Swanam Sathi Sonam Sathee
 

विषय प्रवेशः

आजको यस अक्टोबर क्रान्ति र वैज्ञानिक समाजवाद विषयक अन्तरक्रियात्मक विचार श्रृंखलामा प्रस्तोता र सक्रिय सहभागीका रुपमा उपस्थित हुनुभएका तपाईं सबै प्रिय, आत्मीय उज्यालोको, समाजवादको, साम्यवादको यात्राका लागि अग्रसर हुन इच्छुक कमरेडहरुमा अनेक अनेक अभिवादन छ । लाल सलाम छ ।

हामी नेपाली धर्तीमा नेपाली जनताको महान् वलिदान, त्याग, तपस्यासहित सञ्चालित जनयुद्ध दिवसको सन्दर्भमा पनि उभिएका छौं । नेपाल र संसारभर मानवमुक्तिका लागि, वर्गविहीन समाज, कम्युनिस्ट समाजतिरको यात्रा तय गर्नका खाँतिर भएका तमाम सङ्घर्ष र त्यसमा जीवन बलिदान गर्नुभएकाहरुप्रति उच्च सम्मान, लाल सलाम र स्मरण गर्न चाहन्छौँ ।

हामी आजभन्दा १०० वर्ष अगाडि रुसमा भएको अक्टोबर क्रान्तिको सम्झनामा बर्ष दिने उत्सव मनाइरहेका छौँ । यसै सिलसिलामा देशैभरी विविध कार्यक्रमहरु भइसकेका छन्, भइरहेका छन् र, हुँदै पनि छन् । कतिपय कार्यक्रमहरु यस अक्टोबर क्रान्ति शतवार्षिकी समारोह समितिको आयोजनामा भएका छन् भने कतिपय कार्यक्रमहरु अन्य विभिन्न संघ–संस्थाहरुले आफैं पनि आयोजना गरेर सम्पन्न भएका छन्, हुने क्रममा छन् ।

यो आजको कार्यक्रम पनि अक्टोबर क्रान्ति शतवार्षिकी समितिले आयोजना गर्ने भनिएको श्रृंखलाबद्ध कार्यक्रमहरुमध्ये दोस्रो कार्यक्रम हो । आजको कार्यक्रमको विषय ‘अक्टोबर क्रान्ति र वैज्ञानिक समाजवाद’ शिर्षकमा राखिएको छ ।

विश्व कम्युनिस्ट आन्दोलन र नेपाली कम्युनिस्ट आन्दोलन समेत विभिन्न घुम्तीहरु छिचोल्दै आज यहाँ आइपुगेको छ । विश्वव्यापी पुँजीवादको नवउदारवादी कथित विकास र समृद्धिको नाममा इतिहासमा कहिल्यै नभएको स्तरमा शोषण, शासन र उत्पीडन मच्चिएको छ । अनि यस ब्रह्मलुटको साम्राज्यमा केही मुट्ठीभर मानिसहरुको अधिपत्य खडा भएको छ । यसले विश्वभरी नै विश्वव्यापी पुँजीपति वर्गको राज्यव्यवस्था खडा भएको छ ।

यसको विकल्पमा सर्वहारावर्गले आफ्नो तथा मानवजातिकै वर्गीय मुक्तिका लागि सर्वहारा वर्गीय राज्यव्यवस्था र सञ्जालहरु खडा गर्नुपर्ने हुन्छ ।

यहीबेला सबैभन्दा बढी श्रमजीवी, उत्पीडित, गरिखाने मानिसहरुले वर्गीय दुनियाँबाट निस्किएर साम्यवादी व्यवस्थातिरको महान् यात्रामा सरिक हुने प्रेरणा र शिक्षा लिनका लागि बढी बुझ्न र बहस गर्न, जान्न, सोच्नुपर्ने, लाग्नुपर्ने र गम्भीरतापूर्वक अघि बढ्न खोज, सोध, अनुसन्धान र जाँचबुझ गर्दै अघि बढ्नुपर्ने विषय नै महान् अक्टोवर क्रान्ति र त्यसको आलोकमा वैज्ञानिक समाजवाद, संसदीय समाजवाद, प्रजातान्त्रिक समाजवाद, बजार समाजवाद, उन्मुख समाजवाद नाम गरेका प्रणालीहरुको बारेमा फेरि अवलोकन गर्नका लागि योे कार्यक्रमको श्रृङ्खला आयोजना भइरहेको छ । र, तपाई हामी सबै अलि बढी अन्तरक्रियात्मक र सहभागितामूलक कार्यक्रमका रुपमा सम्पन्न गर्न यहाँ उपस्थित भएका छौं ।

हिजोको हिँडाइको समीक्षा र आगामी मानव समाजको अग्रगामी यात्रामा कसरी अघि बढ्न सकिन्छ भन्ने बारेमा आर्थिक दृष्टिबाट कमरेड मुरारी अर्याल, सामाजिक–सांस्कृतिक दृष्टिबाट कमरेड रामराज रेग्मी, राजनीतिक–दार्शनिक दृष्टिबाट कमरेड रमेश सुनुवारले स्वतन्त्र र प्राज्ञिकस्तरमा यहाँ अहिले आफ्ना कार्यपत्रहरु प्रस्तुत गर्नु हुनेछ ।

त्यसपछि हामी उपस्थितहरुले छलफलमा आफ्ना विचारहरुलाई बिना बन्देज खुलारुपमा राखेर आजको कार्यक्रमलाई सकेसम्म बढी लाभदायक र सिर्जनात्मक बनाउने छौं भन्ने पनि अनुरोध गर्न चाहन्छौं ।

सुनिरहनु भएको यो वाचन कुनै छुट्टै प्रस्तुति होइन । आजको कार्यक्रमको सुरुवात गर्नका लागि, छलफलका लागि ढोका खोल्ने सामान्य शिष्टाचार मात्रै हो । जिज्ञासा र छलफलका लागि अलिकति झक्झकाहट र अनुरोध मात्रै हो । प्रश्न पनि हामीले नै गर्ने र उत्तर पनि हामीले नै खोज्ने हो । यो कार्यपत्र होइन ।

