोन्स्तान्तीनोव्ना घर बाहिर जानु भएको थियो । एक जना साथीले अरुलाई यो असह्य आघात सहनका लागि उहाँलाई (कोन्स्तान्तीनोव्नालाई) पहिले नै सम्झाएर तयार गर्नु पर्छ भनी सचेत गराउनु भयो । जनकमिसार परिषद्को एक जना सदस्य उहाँलाई भेट्न जानु भयो र तुरुन्तै उहाँलाई साथमा लिएर फर्कनु भयो । सदाझैँ यो संकटको बेला पनि उहाँ बाहिरबाट हेर्दा शान्त नै देखिनु हुन्थ्यो । उहाँले सोध्नु भयो कि खतरा कत्तिको छ ?

भ्लादिमिर इल्यिच जोर जोरले कहराइरहनु भएको थियो । उहाँको कोठाको ढोका खुलै थियो । कुनै आवाज नआओस् भन्ने कुरालाई ध्यानमा राख्दै मैले बिस्तारै भित्र गएर हेरेँ । त्यस्तो असह्य कष्टको क्षणमा पनि लेनिनले सदाझैँ साथीहरुको चिन्तालाई ध्यान दिँदै भन्नु भयो – “चिन्ताको कुरा छैन, खालि मेरो हात दुखेको छ ।”

असह्य कष्टपूर्ण क्षणहरु काट्न कठिन भइरहेको थियो । अन्तमा हामीलाई भनियो कि तात्कालीन सङ्कट टरिसकेको छ । हाम्रो मनमा आशाको लहर फैलियो । तर डाक्टरहरुले फेरि भन्नुभयो कि आगामी तीन–चार दिनभित्र पुनः समस्या उत्पन्न हुन सक्छ । यदि ती दिनहरु राम्ररी पार भए भने उहाँको स्वास्थ्यलाभबारे विश्वासपूर्वक आशा लिन सकिनेछ । सबै साथीहरु एक–एक गरेर जानु भयो । केवल नजिकका साथीहरु रातमा हेरविचारका लागि रोकिनु भयो । भ्लादिमिर इल्यिचको घरमा, कोहि जनकमिसार परिषद्का कोठाहरुमा । लेनिनको घाउबाट निकै रगत बगिरहेको थियो । हामीसँग पट्टीहरुको कमी थियो किनभने अहिले (त्यतिबेलासम्म) क्रेमलिनमा कुनै प्राथमिक उपचार केन्द्र थिएन । त्यसैले भ्लादिमिर इल्यिचका एक जना सचिवलाई त्यहाँ रातभरी नै रगतले मुछिएका पट्टीहरु धोएर बस्नु पर्यो ।

VI Lenin after being shot
गोली प्रहारपछि घाइते लेनिन

बिस्तारै बिस्तारै भ्लादिमिर इल्यिच निको हुन थाल्नुभयो । तर डाक्टरहरुलाई डर थियो कि घाइते भएको हात अर्को हातभन्दा छोटो नहोस् । त्यसैले हात राम्ररी फैलाउनका लगि त्यसमा एउटा घिर्नी घुम्ने कुनै गह्रुंगो भारी बाँधिदिनु भयो । त्यो अलि कष्टमय र असजिलो दुवै थियो । त्यसैले भ्लादिमिर इल्यिचले आफ्ना दुवै हात समान रुपले लामो हुनैपर्छ भन्ने कुरा आवश्यक नभएको र आफू एउटा हात अर्कोभन्दा लामो भएको तथ्य स्वीकार्न राजी भएको बताउँदै यो उपचारमाथि आपत्ति जनाउनु भयो । परन्तु डाक्टरहरुले आवश्यक उपचारलाई निरन्तरता दिनका निम्ति अनुरोध गर्नुभयो ।