अक्टोबर क्रान्तिः

Lenin Leading October Revolution
अक्टाेबर क्रान्तिका महानायक क. लेनिन

रुसको अक्टोबर क्रान्तिलाई सम्झँदा र त्यसले संसारमा पारेका प्रभावहरुबारे गम्भीरतापूर्वक हेर्दा मानव जातिको इतिहासमा अतुलनीय एवम् बहुआयामिक प्रभाव पारेको पाइन्छ । त्यसले मानिसको जीवनका सबै पहलुहरु – आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, दार्शनिक इत्यादि क्षेत्रमा व्यापक गहिरो र उँचो नयाँ अभ्यास सुरु गरेको थियो र अझैं पनि त्यसले ल्याएको छाल बाँकी नै छ । कुनै न कुनै हिसाबले मानव समाज अक्टोवर क्रान्तिद्वारा प्रभावित छ ।

वर्गीय समाजवाट वर्गविहीन समाजमा प्रवेश गर्ने कार्यक्रम अक्टोबर क्रान्तिको मूलभूत र सारभूत कुरा थियो । मानव जातिको इतिहासमा पेरिस कम्युनपछि यति ठूलो मात्रामा यति ठूलो प्रयोग यसअघि कहिल्यै भएको थिएन । त्यो जारी छ । यसैको उज्यालोमा कुरा गर्दाखेरि अहिले हामी नेपालमा त्यसको सार्थकता के हुन सक्छ भनेर विचार–विमर्श गर्दैछौं ।

रुसका जनताले पेट्रोगाड सहरमा सशस्त्र क्रान्तिमार्फत त्यहाँको प्रतिक्रियावादी राज्यसत्तालाई च्यूत गरी सत्तादखल गरेको कम्युनिस्ट क्रान्तिलाई अक्टोबर क्रान्तिका रुपमा लिने गरिएको हो । त्यतिबेला रुसमा चलेको जुलियन क्यालेण्डर अनुसार १९१७ को अक्टोवर २५ मा सम्पन्न उक्त क्रान्ति यतिबेलाको ग्रेगोरियन पात्रो अनुसार नोभेम्बर ७ मा पर्छ ।

रुसका श्रमजीवी जनताले कम्युनिस्टहरुको नेतृत्वमा चलेको रसियाली सामाजिक प्रजातान्त्रिक श्रमिक पार्टी (बोल्सेविक) को अगुवाइमा अक्टोबर क्रान्ति सम्पन्न गरेका थिए । यो क्रान्तिले संसारमा सर्वहारावर्गको संक्रमनकालीन राज्यसत्ता स्थापना गर्ने अथक प्रयास गरेको थियो । कम्युनिस्ट लगायत क्रान्तिकारीहरुले सन् १८७१ मा विद्रोह मार्फत केही समयका लागि फ्रान्सेली शहर पेरिसमा कम्युन स्थापना गरेका थिए । त्यसपछि भएको अक्टोबर क्रान्ति भने संसारमा कतै भएको थिएन ।

अक्टोबर क्रान्तिको बाटो सर्वहारा वर्गीय क्रान्तिकारीहरुको बाटो हो । परम्परागत दमनकारी चरित्रको अन्त्य कम्युनिस्टहरुको उद्देश्य हो । वर्गविहीन समाजको सुरुवातसँगै राज्यसत्ताको समेत विलय कम्युनिस्टहरुको उद्देश्य हो । मान्छेले मान्छेलाई शोषण गर्ने परिपाटीकोे अन्त्यसँगसँगै सबैले आफ्नो क्षमताअनुरुप सामाजिक उत्पादनको उपभोग गर्नु कम्युनिस्टको अभिष्ट हो ।

साम्राज्यवाद तथा मानवद्वेषी विचारका संवाहकहरुले पश्चिमा संसारमा विकसित ५०० वर्षका पुँजीवादको अनुभवको आधारमा संसारलाई स्थायी रुपमा विभाजन गरी मनिस–मानिस बीचमा पर्खाल निमार्ण गर्ने प्रयास गरेका थिए । तर त्यसलाई ध्वंस पार्दै रुसका कम्युनिस्टहरुले संसारका लागि रोटी र शान्ति, जनताको रोजगार, साम्राज्यवादीका लागि युद्ध र कम्युनिस्टका लागि क्रान्तिको नारा बुलन्द पारे । त्यसैको फलस्वरुप रुसी जनता युद्ध होइन क्रान्ति, जनता विरुद्ध होइन शोषण विरुद्ध हतियार भन्दै कम्युनिस्ट क्रान्तिलाई युगान्तकारी विजयको रुपमा हेर्न सर्मपित भएका थिए ।

आजको संसार सोही युगान्तकारी कम्युनिस्ट क्रान्तिको समेत उपज हो । लैङ्गिक भेदभावबाट मुक्ति, श्रमिक अधिकार, बौद्धिक सम्पत्ति, संस्कृतिको श्रीबृद्धि, अर्थतन्त्र र प्रविधिमा देखा परेको अद्भुत विकास तथा अन्याय, अत्याचार र असमानताप्रतिको संगठित विद्रोहको चेत पनि सोही क्रान्तिको उपज हो ।

आज संसारमा नै मार्क्सवाद तथा भौतिकीय द्वन्द्वात्मक दर्शनका राजनीतिक बाहकहरुको बर्चश्व पनि त्यही युगान्तकारी क्रान्तिको परिणामको रुपमा हाम्रो सामु रहेको कारणले पनि हामीले अक्टोबर क्रान्तिलाई सम्झना गर्नु र त्यसको आलोकमा विकसित राजनीतिक परिघटनाहरुबारे बहस, छलफल, समीक्षा, जाँचबुझ, प्रश्नहरुमा लाग्नु सर्वथा उचित छ ।

उत्तरको महाचीनमा चिनिँया विशेषतासहितको बजार समाजवाद, दक्षिणको महाभारतको संविधानमा उल्लेखित संसदीय समाजवाद र नेपालको संविधानमा भनिएको ‘उन्मुख समाजवाद’ पनि रुसको अक्टोबर क्रान्तिको प्रभाव अन्र्तगत नै आजको स्वरुपमा प्रकट भएको देखिन्छ । यस बाहेक प्रजातान्त्रिक समाजवाद तथा अन्य समाजवाद पनि चर्चामा छन् । आजको हाम्रो मुख्य विषय यिनै सन्दर्भहरुसित गाँसिएर वैज्ञानिक समाजवादबारे थप खोजी र छलफल गर्ने प्रयासलाई अघि बढाउनेमा केन्द्रित गरौं र आवश्यकता अनुसार थप छलफल तथा खोज गरौँ ।

वैज्ञानिक समाजवादः

पहिले समाजवाद भनेको के हो ? वैज्ञानिक भनेको के हो ? भन्ने जिज्ञासा उचित होला भन्ने लागेको छ । मार्क्स–एङ्गेल्सको दृष्टिमा – एङ्गेल्सले ‘समाजवाद वैज्ञानिक या काल्पनिक’ भन्ने लेखमा वैज्ञानिक समाजवादबारे उल्लेख गर्नुभएको छ ।

समाजवाद वैज्ञानिक भन्ने सन्दर्भमा रोबर्ट ओवन, सेन्ट साइमन, फुरियहरुको असाध्यै प्रशंसा गर्दागर्दै पनि मजदुरहरुलाई काल्पनिक समाजवाद हैन, वैज्ञानिक समाजवाद अभ्यास गर्नुपर्छ भन्ने कुरा राख्नुभएको छ । त्यतिबेला युरोपका अराज्यवादीहरुले पनि साम्यवादी, समाजवादी व्यवस्थाको पक्षपोषण गरिरहेका थिए, कुनै पनि खालको राज्यसत्ताको बाकुनिन र ब्लाङ्कीहरुले पनि विरोध गर्नुहुन्थ्यो ।

तर मार्क्स–एङ्गेल्सले साम्यवादी समाजको सुरुवातमा पुरानो राज्यसत्ता ध्वंस गरी सर्वहारावर्गको अधिनायकत्वमा केही समय राज्य रहनुपर्छ भन्ने वकालत गर्नु भएको थियो । त्यहीबेला सर्वहारावर्गको अधिनायकत्त्व र वैज्ञानिक समाजवादको कुरा जोडतोडले उठेको हो ।

उहाँहरु साम्यवादी व्यवस्था, कम्युनको हिमायती हुनुहुन्थ्यो । मूल कुरा वर्गविहिन व्यवस्थाको सुरु गर्ने कि नगर्ने भन्ने थियो । सर्वहारावर्गले नयाँ व्यवस्थाको रक्षार्थ नयाँ प्रकारको राज्यसत्ताको प्रयोग, प्रणालीको प्रयोग गर्ने जसलाई उहाँहरुले सर्वहारावर्गको अधिनायकत्त्व भन्नुभयो । सामन्ती या पुँजीवादी राज्य व्यवस्था भन्दा भिन्न कुरा उठाउनुभएको थियो, जसलाई लेनिनले १९१७ को मार्चमा लेखिएको परदेशबाट पत्र (लेटर फ्रम अ फार) मा पनि उल्लेख गर्नुभएको छ । वैज्ञानिक समाजवाद सर्वहारावर्गको अधिनायकत्त्व अन्तर्गत काल्पनिक भन्दा भिन्न, अराज्यवादीहरुभन्दा पनि फरक तवरले चलाउने भन्ने सन्दर्भमा प्रयोग गर्नुभएको थियो ।

यहाँनेर प्रष्ट हुनुपर्ने कुरा के छ भने समाजवाद कुनै अलग्गै चरण थिएन उहाँहरुको विचारमा । यो साम्यवादी व्यवस्था या कम्युनहरुको निमार्ण क्रमको प्रारम्भिक चरण मात्रै थियो, स्थायी व्यवस्था होइन । यस अर्थमा हामी समाजवादी होइनौं, कम्युनिस्ट हौं । हाम्रो व्यवस्था पनि कुनै समाजवादी व्यवस्था होइन, साम्यवाद, कम्युनको संसार बनाउने र त्यो अहिले र यहीँबाट सुरु गर्ने हो भन्ने नै थियो । साम्यवादको पाइला त हो, सुरुवात त हो तर गन्तव्य होइन । बरु नयाँ जनवाद समेत साम्यवाद अन्तर्गतको पाइला हो ।

हरेक समाज, मानव समाज सबै खाले चरण÷युग÷व्यवस्थाबाट गुज्रन्छ नै या गुज्रनै पर्छ भन्ने अनिवार्य छैन । पेरिस कम्युनपछि अहिले उपलब्ध ज्ञान, वुद्धि, प्रविधि, गरिमा र प्रतिभाले पुँजीवादी प्रक्रियाबाट अहिलेको समाज गुज्रनै पर्छ भन्ने छैन । हामी सिधै साम्यवादमा जान सक्छौं । साम्यवाद न त कुनै गनतव्य हो, न त यात्रा मात्रै । यो त वर्गीय वन्धनहरुबाट मुक्तिको सवाल हो । साम्यवादको सुरुवात अहिले र यहीँ नै व्यक्तिगत, सामुहिक र सार्वजनिक तहमा सम्भव छ । सम्झौताको चरणमा समाजवाद, नयाँ जनवाद, वैज्ञानिक समाजवादमा प्रवेश गर्नुपर्ला । त्यो बेग्लै कुरा हो ।