स्वस्थ भइसकेपछि पनि लेनिनको हातले लामो अवधिसम्म राम्ररी काम गरिरहेको थिएन । तसर्थ डाक्टरहरुले उहाँलाई नियमित व्यायाम गर्ने सल्लाह दिएका थिए । त्यसैले उहाँले प्रत्येक उपयुक्त स्थितिलाई उपयोग गर्दै ती व्यायामहरु गर्नुहुथ्यो ।

जनकमिसार परिषद्का सभाहरुमा भ्लादिमिर इल्यिच प्रायजसो आफ्नो घाइते भएको हातलाई पिठ्युँतर्फ फर्काएर उभिनु हुन्थ्यो (बसिराख्दा थाकेर उहाँ बेला बेलामा उभिन रुचाउनु हुन्थ्यो) र त्यसरी नाडी र औँलाहरुको व्यायाम गर्नुहुन्थ्यो । पछि गएर उहाँले आफ्नो घाइते हातलाई पनि एकदमै सन्तोषजनक ढंगले चलाउन थाल्नुभयो ।

त्यही अगस्त ३० तारिखको बेलुकिपख अखिल रुसी केन्द्रीय कार्यकारी समितिले “सबै मजदुरहरु, किसानहरु र सैनिकहरुका प्रतिनिधिहरुका सोभियतहरु, सबै सेनाहरु, सबै सबै !” को नाममा एउटा अपिल जारी गर्यो । केही घण्टा अघि क. लेनिनको हत्या गर्ने घिनलाग्दो र नीचतापूर्ण कोशिस गरिएको थियो । “केही घण्टा पहिले कमरेड लेनिनको नीचतापूर्वक हत्या गर्ने प्रयत्न गरिएको थियो । ……. मजदुर वर्ग आफ्नो सम्पूर्ण शक्तिलाई अझ धेरै संगठित गर्दै क्रान्तिका सबै दुश्मनहरुको विरुद्ध निर्मम सार्वजनिक आतंक मच्चाएर आफ्नो प्यारा नेताहरुको हत्या गर्ने प्रयासहरुको जवाफ दिनेछ ।”

त्यही राति यो अपिल रेडियोबाट प्रसारित गरियो ।

अखिल रुसी केन्द्रीय कार्यकारी समितिको एउटा विज्ञप्तिद्वारा २ सेप्टेम्बरको दिन सोभियत जनतन्त्रलाई एउटा सशस्त्र शिविरको रुपमा घोषित गरियो ।

भ्लादिमिर इल्यिचलाई उहाँको अस्वस्थताको अवस्थामा मजदुरहरु र किसानहरुका असंख्य तार र पत्रहरु आएका थिए, जसमा बद्मास अपराधीहरुप्रति आक्रोश र घृणा प्रकट गरिएको हुन्थ्यो भने आफ्ना प्रिय नेताको शीघ्र स्वास्थ्य लाभको कामना । कैयौँ पटक त वस्तुतः माग गरिएको हुन्थ्यो ।

छाला कारखानाको मजदुर संघका सदस्यहरुले लेखेका थिए, “तपाईं बाँच्नु हुनेछ, यस्तो छ सर्वहारावर्गको इच्छा !” सर्वहारा वर्गका जनसमुदायबाट प्राप्त हजारौँ–हजार तार र पत्रहरुको निष्कर्ष प्रस्तुत गर्दै ‘प्राभ्दा’ले लेखेको थियोः “लेनिन आफ्नो रोगका विरुद्ध लड्दै हुनुहुन्छ । उहाँले त्यसमाथि विजय प्राप्त गर्नु हुनेछ । सर्वहारा वर्ग यही चाहन्छ, यही नै इच्छा गर्छ र यसरी त्यसले भाग्यलाई आदेश दिन्छ ।”

Fannie Kalan, who shot Lenin on 30th August 1918
फेनी काप्लान, जसले १९१८ अगस्ट ३० मा लेनिनमाथि गोली प्रहार गर्याे

श्रमजीवी जनता युद्ध तथा घरेलु मोर्चाहरुमा वीरतापूर्ण कार्यहरु सम्पन्न गर्दै लेनिनप्रतिको आफ्नो प्रेम प्रदर्शन गर्दथे ।