विज्ञान केलाई भन्ने ? वैज्ञानिक केलाई भन्ने ? कुनै कुरा वैज्ञानिक हुनलाई के के कुरा हुनुपर्छ ? साक्ष दसी प्रमाणले सावित नगरिकन कुनै पनि कुरा वैज्ञानिक ठहरदैन । प्रदत्त शर्तहरु भित्र बारम्बार उस्तै नतिजा आउने प्रकृया र परिणामलाई वैज्ञानिक भनिन्छ । जुन तथ्यहरुलाई गलत अथवा सही सावित गर्न सकिदैन, त्यो विज्ञानमा पर्दैन । यो नियम समाजवाद साम्यवादमा पनि उत्तिकै लागु हुन्छ ।

त्यतिबेलाको रुसी समाजमा दासानुदास मजदुरहरु, भुदासहरु र कृषकहरुको व्यापकतामा पहिलो महायुद्धले जर्जर, भुखमरी, हिम, हुरी माझ अक्टोवर क्रान्ति सम्पन्न भयो । अक्टोवर क्रान्तिपछि लेनिनले सानो बालकलाई देखाउँदै बिस बर्षमा यो बालक साम्यवादी व्यवस्थामा जिउँछ भन्नु भएको थियो ।

उहाँले त्यसलाई व्याख्या गर्दै समाजको विकासका चरणहरुलाई व्याख्या पनि गर्नुभएको छ – इतिहासले के देखाउँदछ भने भिन्ना–भिन्नै बेलामा मानिसहरु भिन्ना भिन्नै विचार तथा इच्छाहरुबाट अभिप्रेरित रहेका थिए । त्यसको कारण के हो भने भिन्ना भिन्नै बेलामा मानिसहरु आफ्नो खाँचोको पूर्ति गर्न भिन्ना–भिन्नै ढङ्गबाट प्रकृतिसित लडेका थिए र तद्अनुसार, उनीहरुका आर्थिक सम्बन्धहरुले भिन्ना–भिन्नै रुपहरु लिएका थिए । कुनै बेला मानिसहरु प्रकृतिसित सामूहिक रुपले, आदिम साम्यवादका आधारमा लडेका थिए । त्यसताका उनीहरुको सम्पत्ति साम्यवादी सम्पत्ति थियो । यस्तो एक बेला आयो, जब मेरो र तेरो को भेदले उत्पादनको प्रक्रियामा प्रवेश ग¥यो । त्यसबेला सम्पत्तिले पनि निजि, व्यक्तिवादी चरित्र धारण ग¥यो र त्यसबेला मानिसहरुको चेतना नीजि सप्पत्तिको भावबाट ओतप्रोत रह्यो । अनि यस्तो समय, वर्तमान समय आयो, जब उत्पादनले फेरि सामाजिक चरित्र धारण गर्दैछ र त्यसैले सम्पत्तिले पनि चाँडै नै सामाजिक चरित्र धारण गर्नेछ र त्यही कारणले गर्दा मानिसहरुको चेतनामा बिस्तारैसित समाजवादबाट अभिप्रेरित हुँदैछ (स्टालिन, सर्वहारा समाजवाद) ।

राजनीति यो दुनियाँमा मुख्यतः वर्गहरु उत्पन्न भएर राज्यको सुरुवात भएपछि निस्केको नयाँ धन्दा हो । आधुनिक मानवको अस्तित्त्व ३ लाख पचास हजार वर्षको रहेको छ । यो वर्गीय पार्टीगत राजनीति फ्रन्सेली राज्य क्रान्तिपछि भित्रिएको पेशा हो । हरेक वर्गहरुले आफ्नो हित रक्षार्थ पार्टीहरु खडा गर्ने गर्दछन् । वर्गीय दुनियाँमा सर्वहारा वर्गले आफ्नो वर्गको हित रक्षार्थ पार्टी उभ्याउने गरिएको हो ।

समाजवादी वा मजदुर वा कम्युनिस्ट पार्टी त्यसकै उपजको रुपमा अघि आएको हो । वर्गहरु नभएपछि, वर्गहरुको स्वार्थ रक्षा गर्ने वाध्यता रहन्न र राजनीति पनि रहन्न । वर्गविहीन वैज्ञानिक समाजतन्त्र वा साम्यतन्त्रमा राजनीति भन्ने पेशाको आवश्यकता रहन्न । वर्गहरु पनि रहन्न र पार्टीहरु पनि रहन्नन् । रहँदैनन् भन्दा पनि तिनको आवश्यकता नै पर्दैन । पार्टी चाहिने जे कामका लागि हो, त्यो कामबाट निकै अगाडि पुगिसक्छ, समाज र त्यहाँ पार्टीहरु अस्तित्त्वविहीन हुनेछन् । त्यहाँ राजनीति सुन्दर विगतको स्मृति मात्र बन्छ ।

त्यस्तै साम्यवाद वा वैज्ञानिक समाजवादमा संस्कृतिहरु प्नि साँचो अर्थमा मानवीय संस्कृति बन्छ । सबै खालको वर्गीय संस्कार, व्यवहार, रीतिरिजाव, चालचलनका चाडपर्वहरु जे जति आवश्यक हुन्छ ती सबै मानवीय चाडपर्व, संस्कृतिका रुपमा विकसित हुन्छन् । साम्यवाद निकट भविष्यको जरुरी रुप र गतिशील दिग्दर्शक विचार हो, परन्तु साम्यवाद श्रमकै मानव विकासको लक्ष्य, मानव समाजको रुप होइन । पुँजीवादी समाजमा अतितले वर्तमानमा शासन गर्दछ । साम्यवादी समाजमा वर्तमानले अतितमाथि शासन गर्दछ भनेर महान गुरु माक्र्सले यसको महत्त्वबारे हाम्रो उचित ध्यानाकर्षण पनि गराउनुभएकै छ ।

नेपालको सन्दर्भमा हिमाल, पहाड, तराई, पूर्व, मध्य, पश्चिमका नेपाली समाजका सन्दर्भमा वैज्ञानिक समाजवाद भनेको के हो र त्यसले कसरी अनेकखाले विभेद, बहिस्करण, भेदभाव, जातभात, छोइछिटो, दमन, उत्पीडन, शोषण र शासनमा परेका समुदाय र वर्गलाई सम्वोधन गर्छ भनेर हामीले विमर्शहरु चलाउन र बुद्धिलाई सचेततापूर्वक सक्रिय गराउन जरुरी देखिन्छ । भूकम्पले आठ लाखभन्दा धेरै घरहरु विनास भएको छ । बाढीले हजारौं मानिसहरुले ओत र उत्पादन गुमाएका छन् । समाजमा भेदभाव, बलत्कार, शोषण, अत्याचारको ग्राफ उकालो लागिरहेको छ । मधेसको मामिलामा, महिला, कथित दलितको मुसहर, चमार, डोम इत्यादिको मामिलामा वैज्ञानिक समाजवाद के हो ? जुम्ला–हुम्लामा वैज्ञानिक समाजवाद कसरी हुने ?