तुला गुबेर्नियामा नोवोसिल्ये जिल्लाको पाम्काबो गाउँका किसानहरुले लेनिनको नाममा लेखेका थिएः “….. हामीलाई खुशी तुल्याउन र साम्राज्यवादीहरुलाई खरानी पार्नका लागि तपाईं चाँडो निको हुनुहोस् । हामीले सामाजिक क्रान्ति सम्पन्न गर्ने तपाईंका कार्यभारलाई बुझेका छौँ र क्रान्तिलाई भोकै मर्न नदिने उद्देश्यले हामीले धनी किसानहरुबाट स्टेशनलाई रोटी दिलाइदिएका छौँ र भोलि हामीले फेरि ४००० बोरा सर्स्याैं पठाउनेछौँ ।”

बिरामी र घाउले गर्दा निकै कष्टमा हुनु भएता पनि भ्लादिमिर इल्यिचको सम्पूर्ण ध्यान राजनीतिक काम र देशको वस्तुस्थितिमाथि केन्द्रित हुन्थ्यो ।

जब उहाँ ६ सेप्टेम्बरको दिन पहिलोपल्ट लेख्न सक्ने हुनुभयो, उहाँले ओरेल गुबेर्नियाको येलेत्स जिल्लामा अन्न असुली सन्तोषजनक हुन नसकेकोमा कृषिका जनकमिसार सेरेदालाई थर–थर कामिरहेको हातले पेन्सिल समात्दै एउटा नोट लेख्नुभयोः “कमरेड सेरेदा ! तपाईंले मलाई भेट्न आउनु भएन । मलाई दुःख लागेको छ । तपाईंले ‘अति उत्साही’ डाक्टरहरुको कुरामा ध्यान दिन हुँदैन्थ्यो ।”

“येत्लेत्स जिल्लामा राम्रो परिणाम किन निस्किरहेको छैन ? यसबाट मलाई अत्यन्तै दुःखी बनाएको छ । …… यो प्रष्ट छ कि राम्रो परिणाम निस्किरहेको छैन । १९ गाउँहरुबाट, जहाँ गरिब किसानहरुका समितिहरु छन्, एउटा पनि ठोस जवाफ आएको छैन !…..”

“काम जोडतोडले चलिरहेछ भन्ने कुराको रिपोर्ट कहिँबाट पनि पाइएको छैन ।” लेनिनले अनुरोध गर्नुभएको थियो कि प्रत्येक गाउँमा एक–एकजना सम्वाददाता नियुक्त गरियोस्, जसले सोझै लेनिनसँग सम्पर्क गरोस् ।

“खाममा उहाँले स्वयम् आफ्नै हातले लेख्नुभयोः “कमरेड सेरेदा, कृषि जनकमिसार, लेनिनद्वारा प्रेषित ।”

१७ सेप्टेम्बरको दिन येलेत्स जिल्लाका सबै गरिब किसानहरुका समितिहरुबाट लेनिनलाई पत्र (तार) हरु प्राप्त भए । तर ती तारहरुद्वारा प्राप्त सूचना सन्तोषजनक नभएकोले प्रत्युत्तरमा उहाँले एक्सप्रेस तार पठाउनुभयो – “तपार्इंहरुले आफूलाई आम र अस्पष्ट वक्तव्यहरुमा मात्र सीमित राख्न पाउनुहुन्न, जसले प्रायजसो कार्यहरुको पूर्ण असफलतालाई ढाकछोप गर्ने काम गर्दछन् । ठिक ठिक साप्ताहिक तथ्यांकहरु आवश्यक छ । … यस्ता तथ्यांकहरु विना सबै कुरा केवल शव्दजाल मात्र हुनेछन् । अतः साँचो र सही जवाफ दिनुहोस् ।”