मनुवादले, कथित व्राम्हणवादले, प्राचीन रुढी रीतिरिवाजले ग्रस्त भएको समाजलाई कसरी सम्बोधन गर्छ वैज्ञानिक समाजवादले ? सामन्ती संस्कृति, पुँजीवादी या साम्राज्यवादी संस्कृतिले जसरी संक्रमित गरेको छ समाजलाई, त्यस विषयमा कसरी हल खोज्छ वैज्ञानिक समाजवादले ? खोलाको किनारमा जिन्दगी गुजारेका, मजदुरीमा विदेश लागेका लगभग ५० लाख श्रमिकहरुलाई वैज्ञानिक समाजवादले कसरी छुन्छ ?

विदेशिएका युवाहरुको, श्रमशक्तिको कारण गाउँघर उजाड र बाँझो हुन थालेको छ । खलबलिएको सामाजिक सन्तुलन आजको परिवेशमा, अवस्थामा वैज्ञानिक समाजवादी क्रान्तिका सारथीहरु को हुने हो या त्यो यात्राका हाम्रा यात्रीहरु को हुने हो ? श्रमको समेत विश्वव्यापीकरण भैरहेको अवस्थामा वर्ग संघर्षका शक्तिहरु अन्यत्र तितरवितर हुन पुगेको छ । यस बुर्जुुवा संविधान निर्माणको बेला पाँच महिनाको नाकाबन्दी लगायत अन्य हस्तक्षेप हेर्दा नेपाल मात्रैको वैज्ञानिक समाजवादी यात्रा दुश्कर हुने यथार्थ पनि छ ।

पुँजीवादलाई फालेर अघि बढ्ने सन्दर्भमा त्याे बेला कमरेड लेनिनले सम्भावना, शक्ति, साधन र समस्याहरुबारे गराउनुभएको सचेततालाई अलिकति ध्यान दिनु उचितै हुनेछ – पुँजीवादबाट साम्यवादमा संक्रमणले एउटा पूरै ऐतिहासिक युगको प्रतिनिधित्व गर्दछ । यो युग नसकिएसम्म शोषकहरु अनिवार्य रुपले पूनस्र्थापनाको आशा राखिराख्छन् र सो आशा पूरा गर्न उनीहरु पूनस्र्थापनाको प्रयत्नमा लाग्दछन् । सत्ताच्यूत शोषकहरुले आफू सत्ताच्यूत होला भनेर आशा गरेका थिएनन् । त्यसैले, जब उनीहरुको पहिलो गम्भीर पराजय हुन्छ, तब उनीहरु आफ्नो गुमेको “स्वर्ग” फर्काउनका लागि आफ्ना परिवारहरुको तर्फबाट दस दोब्बर शक्तिका साथ, सय दोब्बर भयानक जोश र घृणाकासाथ लडाइँमा उत्रन्छन् । पहिले रमाईलो र सजिलो जीवन बिताइरहेका आफ्ना परिवारहरुलाई दुर्दशा, अभाव र “साधारण नरनारीहरु”को जस्तो श्रम–यातनाबाट जोगाउन उनीहरु सारा शक्ति लगाएर लड्छन् । निम्न–पुँजीपति वर्गका व्यापक समूहहरु पुँजीवादी शोषकहरुको पछि लाग्छन् । यी समुदायहरुको सम्बन्धमा सबैं मुलुकहरुको दसौं बर्षको ऐतिहासिक अनुभवले के सिद्ध गरेको छ भने उनीहरु ढुलमुल रहन्छन् र हिच्किचाउने गर्दछन्, एकदिन सर्वहारावर्गको पछि लाग्दछन् भने अर्कोदिन क्रान्तिका अप्ठ्याराहरुदेखि डराउँदछन्, उनीहरु मजदुरहरुको पहिलो पराजय वा अर्धपराजय देखेर भयभीत हुन्छन, होस गुमाउँदछन, विना उद्देश्यले यताउता भाग्न थाल्छन् र एक शिविरबाट अर्को शिविरमा जान्छन्  (लेनिन संकलित रचनाहरु, भाग ३५, पृ. ३५५)

के हामीले यस विषयमा विना आग्रह खोजी, छानबिन, जाँचबुझ, बहसहरु अघि बढाउन अब ढिला हुन लागिसकेको छैन र ?

अहिले विश्वव्यापीकरणको चर्को रापले नेपाली समाज पनि डामिएको छ । औधोगीकरणको चरमका कारण चीन र भारतको हावा, पानी र जमिन विशाक्त भैसकेको छ । हावापानीमा मिसिएर असी हजार भन्दा बढी विषादिहरु आउँछन् र मानव स्वास्थ्यमाथि सीधै हमला बोल्छन् । यसको हल कसरी गर्छ वैज्ञानिक समाजवादले आजको सन्दर्भमा ?

कम्युनिस्ट भनेको के हो ? सामन्ती, पुँजीवादी, सर्वहारावादी र साम्यवादी भनेको के हो ? त्यसका भेदहरु के के हुन् ? तिनलाई चिन्ने, जान्ने कसरी हो ? को कसरी सामन्ती हुने, के के हुँदा सामन्ती र के के हुँदा पुँजीवादी या सर्वहारा या के के नहुँदा सामन्ती, पुँजीवादी या सर्वहारा वा कम्युनिस्ट हुने या नहुने हो ? कसैले कम्युनिस्ट नाम राखेर पार्टी चलाउँदैमा र त्यो पार्टीको सदस्यता लिएकै भरमा कम्युनिस्ट भइन्छ ? त्यसका आधारहरु, न्युनतम् गुणहरुबारे सचेत हुन अभ्यास गर्न र जनतामा चेतना अघि बढाउन कसरी अघि बढ्नुपर्ने हो ?