स्वास्थ्य लाभ गरिरहेको समयमा पनि भ्लादिमिर इल्यिच युद्ध मोर्चाबाट आउने समाचारहरुलाई उत्साहपूर्वक अभिरुची राख्नुहुन्थ्यो । अनि लाल सेनाका सफलताहरुलाई गहिरो खुशीका साथ उल्लेख गर्नुहुन्थ्यो । त्यतिबेलाका उहाँका पत्र तथा तारहरु सोभियत सत्ताको अजेयतामा अडिग विश्वास एवम् लालसेनाको वीरताको प्रशंसाले ओतप्रोत छन् ।

भ्ला.इ. लेनिनले कजानको मुक्तिको सम्बन्धमा ११ सेप्टेम्बरमा लेख्नु भएको थियोः “म लाल सेनाको यो शानदार विजयको उत्साहपूर्वक स्वागत गर्दछु ।”

१२ सेप्टेम्बरको दिन लाल सेनाले सिम्बिस्र्कलाई मुक्त गर्यो । लाल सेनाको पहिलो डफ्फाले लेनिनलाई निम्न लिखित तार पठायोः “प्रिय भ्ला.इल्यिच! तपाईंको जन्मनगरमाथि कब्जा भयो । यो हो तपाईंको ‘एउटा घाउको बदला, अनि अर्को घाउको जवाफ हुनेछ – समारा !’ ।”

जवाफमा भ्लादिमिर इल्यिचले लेखिपठाउनु भयोः “मेरो जन्मनगर सिम्बिस्र्कमाथिको कब्जा मेरो घाउको सर्वोत्तम उपचार र सबैभन्दा राम्रो मल्हमपट्टी हो । मैले जीवन र शक्तिको असाधारण उमंग अनुभव गरिरहेको छु । म लाल सेनाका जवानहरुलाई उनीहरुको यस विजयको खुशीयालीमा हार्दिक वधाई दिन चाहन्छु र तमाम श्रमजीवी जनसमुदायको तर्फबाट ती सबै योद्धाहरुलाई उनीहरुको बलिदानको निम्ति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।”

VI Lenin getting recovered.
स्वास्थ्य लाभ गर्दै लेनिन

लेनिनमा प्रचण्ड जिजीविषा (इच्छाशक्ति) थियो । जनताको चाहनामा समर्पित उहाँको यस इच्छाशक्तिले उहाँको बलियो शारीरिक गठनसँग मिलेर उहाँको रोगमाथि विजय प्राप्त गर्यो । उहाँ छिटै स्वास्थ्य लाभ गर्न थाल्नु भयो । अनि जतिसक्दो चाँडो उहाँ काममा फर्कनुभयो ।

त्सरीत्सिन मोर्चाको स्थितिको बारेमा लेनिनले सेप्टेम्बर १५ तारिखमा स्वेर्दलोभ र स्तालिनसँग सल्लाह गर्नुभयो । भोलिपल्ट १६ सेप्टेम्बरमा भ्लादिमिर इल्यिचले रुसी कम्युनिस्ट पार्टी (बोल्सेभिक)को केन्द्रीय समितिको बैठकमा भाग लिनुभयो । १७ सेप्टेम्बरमा जनकमिसार परिषद्को एउटा अधिवेशनको अध्यक्षता गर्नुभयो र सर्वहारा वर्गीय सांस्कृतिक तथा शैक्षिक संगठनहरुको सम्मेलनको अध्यक्ष मण्डललाई एउटा पत्र लेख्नुभयो कि हाम्रा सम्पूर्ण सफलताहरु मजदुरहरुद्वारा आफ्ना सोभियतहरुको माध्यमबाट शासन सत्तामाथि कब्जा जमाउनुको परिणामस्वरुप प्राप्त भएका हुन्, तर अझै पनि उनीहरु कहिलेकाँही शासन सत्ताका लागि मजदुरहरुलाई अगाडि बढाउने कुरामा संकोचशील छन् ।

“कमरेडहरु! यसको निम्ति प्रयास गर्नुहोस् ।”

आखिरमा १८ सेप्टेम्बरमा डाक्टरहरुको बुलेटिन जारी भयो, जसमा भनिएको थियो कि भ्लादिमिर इल्यिच निको भइसक्नु भएको छ र अब उहाँलाई काममा फर्कने अनुमति दिइन्छ । भ्लादिमिर इल्यिचले सो बुलेटिनमाथि लेखिदिनु भयोः “यो बुलेटिन र आफू निरोगी भइसकेको कुरालाई ध्यान दिँदै म एउटा निजी र अत्यन्त हार्दिक निवेदन गर्न चाहन्छु कि अब डाक्टरहरुलाई टेलिफोनमा प्रश्न गरेर हैरान नपारियोस् !” लेनिनको निवेदनसहित बुलेटिन सन् १९१८ सेप्टेम्बर १९ को ‘प्राभ्दा’मा प्रकाशित भयो ।

सोही दिन लाल सेनाका कमाण्डरहरुको पहिलो कोर्स पास गरेका पेत्रोग्रादका ४०० मजदुरहरुलाई वधाई सन्देश पठाउँदै लेनिनले भन्नु भयोः “रुस र विश्वको समाजवादी क्रान्तिको सफलता मजदुरहरुले कस्तो जोशकासाथ राज्य–व्यवस्थामा प्रवेश गर्छन् र पुँजीको बन्धन तोडेर फ्याँक्नका लागि लडिरहेका ती श्रमजीवी जनता र शोषितहरुको सेनाको कमान् सम्हाल्छन् भन्ने कुरामा भर पर्दछ ।”

यी दस्तावजेजहरुबाट लेनिनले बिरामी अवस्थामा पनि श्रमजीवी जनतासँगको आफ्नो सम्पर्क क्षणभरका लागि पनि टुट्न दिनु भएन भन्ने कुरा सिद्ध हुन्छ ।

परन्तु उक्त गम्भीर बिमारीपछि उहाँको स्वास्थ्य राम्ररी ठिक हुन सकेन । सेप्टेम्बरको अन्त्यतिर उहाँलाई डाक्टरहरुको सल्लाहमा मस्को नजिकैको गाउँमा आराम गर्न जानु पर्यो ।

लेनिन २४ सेप्टेम्बरको दिन आफ्ना चिकित्सक प्रोफेसर वेइसव्रोदसँग, जो एकजना कम्युनिस्ट हुनुहुन्थ्यो, गोर्कीतिर लाग्नु भयो । उहाँ त्यो ठाउँको ‘लघु’उत्तरी खण्डमा तीन हप्ता बस्नुभयो । केही समयका लागि आफ्नो दैनिक तनावयुक्त कार्यतालिकाबाट छुट्कारा लिएर लेनिनले आफूलाई सैद्धान्तिक काममा लगाउनुभयो र आफ्नो अमर कृति ‘सर्वहारा क्रान्ति र गद्दार काउत्स्की’ लेख्नुभयो, जसले मार्क्सवाद–लेनिनवादको अमूल्य निधिलाई समृद्ध गर्यो ।

यी पनि पढ्नुहोस्ः

कमरेड स्टालिनको निधनः हत्या कि मृत्यु – क. माइकल लुकास

मेरो रुसी यात्रा र महान् अक्टोबर क्रान्ति – क. हस्तबहादुर केसी

महान् अक्टाेबर समाजवादी क्रान्तिबारे – क. अानन्दस्वरूप वर्मा

भ्लादिमिर इल्यिच लेनिनको संक्षिप्त जीवनी

(प्रस्तुत अालेख सर्वहारा वर्गका महान् गुरू तथा रूसी क्रान्तिका महानायक क. लेनिनकाे सचिवकाे रूपमा लामाे समयसम्म कार्यरत एक कम्युनिस्ट नेतृ क. लिदिया अलेक्सान्द्रोभ्ना फोतिएवाद्वारा लिखित पेजेज फ्रम द लेनिन्स लाइफ नामक पुस्तककाे हिन्दी अनुवाद लेनिनके जीवनके चन्द पन्नेबाट लिइएकाे हाे । अनुवादः नहेन्द्र खड्का ।)