के वर्गीय दुनियाँमा निवर्गीय मानिस हुन सकिन्छ ? के कम्युनिस्टहरुको पार्टी हुन्छ ? के हामी आफैैले आफैसँग सोध–खोज गर्न, घोत्लिन र सँगै बसेर मन मिल्ने पुराना मित्र झैँ मित्रालाप गरी उत्तर खोज्न सक्छौँ ?

राजनीतिको पनि, कुन राजनीतिको कुरा गर्ने हो ? कम्युनिस्टको राजनीति हुन्छ कि हुँदैन ? वैज्ञानिक समाजवादमा राजनीति हुन्छ कि हुँदैन ? या कस्तो राजनीति हुने हो ? कम्युनिस्टले पार्टी बनाउने कि नबनाउने ? माक्र्सले त कम्युनिस्टहरुलाई अलग कम्युनिस्ट पार्टी नबनाउन र मजदुरहरुको पार्टीमा प्रवेश गरेर काम गर्ने भन्नुभएको छ ।

लेनिनले अप्रिल थेसिस भन्ने लेखमा अन्य समाजवादीहरुभन्दा पृथक हुन बोल्सेविक पार्टीको सामाजिक जनतन्त्रवादी नामको सट्टामा कम्युनिस्ट नाम राख्ने प्रस्ताव गर्नुभयो र संसारभरीका मजदुर पार्टीहरुले आफ्नो नाम कम्युनिस्ट राख्न थालेका हुन् ।

डेलिगेट्सहरु वा प्रतिनिधिहरुको समितिलाई ‘सोभियत’ भन्ने हो । प्रतिनिधित्वपूर्ण समाजवादकै विषयमा पनि कसैले कसैको प्रतिनिधित्व कति, कसरी गर्न सक्छ कि सक्दैन भन्नेमा पनि हामीले विमर्श चलाउन जरुरी छ । तपाईको वारेश हुन सक्ला तर प्रतिनिधि कति होला ? वैज्ञानिक समाजवादमा प्रतिनिधि लोकतन्त्र कति ?

हाम्रा लागि। हाम्रो मामिला, हामी आफैंले हल गर्ने भन्ने कुरा हो, हामीले सरल तरिकाले बुझ्ने कम्युन ।

साम्यवाद भनेको के हो ?

आफूलाई कम्युनिस्ट भन्ने तर कम्युनिज्मबारे कहिल्यै विषद छलफल गर्न नचाहने भयो हामीकहाँ । धर्मशास्त्र जस्तो, आफूलाई सजिलो लागेको, आफूलाई फाइदा भए बाँकीलाई त के ? भनेजस्तो गरी हाम्रो आन्दोलन अघि बढ्यो, बढाइयो ।

प्रश्नलाई निषेध गर्ने, बहसलाई आरोपित गर्ने, अध्ययन, छलफललाई बिग्रने यात्राको रुपमा प्रचार गरेर नोकरशाही एकमना मात्रै हैन, पुच्छर समूह बनाउन हाम्रो आन्दोलनको सबैभन्दा बढी तागत खर्च गरियो । चाहिएको हामीलाई प्रश्न गर्ने, अध्ययन गर्ने, चिन्तन, बहस, छलफल गर्ने विशाल पंक्तिको थियो । तर हामी त्यसबाट भाग्यौँ या त्यसप्रति रुची राखेनौं । त्यसैले नै नेपाली कम्युनिस्ट अन्दोलन आजको अवस्थाबाट गुज्रन वाध्य भैरहेको छ । नेता मात्र होइन, कमरेड चाहिएको हो ।

आजको समय सबैभन्दा बढी ग्रसित छः साम्राज्यवादी, पुँजीवादी हुँकारबाट, जो कलुषित र त्याज्य हुँकार सिवाय केही होइन । संसारभर क्रान्तिकारी आन्दोलन, समाजवाद, साम्यवादविरुद्धको धावा तेज बनाएको छ पुँजीवादले ।

अक्टोबर क्रान्तिको सन्दर्भ, वर्गीय दुनियाँ मेटाउने र निवर्गीय दुनियाँ विकास गर्ने कुरा सबैभन्दा चाहिएको नै अहिले हो । शत्रु जागेको बेला, उसको ढलिमलिले गरिखानेहरुमाथि शोषण बढाएको बेला नै हो सबैभन्दा बढी आवश्यकता अक्टोबर क्रान्ति, वैज्ञानिक समाजवाद, साम्यवाद र कम्युनिज्मको ।

साम्यवादको यात्राबारे व्याख्या गर्दै कमरेड माओले बिस्तारमा भन्नुभएको छ – “साम्यवाद सर्वहारावादी विचारधाराको पूर्ण व्यवस्था हुनुका साथै नौलो सामाजिक व्यवस्था पनि हो । यो कुनै पनि अरु विचारधारात्मक र सामाजिक व्यवस्था भन्दा बेग्लै छ, र यो मानव इतिहासमा सबभन्दा पूर्ण, प्रगतिशील, क्रान्तिकारी र युक्तिसंगत व्यवस्था हो । सामन्तवादको विचारधारात्मक र सामाजिक व्यवस्था त अब इतिहासको अजायव घरमा मात्र रहेको छ । पुँजीवादको विचारधारात्मक र सामाजिक व्यवस्था पनि संसारको एक भागमा (सोभियत संघमा) अजायब घरको एक चिज भइसकेको छ, र अरु देशहरुमा यो “छिटो छिटो डुब्दै गइरहेको मरणशील मान्छे, पश्चिममा पहाडतिर अस्ताउन लागेको सूर्यझैं” छ, र यसलाई छिट्टै, अजायब घरमा लगेर राखिने छ । साम्यवादको विचारधारात्मक र सामाजिक व्यवस्था मात्रै आज सुन्दर जवानीले भरिभराउ छ र यो पहाड पन्छाउने र समुन्द्र पल्टाउने गति र बज्रको शक्ति लिएर संसारमा फिँजिदै छ ।” (नौलो जनवादका विषयमा, जनवरी, १९४०) ।

जुन समृद्धिको कुरा छ, हामी कहाँको संविधानवाला संसदीय उन्मुख समाजवाद या हामीले उठाइरहेको वैज्ञानिक समाजवादमा के हुने हो ? केलाई समृद्धि भन्ने ? कतिलाई ? समृद्धि त हुन्छ नै तर कतिलाई, कसलाई र कति ?

दश प्रतिशत मानिसलाई, नाइकेहरुलाई, अगुवाहरुलाई, ब्रोकरहरुलाई त छेलेखेलो नै पुग्ला समृद्धि । बाँकीलाई त जुन हैसियतमा साहुहरु त्यो स्तरको समृद्धि त कहाँको स्रोतसाधनले पुग्छ र मिल्ने समृद्धि ? मानव समाजको यत्नमा, यो धर्तीमा जति स्रोत र साधनहरु छन् त्यसले कतिलाई, कति दिनलाई र कतिसम्म पुग्छ समृद्धि भनेर हामीले हिसाब किताब गरेका छौं ?

हामीसँग क्षमता नभएको हैन । हामी अहिले पनि एक अरब गाडीहरु बनाउन सक्छौं बर्षमा, विश्वभर जम्मा भएको प्रविधिको योगमा । तर त्यसलाई गुडाउने ठाउँ, बनाउने पदार्थ, चलाउने तेल, बिजुली, उर्जा कति पुग्छ हिसाब गरौं ।

जहाँ औद्योगिक कृषि गरिएको छ, त्यहाँ साठी बालीभन्दा बढी खेति नै हुँदैन भनेर त आइ नै सकेको छ । एउटा विषादीले काम नगरेपछि त्योभन्दा कडा किसिमको र त्यसलाई विस्थापन गर्न थप कडा गरी असी हजार भन्दा बढी विषादीहरु त आज उपयोग नै भएको छ । हामीकहाँ नै दुधदेखि पानीसम्म, तरकारी, साग, गोलभेंडा, फलफुल कति खान हुने, कति खान नहुने ? विषादी प्रयोग गरेर मानव स्वास्थ्यमा कति हमला भैरहेको छ ? आज हामीले हिसाब गरेका छौं ? आज हामी प्राणवायु हैन विषवायु, खाद्यान्न हैन विषादी खाइरहेछौं । यस्तै विकास हो हामीले खोजेको ?

किन चाहिएको हो हमीलाई यस्तो विकास ? यस्तो समृद्धि ? हैन भने कसरी हैन र आजको समस्याबाट जसरी मानव समाज प्रताडित भैरहेको छ, त्यसबाट निकाल्ने हाम्रो प्रविधको विकास के कसो हो ? प्रविधिबाट आउँछ भनेको समाजवादले यसलाई सम्बोधन गर्ने कसरी हो ?

हाम्रो जस्तो दरिद्रता, अविज्ञान र अविकासले ग्रस्त समाजमा हामी भनिदिन त सकौंला प्रविधिले सबैथोक गर्छ भनेर तर त्यो सबैथोक गरिदिने प्रविधि धान्ने पृथ्वीको स्रोतको आयु, जमिनको उब्जाउपन कति हो भनेर सँगै हिसाब पनि खोज्ने कि ? देखाउने कि ?

वैज्ञानिक समाजवादमा कस्तो हुने ?

हामीले स्रोतमा आधारित, आवश्यकतामा आधारित, वर्तुल, स्थानीय, अर्थतन्त्र भएको विकास, समृद्धिको बाटो समाउने हो । घाँटी हेर्ने र हाडको आकार अड्कल्ने हो । अहिलेसम्म कम्युनिस्टहरुले पनि आवश्यकता भनेर खानपिन, घर, गाडी, खेलौनालाई चिजबिजको छेलोखेलो बुझ्यो । छिटै नौ अरब नाघ्ने विश्व जनसंख्यालाई सामानको फालाफल गर्न नहुने भएको तथ्य आएकै छ ।

यदि सिंगो मानव समाजले जुन ढाँचाकाँचामा साहु जीवनशैली चलेको छ, त्यस्तो ढाँचामा जिउनका लागि साढे चार वटा थप पृथ्वीले पनि धान्दैन भनी विज्ञहरु भन्दछन् । त्यसैले जीवनशैलीमा आमूल परिवर्तनको बारेमा गम्भीर चिन्तन–मनन गर्न, विश्वव्यापी कम्युनहरुको जिन्दगी जिउन हामी बाध्य भएका छैनौँ र ? पुँजीवादी जीवनशैलीको इन्कार र कम्युनिस्ट जीवनशैलीको स्वीकार आजको अनिवार्य आवश्यकता बन्दै गएको देखिन्छ । आवश्यकता र चाहनाको झिनो भिन्नतालाई छुट्याउन सकिएन भने जटिलताहरु थपिन्छ नै ।

सूचना र सेवा धेरै, सामान थोरै भोग गर्ने; पर्याप्तता पहुँचको समाज र कम्युनको समाज नै वैज्ञानिक समाजवाद हुन सक्छ । स्मरणयोग्य के छ भने त्यो आधारभूत आवश्यकता मिलेको रुस किन भत्कियो ? रोटीले मात्र त नपुग्ने रहेछ । विचार र भावना पनि चाहिने रहेछ ।

भोगवादी कि भौतिकवादी भन्ने त छुट्याउनै पर्छ । अहिले पनि हामीले पृथ्वीभरका मानिसका आधारभूत आवश्यकता पूरा गर्न सक्छौं । सबै चाहनाहरुको पूर्ती मायावी यथार्थ (भर्चुअल, मिश्रित र अगमेन्टेड रियालिटी) बाहेक चिजबिजहरुले कहिल्यै पूरा गर्न सकिन्न । सबैलाई साहुको सरहको जिन्दगी मिलाउने कुरा कति सम्भव छ, सोचौं । छेलोखेलो गर्न नसकिने हैन नमिल्ने भयो ।

आजै हामीले आधा पृथ्वी उपभोग गरिरहेका छौं, अब आधा बाँकी छ । यसका स्रोतले कतिलाई पुग्छ ? विचार गरौं । व्यक्तिगत, सामुहिक, सार्वजनिक सम्पत्ति राखेर, नीजि सम्पत्तिको मानसिकता विरुद्ध हामी उभिनैपर्छ । हामी भोगी भए पनि भोगवादी भने होइनाँै ।

यन्त्र (मेसिन) ले के काम गर्छ, के गर्दैन ? Dirty, Dangerous and Difficult (3D) साथै दोहोरिरहने, मोनोटोनस र गह्रौँ एवं मानव स्वास्थलाई अस्वस्थ गराउने सबै कामहरु यन्त्र मानव (रोबट), स्वचालन (अटोमेशन), कृतिम बुद्धि (आर्टिफिसियल इन्टेलिजेन्स), नानो टेक्नोलोजी, 3D प्रिन्टिङ्ग( एडिटिभ टेक्नोलोजी), ब्लकचेन र ह्यास ग्राफ, ड्रोन डेलिभरी आदि मेसिनले गर्ने वातावरण सुरु भैसकेको छ । यी सबै प्रविधिहरु मानवका सहायक मात्र हुन् । अंगका बिस्तार मात्र हुन् तर चार घण्टा त मान्छेले काम गर्नैपर्छ ।

अन्तरीक्षमा गएका मानिसले सबैथोक पुग्दा पनि दैनिक चार घण्टा व्यायाम गर्छ अन्यथा शरीर कुजिन्छ भनेर । मानवजाति ढुंगे युग (सिलिकन) र दाउरा तथा जीवाष्म इन्धन (फोसिल फ्युल) को अन्तिमतिर आइपुगेको छ र यसले क्वान्टम, अप्टिकल र वायो कम्प्युटरहरु, बायोटेक्नोलोजी, वैकल्पिक उर्जाको युगमा प्रवेश गरेको छ । यी सबै कुराहरु प्रविधि र मेसिनले गरिदिन्छ र त्यसैकारण मानिसमाथिको शोषण शासन उत्पीडनको सवाललाई हल गर्छ कि गर्दैन गम्भीर छलफल जरुरी छ ।

नैतिकता र आचार सम्बन्धी गम्भीर समस्याहरु उत्पन्न भएका छन् । वस्तु र चिजबिजको तृष्णा पूरा गरेर साम्यवादी समाज या वैज्ञानिक समाजवाद निर्माण गर्न सकिन्छ भन्ने कुरा कतै इनारमा पानी तान्नका लागि चुहिने बाल्टीको प्रयोगजस्तो मात्रै त होइन भनेर हामी कसरी विश्वस्त हुने ? उक्त वैज्ञानिक समाजवाद वा साम्यवादी समाजमा भोगवादको अनियन्त्रित तृष्णा समन गर्न भौतिकीय द्वन्द्वात्मक कम्युनिस्टलाई के ध्यान योग सहयोगी हुन सक्छ ? थाहा चाहियो ।

तर हामीले गरिआएको अभ्यासले आन्दोलनमै पनि नयाँ समस्याहरु, उल्झनहरु र गतिरोधहरुको खतरा पैदा गरेको छ । विद्वान त त्यो हो, जसले अरुको गल्तिबाट सिक्छ । मूर्ख र मूढले मात्र आफ्नै गल्तिबाट पनि सिक्दैन ।

यो लोकतन्त्र, पुँजीवाद मानव समाजमा चलेको पाँच सय वर्ष भयो । युरोपेलीहरुले सुरु गरेको यो व्यवस्थाको म्याद गुज्रिसकेको छ । नेपालले त्यही पुँजीवादलाई, त्यसको मूल स्वरुपलाई कायम राख्ने भनेको बज्रस्वाँठ मन हुनु हो । समस्याहरु छन् भनेर समाजको गतिलाई रोकेर राख्न मिल्दैन । समस्या छ भने बिकल्प पनि छ । बिकल्पको यात्रा अफ्ठेरो छ भनेर पछाडितिरको यात्रा मानव चेतना विरुद्धको यात्रा मात्रै हुनेछ । अफ्ठेरो भए पनि यात्रा सुरु गरौं र अघि बढौं, अलि अगाडिको घुम्तीपछिको यात्रा उज्यालो छ, सुन्दर छ ।

हाँस्दै, खेल्दै, नाँच्दै, गाउँंदै, अलि–अलि रुँदै क्रान्तिमा सरिक होऔं ।

याे पनि पढ्नुहाेस्ः अक्टाेबर समाजवादी क्रान्ति – क. अानन्दस्वरूप वर्मा

याे पनि पढ्नुहाेस्ः  अक्टोबर समाजवादी क्रान्ति र चिनियाँ क्रान्तिमा यसकाे प्रभाव – क. हाे कान च

याे पनि पढ्नुहाेस्ः अक्टाेबर क्रान्तिका महानायक क. लेनिनकाे संक्षिप्त जीवनी

याे पनि पढ्नुहाेस्ः कमरेड स्टालिनको निधनः हत्या कि मृत्यु ? – क. माइकल लुकास

(वरिष्ठ बामपन्थी नेता क. स्वनाम साथीले अक्टाेबर क्रान्तिकाे शतवार्षिकी (२०७४) काे उपलक्ष्यमा काठमाडाैँमा अायाेजित एक कार्यक्रममा प्रस्तुत गर्नु भएकाे विचारकाे पूर्णपाठ पुनः प्रकाशन गरिएकाे छ- सम्पादक ।)